आलु महोत्सवमा ११८ स्टल

समाधान संवाददाता २०७९ चैत २१ गते ११:०५

पोखरा ।
हेमजाको कृषिको उत्पादन तथा विकासमा टेवा पु¥याउनका लागि ११ औं राष्ट्रिय हेमजा आलु महोत्सव (कृषि प्रर्दशनी पर्यटन तथा व्यापार मेला ) हुँदै छ ।

Advertisement

‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाऊँ, आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ विष्णुपादुका क्लब हेमजाको आयोजनामा चैत २६ देखि वैशाख ३ गतेसम्म विष्णु पादुका खेल मैदानमा महोत्सव गर्न लागिएको हो । महोत्सवले हेमजाको समग्र आर्थिक विकास, कृषि र पर्यटन प्रवद्र्धनको लागि सहयोग पुग्ने अध्यक्ष सुविन श्रेष्ठले बताए ।

‘हेमजामा करिब ५ सय ४० किसानले व्यवसायिक रुपमा आलु खेती गर्छन् । त्यहाँ ५ सय ९० हेक्टरमा आलु खेती गरिन्छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘आवश्यक प्रविधि, गुणस्तरीय बीऊ, सिंचाइ र उचित मलखादको व्यवस्था गर्न सके प्रतिहेक्टर २२ देखि २८ टन सजिलै उत्पादन गर्न सकिन्छ ।’

उनले महोत्सवको आकर्षणको रुपमा आलु तथा ताजा तरकारीको वृहत प्रदर्शनी, आलुको ठूलो पहाड, आलुका विभिन्न परिकार, कृषि र किसानसम्बन्धी विविध साँस्कृतिक कार्यक्रम हुने बताए । महोत्सवमा कृषि झाँकी प्रदर्शन, पप कन्सर्ट, हाँस्य कलाकारका प्रस्तुति, जापानीय सुन्तला, च्याउ, कफी, चियाको बिक्री एवं प्रदर्शनी, कृषि बीउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी गरिने कार्यक्रम छ ।

महोत्सवमा कृषि प्रदर्शनी, कृषि उत्पादन बिक्री, वितरण, व्यापारिक, आलुका तथा कृषि उत्पादनका परिकार, प्राथामिक उपचार, वैकिङ कारोबार, मनोरञ्जन गरी १ सय १८ स्टल रहने महासचिव वसन्तकुमार श्रेष्ठले बताए । महोत्सव गर्नका लागि करिब ३७ लाख १० हजार खर्च लाग्ने अनुमान छ । उनले आलु महोत्सवले समग्र हेमजालाई देशव्यापी रुपमा चिनाएको दाबी गरे ।

Advertisement

महोत्सवको सन्दर्भमा कृषि साझा सवाल, माटो परीक्षण तथा रैथाने बालीको प्रदर्शनी गर्ने कार्यक्रम छ । पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमख मनोहर कडरियाले एमएस ४२ नामको हेमजाको नीलो आलुलाई सरकारले सूचीकृत गरेको जानकारी दिए । उनले आलु महोत्सवसँगै कृषि महाशाखाले किसान परिचयपत्र (डिजिटल कार्ड) वितरण गर्ने योजना सुनाए ।

कृषि अनुसन्धान निर्देशनालय लुम्लेका प्राविधिक अधिकृत चन्द्रकान्त तिमिल्सिनाले एमएस ४२ जातको आलुको बीऊको पकेट क्षेत्रको रुपमा विकास गरेर आलुको उत्पादन बढाउन सकिने सुझाव दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, किसान चित्रनाथ पौडेलले महोत्सवका बारेमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया