फुटबल खेलाडी सुमित सम्मानित

समाधान संवाददाता २०७९ चैत २१ गते ११:१०

पोखरा ।
पोखरामा राष्ट्रिय फुटबल खेलाडी सुमित श्रेष्ठ (मेस्सी) लाई सम्मान गरिएको छ । काठमाडौंमा भएको थ्री नेसन्स कप जितेपछि पहिलोपटक गृह जिल्ला आएका उनलाई स्पार्टस् क्यासल प्रालिले स्वागतसहित सम्मान गरेको हो ।

Advertisement

पूर्व राष्ट्रिय फुटबल खेलाडीसमेत रहेका स्पार्टस् क्यासलका सञ्चालक ईश्वर गुरुङ र विजया गुरुङले फुटबलर श्रेष्ठलाई खादा माला तथा सम्मान पत्रमार्फत बधाई दिए । पूर्व राष्ट्रिय फुटबल खेलाडी गुरुङले उदीयमान खेलाडी श्रेष्ठको उज्ज्जल भविष्यको कामना गरे ।

उनले श्रेष्ठलाई बाल्यकालदेखि नै हातेमालो गर्दै आएको स्मरण गर्दै अहिले आएर श्रेष्ठ आफ्नो सपना नजिक पुगेको उल्लेख गरे ।

‘यिनीहरुलाई मैले सानैदेखि हातेमालो गर्दै आएको छ,’ उनले भने, ‘थ्री नेसन्स कपमा डेब्यु गर्दै देशको नाममा खेल्ने सपना अहिले आएर पूरा हुँदै छ । आगामी दिनमा थप राम्रो गर्न चुनौती पनि छ, त्यसका लागि म शुभकामना व्यक्त गर्दछु ।’

गुरुङले राष्ट्रिय टिममा स्थान बनाइरहनका लागि कडा मेहनत गर्नुपर्ने धारणा राखे । ‘सुमितको लागि यो अवसर निकै महत्वपूर्ण छ । र त्यतिकै चुनौती पनि छ । किनभने खेलाडीहरु निकै जन्मिरहेका छन्, त्यसैले कडा मेहनत र परिश्रमी बन्नु आवश्यक छ’ उनले भने ।

Advertisement

फुटबलर सुमितले आगामी दिनमा थप राम्रो गर्ने हौसला मिलेको बताए । उनले आफू एउटा सपना नजिक पुगेको बताउदै थप मेहनत गर्ने सुनाए । ‘म तपाईहरुकै मायाले यहाँसम्म पुगेको छु । यो सम्मानले मलाई थप जिम्मेवारीको भारी बोकाएको छ,’ श्रेष्ठले भने, ‘म बोक्नमात्रै तयार छैन । गन्तव्यमा सकुशल अवतरण गराउन पनि तत्पर छु । त्यसैले झन कडा मेहनत गर्ने प्रण गर्दछु ।’

उनले आगामी दिनमासमेत आफूलाई साथ र सहगोग गर्न आग्रह गरे । ‘तपाइहरुको माया मेरो एउटा पावर हो जसले गर्दा म सधै छलाङ मार्न सकिरहन्छु, उनले भने ‘त्यसैले साथ र माया दिइरहनु होला ।’ श्रेष्ठलाई केल्मीको आधिकारिक बिक्रेता सोरुमको तर्फबाट राज रम्तेलले आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरेका थिए ।

राष्ट्रिय फुटबल खेलाडी श्रेष्ठ जारी सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मस्र्याङ्दी क्लबबाट खेलिरहेका छन् ।

तपाईको प्रतिक्रिया