व्यवसायमैत्री पार्किङ व्यवस्थापन माग

समाधान संवाददाता २०७९ चैत २१ गते ११:१३

पोखरा ।
पोखरा उद्योगी/व्यवसायीले सहरको मुख्य सडक क्षेत्रमा पार्किङ निषेध होइन, व्यवस्थापन गर्नुपर्ने माग दोहोर्‍याएका छन् ।

Advertisement

मान्छेको आवागमन नै सहरको विशेषता भएको बताउँदै उनीहरुले व्यापार/व्यवसाय नै ठप्न हुने गरी न्युरोड लगायतका क्षेत्रको सडक खाली गराउन नहुने जिकिर गरेका छन् ।

पोखरा महानगरपालिकाले न्युरोडसहित पोखराका मुख्य सडक क्षेत्रमा पार्किङ निषेध अभियान चलाएको सन्दर्भमा उनीहरुको यो भनाइ बाहिर आएको हो । पोखरा उद्योग वाणिज्य संघले आइतबार पोखराको ट्राफिक व्यवस्थापनबारे आयोजना गरेको अन्तक्र्रियामा बोल्ने अधिकांश वक्ताहरुले ट्राफिक प्रहरीको व्यवहार, सडक सुरक्षा एवं पार्किङ व्यवस्थापनबारे विभिन्न धारणा राखेका थिए ।

संघका अध्यक्ष पवनकुमार प्रजापतिले यातायात क्षेत्र व्यवस्थित हुनुपर्नेमा दुईमत नभए पनि नागरिकलाई अप्ठेरो पार्ने काम हुन नहुनेमा जोड दिए । उनले यातायात व्यवस्था कार्यालय तथा जिल्ला ट्राफिक प्रहरी कार्यालयले सेवाग्राहीलाई केन्द्रमा राख्दै व्यवहारिक निर्णय गर्नुपर्ने बताए ।

यातायात व्यवस्था कार्यालय कास्की (सवारी) प्रमुख डिल्लीराम रिजालले आफ्नो कार्यालयले १५ मिनेटभित्र सेवाग्राहीलाई सेवा दिने गरेको जिकिर गरे । नागरिकले यातायात कार्यालयलाई घूस दिने थलोको रुपमा बुझ्ने गरेको स्वीकार्दै उनले भने, ‘कतिपय अवस्थामा बिचौलियाका कारणले र बाँकी हल्लाको कारणले त्यस्तो मानसिकताको विकास भएको हो तर यातायात व्यवस्था कार्यालयले आफूलाई सुधार गरिसकेको छ ।’

Advertisement

उनले नियम मिच्ने अधिकार कसैलाई पनि नभएको तर पोखरामा दैनिक उपभोग्य वस्तु ढुवानी गर्ने सवारी साधनलाई सहज हुने गरी छत र ढोका राख्न दिएको जानकारी गराए । यसअघि व्यवसायीले सामान ढुवानी गर्ने गाडीहरुको स्वरुप परिवर्तन गर्न पाउनुुपर्ने र त्यस्तोमा ट्राफिक प्रहरीले जरिवाना लिन नहुने माग गगरे ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कृष्णबहादुर चन्दले पोखरामा पार्किङको समस्या चुनौतीपूर्ण हुँदै गएको, ट्राफिक लाइट राखेर पनि चलाउन हम्मे परेको बताउँदै सुरक्षित र व्यवस्थित ट्राफिक व्यवस्थापनको लागि आफू क्रियाशील रहेको बताए ।

सोही कार्यालयका प्रवक्ता शिवप्रसाद पाठकले पोखराका सवारी चालकमा ट्राफिक नियम उल्लंघन गर्ने प्रवृत्ति डरलाग्दो भएको सुनाए । उनले पछिल्लो समय न्युरोडमा सवारी दुर्घटना बढेको स्वीकार्दै डिभाइडर राखेपछि न्यूनीकरण हुने जिकिर गरे ।

व्यवसायी मनोहर श्रेष्ठले पोखराको न्यूरोडमा पार्किङ गर्न पाउनुपर्ने माग गरे । उनले नगर बसले सडककै बीचमा मान्छे झार्ने र ओराल्ने गर्दा दुर्घटनाको जोखिम बढेको उनको भनाइ छ ।

अर्का व्यवसायी सिरोज कोइरालाले सहरमा मान्छेको आवागमन रोक्ने गरी नीति नियम बनाउन नहुने बताए । उनले संसारका ठूला सहरमा पनि सडकको निश्चित भागमा पार्किङ हुने गरेको बताउँदै न्युरोडबाट पार्किङ हटाउन नहुने धारणा राखे ।

संघका कार्यसमिति सदस्य बालकृष्ण कोइरालाले ट्राफिक प्रहरीले विभिन्न ठाउँमा भन्सारकै शैली चेकजाँच गर्ने र रकम बुझाउनेलाई उन्मुक्ति दिने गरेको आरोप लगाए । अर्का कार्यसमिति सदस्य दिलीप श्रेष्ठले सामान ढुवानी गर्ने साधनमा छत, ढोका राख्न पाउनुपर्ने र यसअघि भएका निर्णय कार्यान्वयन हुनुपर्नेमा जोड दिए ।

पोखरा उद्योग वाणिज्य संघका उद्योग उपाध्यक्ष देवेन्द्र केसी, महासचिव बलराम आचार्य, कार्यसमिति सदस्य कृष्णप्रसाद कोइराला, राम कँडेल, सुदीप ओझा, टीकाराम सुवेदी, युवकबहादुर बस्नेत लगायतले लेकसाइड क्षेत्रमा गरिने सवारी चेकजाँचले व्यवसायीलाई त्रसित बनाइएको उल्लेख गरे ।

तपाईको प्रतिक्रिया