मगर संघ गण्डकीमा नयाँ कार्यसमिति

पोखरा ।
नेपाल मगर संघ गण्डकी प्रदेश समितिले दोस्रो प्रदेश अधिवेशन भएको छ । अधिवेशनले अध्यक्ष तारामाया थापामगरको नेतृत्वमा ३६ सदस्यीय कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
कार्यसमितिको प्रथम उपाध्यक्ष मनिराज थापामगर (तनहुँ), उपाध्यक्ष दानबहादुर थापामगर (स्याङ्जा), महिला उपाध्यक्ष पवित्रा थापामगर (तनहुँ), भाषिक उपाध्यक्ष गगन पुनमगर (बागलुङ), प्रमुख सचिव टंकबहादुर रानामगर, सचिवहरुमा डिलबहादुर आले र नन्दु थापामगर (तनहुँ), कृष्ण थापामगर (नारायण), महिला सचिव संगीता पुनमगर (कास्की),कोषाध्यक्ष उत्तमप्रसाद बकावलमगर (नवलपुर), सह कोषाध्यक्षमा ज्ञानीसरा रानामगर निर्वाचित भएको अध्यक्ष तारामाया थापामगरले जानकारी दिइन् ।
मगर संघ गण्डको दोस्रो अधिवेशनले राज्यको सबै निकायमा जातीय जनसंख्याको आधारमा पूर्ण समानुपातिक समावेशी राज्य व्यवस्था निर्माण गर्न माग गरेको छ । अधिवेशनले पारित ६ बुँदे घोषणापत्रमा राष्ट्रिय भाषा आयोगले सिफारिस गरेको मगर ढुट भाषालाई गण्डकी प्रदेश सरकारको कामकाजको भाषाको रुपमा प्रयोग ल्याउन माग गरिएको छ ।
‘गण्डकी प्रदेशको नामाकरणप्रति सिंगो गण्डकी प्रदेशबासी मगरहरुको असहमति रहेका छ,’ घोषणापत्रमा भनिएको छ, ‘गण्डकी प्रदेशको नाममा मगरात जोड्न गण्डकी प्रदेश सरकार र प्रदेश सभा सदस्य समक्ष जोडदार माग गर्दछौं ।’
घोषणापत्रमा नेपालका प्रथम सहिद लखन थापा मगरलाई राष्ट्रिय विभूति घोषणा गर्न नेपाल सरकारसँग माग गरिएको छ ।
पोखराको लखन चोकको लखन थापाको शालिकलाई विस्थापित गरी राखिएको पृथ्वी नारायण शाहको शालिक तत्काल हटाउन सम्बन्धित पक्षलाई आग्रह गर्ने निर्णय गरेको छ । नेपाल मगर संघका केन्द्रीय महासचिव लोकेन्द्र तरामुमगरले पहिचानको आधारमा प्रदेशको नामाकरणको आन्दोलन नसकिएको बताए ।
अधिवेशनमा प्रदेशका ११ जिल्लाका करिब २ सय ५० जनाको सहभागिता रहेको छ । अधिवेशनमा ६ भातृ संस्था र ७० पालिकामा रहेको मगर संघबाट प्रतिनिधिहरुले अधिवेशनमा सहभागिता जनाएका छन् ।
अधिवेशन अघि संस्कृति जगेर्नाका लागि मौलिक कौडा नृत्य प्रस्तुति गरिएको छ । ‘मगरात सभ्यता सहितको सवल मगर समाज, मगर ईतिहास भाषा, संस्कृति संरक्षण सम्वर्द्धन मगरहरुको मुलमन्त्र, मगरात पहिचान र स्वायत्त शासन, सहितको संघीय लोकतान्त्रिक गणतन्त्र’ भन्ने नाराका साथ अधिवेशन गरिएको हो ।
२०६८ को राष्ट्रिय जनगणना अनुसार ४ लाख ५१ हजार ३ सय ६५ मगरमा गण्डकी प्रदेशमा बसोबास गर्छन् ।
तपाईको प्रतिक्रिया