सम्पादकीय: खिचातानीमै बिते सय दिन

पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारको हनिमुन अवधि सोमबार सकियो । सरकार बनेको १ सय दिन सरकारले काम गर्ने वातावरण बनाउने समय हो । कर्मचारी संयन्त्रसँग समन्वय, सत्ता साझेदासँग साझा नीति तथा कार्यक्रम, आवश्य ऐन तर्जुमा, अर्थतन्त्रको अवस्था विश्लेषण, जनताको अपेक्षा पहिचान गरी सुखद् सुरुआत गर्ने समय हो यो । जनताको अपेक्षा अनुरुप सेवा प्रवाह गर्ने व्यवस्था निर्माणमा यो अवधि उपयोग हुनुपर्छ ।
राणा शासनका बेला प्रधानमन्त्रीहरुले ३ दशकसम्म शासन गरेको इतिहास छ । प्रजातन्त्र स्थापनादेखि संघीय गणतन्त्रसम्म कुनै पनि सरकारले ५ वर्ष काम गर्न पाएका छैनन् । अरु त अरु, दुई तिहाइ सांसदको विश्वास पाएका सरकार नै पूर्ण कार्यकाल चल्न सकेनन् । आन्दोलन र सत्ताबाहिर हुँदा लोकप्रिय र आशा गरिएका अनुहारहरुले नै नेपालीलाई सत्तामा पुगेपछि निराश बनाउँदै आएका छन् ।
हरेक दिनजसो वैदेशिक रोजगारीका लागि स्वदेशबाट बाहिरिने करिब १५ सय युवाको जमातले देखाउँछ । रासायनिक मलले सरकारलाई गिज्याइरहेको छ । अन्न, कुअन्न, तरकारी, फलफूल, प्याकेटका धूलो दूधको आयातले देखाउँछन् । प्रचण्ड सरकारको सय दिन सरकार गठनकै किचलोमा बित्यो । सय दिन बितिसक्दा पनि अझै सरकारले पूर्णता पाउन सकेको छैन ।
बारम्बार सरकारमा गइसकेका र असफल भइसकेका पात्रहरु सरकारमा आएका छन् । यस्ता पात्रबाट जनताको अपेक्षा पूरा हुने अपेक्षा गर्न कठिन छ । अहिलेको संविधान र राजनीतिक व्यवस्था नै कुनै एक दलले बहुमत ल्याउनै नसक्ने खालको छ ।
यसले देशमा स्थायित्व र समृद्धिको बाटोमा सधै तगारो हालिरहन्छ । अहिले देशको अर्थतन्त्र ओरालो लागेको छ । नेता, कर्मचारी र मन्त्रीहरूलाई तलब खुवाउने राजस्वसमेत उठेन कठिन छ । बैंकहरू लगानी गर्न नसक्ने अवस्थामा आइपुगेका छन् । अर्थतन्त्रका परिसूचकहरूले खतराका घण्टी बजाइसकेका छन् ।
अर्थतन्त्र र देश जहाँसुकै पुगे पनि दलहरु र नेताहरु आफ्नो स्वार्थ पूर्ति गर्नमै व्यवस्त देखिन्छन् । उनीहरूलाई आफन्तलाई पद, तलब, भत्ता, सुविधामै ध्यान छ । मालदार मन्त्रालय र कार्यालयमा पुग्न मरिहत्ते छ । यो बीचमा सरकारको गठबन्धन नै बदलियो । सत्ताका लागि जेसुकै गर्न सक्ने विशेषता दलहरुले फेरि देखाए । बिहानीले दिनको संकेत गर्छ भन्ने हाम्रो भनाइ छ ।
यो भनाइ अनुसार अहिलेको सरकारको सुरुआतले आशा जगाउन सकेको छैन । अपेक्षा गरौं, सय दिनको कार्यशैली बद्लियोस्, देशले स्थिरता, समृद्धि र प्रगतिको माग पहिल्याओस् ।
तपाईको प्रतिक्रिया