उम्मेदवारविरुद्धका उजुरीमाथि छानबिन र निर्णय आज बुधबारै

पोखरा ।
तनहुँ १ सहित चितवन र बारामा वैशाख १० गते हुने उपनिर्वाचनका लागि उम्मेदवारी दर्ता गराएका उम्मेदवारविरुद्ध परेका उजुरीको आज बुधबार छानबिन हुँदैछ ।
निर्वाचन आयोगले मंगलबार उजुरी आह्वान गरेको थियो । उम्मेदवारविरुद्ध मंगलबार परेका उजुरीको छानबिन गरी बुधबार साँझ निर्णय गरिने आयोगले जनाएको छ ।
बारा २, चितवन २ र तनहुँ १ मा वैशाख १० मा उपनिर्वाचन हुँदै छ । यो तीन क्षेत्रमा ६९ जनाले उम्मेदवारी दिएका छन् । बारा–२ मा ३६ जनाले उम्मेदवारी दिएका छन् । चितवन २ मा २४ र तनहुँ १ मा ९ जनाले उम्मेदवारी दिएका छन् । आयोगले उम्मेदवारविरुद्ध मंगलबार उजुरी दिन सक्ने कार्यक्रम सार्वजनिक गरेको थियो ।
चितवन क्षेत्र नम्बर २ मा उम्मेददवारी दर्ता गराएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध चार वटा उजुरी परेका छन् । तनहुँ १ र बारा २ मा भने कुनै उजुरी नपरेको निर्वाचन अधिकृतले बताएका छन् ।
उम्मेदवारी फिर्ता लिन इच्छुक व्यक्तिले भोलि बिहीवार बिहान ९ बजेदेखि दिउँसो १ बजेसम्म फिर्ता लिन सक्नेछन् । त्यसपछि दिउँसो ३ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित गर्ने कार्यतालिका छ ।
निर्वाचन आयोगले उपनिर्वाचन हुने तीन क्षेत्रका उम्मेदवारलाई प्रचारप्रसार गर्न दुई साता समय दिने भएको छ । निर्वाचन कार्यक्रमअनुसार उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेपछि प्रचारप्रसार गर्न पाइन्छ । मौन अवधि सुरु नहुँदासम्म प्रचार गर्न पाइन्छ ।
तपाईको प्रतिक्रिया