कोरला र सुस्ता नाका सडकले जोडिए समृद्धि आउँछ : मन्त्री गाहा मगर

समाधान संवाददाता २०७९ चैत २३ गते २१:३६

जोमसोम–गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रोशन गाहामगरले मुस्ताङको कोरलानाका र नवलपुरको विनय त्रिवेणी सुस्ता नाकासम्म सडक संञ्जालले जोडिएमा प्रदेशकै आर्थिक समृद्धि र विकासमा योगदान पुग्ने बताएका छन् ।

बिहिबार गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्धारा नागरिक र प्रहरीबीच समन्वय/सहजीकरण र सचेतना सम्वन्धि मुस्ताङको जोमसोममा आयोजित ‘ नागरिकमैत्री प्रहरी कार्यक्रम’ मा मन्त्री गाहा मगरले गण्डकी प्रदेशको समृद्धिका लागि मुस्ताङको कोरलानाका र नवलपुरको सुस्ता जोड्ने सडक निर्माणमा जोड दिनु पर्ने बताए ।


प्रदेशको आर्थिक समृद्धि हासिल गर्न कोरलानाका र सुस्तानाकाको भन्सार महत्वपूर्ण भएको मन्त्री गाहा मगरको भनाई छ ।उनले गण्डकी प्रदेशको कोरला र सुस्ता नाकाको भन्सारबाट राज्यलाई ठुलो आम्दानी हुन सक्ने यसतर्फ राज्यको ध्यान जान आवश्यक रहेको जनाए । मुस्ताङको कोरला नाका र धार्मिक तथा पर्यटकीय हिसाबले निकै सम्भावना बोकेको जिल्ला भएकाले यहाँको विकासका लागि हिजोको चश्माले डिजाईन बनाउन नहुने बताए ।

Advertisement


मुस्ताङको कोरलानाकामा बर्सेनि चिन÷नेपालबीच अन्तरदेशिय मेला लाग्ने र त्यसमेला मात्र भन्सारका कर्मचारी सीमित समय बस्ने गरेको उल्लेख गर्दै प्रदेश मन्त्री गाहा मगरले अबका दिनमा मेला लाग्ने बेलामा मात्रै होईन बाह्रै महिना भन्सारका कर्मचारी रहनु पर्ने उल्लेख गरे ।


मुस्ताङ जिल्लामा सरकारी खर्चको दुरुपयोग गरी सरकारी निकायका उच्च ओहदाका व्यक्तिहरु रसरंग र भ्रमण गर्न आउने गरेको बताउँदै मन्त्री गाहा मगरले आफुहरुको मन्त्रालय स्तरको टोली यहाँ रसरंग र भ्रमण गर्न नभई मुस्ताङी जनताको वास्तविक समस्याको पहिचान र त्यसको समाधानको बाटो पहिल्याउने गरी सरकारको ध्यानआर्कषण गराउन मुस्ताङ आएको स्पष्ट पारे ।

Advertisement


मन्त्रालयको नागरिकमैत्री प्रहरी कार्यक्रममा गण्डकी प्रदेश प्रमुख एवं प्रहरी नायव महानिरीक्षक बुद्धिराज गुरुङले नागरिकको सुरक्षाका लागि गण्डकी प्रदेशले एकिकृत सुरक्षा रणनीति अख्तियार गरेको बताए । महानिरीक्षक गुरुङले नागरिकको हरेक क्षेत्रमा अभिव्यक्ति स्वतन्त्रता र नागरिक स्वतन्त्रता भएको भएपनि कहिलेकाही यसमा सुरक्षा चुनौती आउने गरेको उल्लेख गरे । ‘गाउँ गाउँमा प्रहरी युनिट छन्,सुरक्षाका लागि प्रहरीलाई सूचना चाहिन्छ,’महानिरीक्षक गुरुङले भने,‘ प्रहरीले नागरिकको समस्या र गुनासो सुन्ने हो, प्रहरी सदैव नागरिकको सुरक्षा प्रत्याभुती दिन कटिबद्ध छ ।’
आन्तरिक तथा कानुन मन्त्रालयका सचिव बद्रीनाथ अधिकारीले प्रदेशका ११ वटै जिल्लामा मन्त्रालयले सुरक्षाका लागि गरेको गतिविधिको जानकारी दिए ।नागरिक मैत्री कार्यक्रममा जिल्ला समन्वय समिति मुस्ताङकी प्रमुख माया गुरुङ,घरपझोङ गाउँपालिकाका अध्यक्ष मोहनसिंह लालचन र प्रजिअ अनुप केसी लगायतले मुस्ताङ जिल्लाका समस्या र चुनौतीका बिषयमा प्रदेश सरकारको ध्यानआर्कषण गराएका थिए ।

सो अवसरमा जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरिक्षक रविन्द्रनाथ पौडेलले मुस्ताङ जिल्लामा देखिएका विद्यमान सुरक्षा चुनौती र नागरिक सुरक्षाका बिषयमा भए गरेका गतिविधिको प्रस्तुतीकरण गरेका थिए ।


गण्डकी प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको टोली बुधबार सीमानाका सुरक्षा प्रर्वद्धन कार्यक्रमसहित उत्तरी कोरलानाकाको स्थलगत भ्रमण गरेको थियो । मन्त्रालयको टोलीले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय मुस्ताङको अवलोकन तथा जानकारी लिएको थियो ।


तपाईको प्रतिक्रिया