क्षेत्रीय अस्पतालमा मनोसामाजिक सेवा थप्न माग

समाधान संवाददाता २०७९ चैत २४ गते १२:३९

पोखरा ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा मनोसामाजिक स्वास्थ्यको सेवा थप गर्न माग गरिएको छ । अस्पतालमा मनोसामाजिक तथा मानसिक स्वास्थ्य सेवा बहिरंगमात्र रहेकाले उक्त सेवा लिन जाने सेवाग्राहीहरुलाई भर्ना गरेर राख्नुपरे त्यो सुविधा नभएको हुँदा उक्त सुविधा थप गर्न माग गरिएको हो ।

Advertisement

बिहीबार पोखराका विभिन्न अधिकारवादी, सामाजिक, संघ–संस्थाको टोलीले संयुक्त रुपमा ज्ञापनपत्र मार्फत अस्पतालका प्रमुख डा. भरत खत्री समक्ष ज्ञापनपत्र पेस गर्‍यो । ज्ञापनपत्र बुझाउनेहरुमा इन्सेक, कोसिस, कोपिला नेपाल, शक्ति समूह, थ्रि एन्जल्स नेपाल, सिविन नेपाल लगायत छन् ।

ज्ञापनपत्रमा अपांगता भएका व्यक्तिहरुको अधिकार ऐन २०७४ खण्ड ७ को दफा ३५ मा मानसिक तथा मनोसमाजिक स्वास्थ्य समस्या भएका व्यक्तिहरुको उपचारको व्यवस्था गर्नुपर्ने प्रावाधान रहेको उल्लेख छ । अस्पतालमा मनोसामाजिक तथा मानसिक स्वास्थ्यको अन्तरंग र बहिरंग दुबै सेवालाई प्राथमिकता दिनुपर्ने उनीहरुको माग छ ।

उक्त सेवा सुविधा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नहुँदा निजी अस्पतालहरुमा जानुपर्ने तथा मानव सेवा आश्रम, पुनस्र्थापना केन्द्रमा जान बाध्य रहेको ज्ञापनपत्रमा उल्लेख छ । ज्ञापनपत्र बुझ्दै अस्पतालका प्रमुख डा.भरत खत्रीले मागप्रति सकारात्मक रहेको सुनाए । उनले छुट्टै भवन नै बनाएर सेवा प्रदान गर्न लागिएको सुनाए ।

Advertisement

तपाईको प्रतिक्रिया