‘करको भारी र ब्याजले थला पर्यौं’

पोखरा ।
कपडा व्यवसायी एसोसिएसन कास्कीको २७ औं स्थापना दिवस, नयाँ वर्ष २०८० सालको शुभकामना आदानप्रदान तथा भित्तेपात्रो विमोचन कार्यक्रम बिहीबार भएको छ । संस्था स्थापना भएको २७ वर्ष पूरा भएको अवसरमा प्रकाशित नयाँ भित्तेपात्रोसमेत समारोहमा सार्वजनिक गरियो ।
संस्थाका संस्थापक अध्यक्ष रामजीप्रसाद बास्तोलाले व्यवसायी संकटपूर्ण अवस्थाबाट गुज्रिरहेको जनाए । कोरोना भाइरसको संक्रमणका कारण थला परेका व्यवसायीको अवस्था हाल आर्थिक संकटले झन् नाजुक बनेको उनको भनाइ छ । ‘अँध्यारो पछि आउने उज्यालोलाई हेरेर भए पनि व्यावसायिक रूपमा बचेर व्यवसाय सञ्चालन गर्नुपर्ने अवस्थामा व्यवसायी छन्,’ उनले भने ।
संस्थाका पूर्व अध्यक्ष रामचन्द्र गौतमले मुलुकको राजनीतिक अस्थिरता, बैंक तथा वित्तीय संस्थाको अचाक्ली ब्याजका कारण व्यवसायी थप समस्यामा परेको गुनासो गरे । आर्थिक रूपमा धरासायी भएका व्यवसायीको पुनरुत्थानका लागि समस्याको साझा समाधानमा उनले जोड दिए ।
संस्थाका सल्लाहकार जनकराज पराजुलीले आर्थिक चपेटामा परेका व्यवसायीलाई घर भाडामा सहुलियतका लागि विशेष पहल गर्नुपर्ने विचार राखे । कोरोना कालपछिको आर्थिक संकट र चर्को ब्याजदरका कारण पलायन हुने अवस्थामा पुगेका व्यवसायीको समस्या समाधानका लागि उनले एकीकृत प्रयासमा जोड दिए ।
सामूहिक रूपमा व्यवसायीका समस्याका सम्बन्धमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउन नसके समस्या थप जटिल बन्दै जानेतर्फ उनले सचेत बन्न सुझाव दिए । सल्लाहकार यमनाथ तिमिल्सिनाले व्यवसायीका पीरमर्काका विषयमा एकाकार हुन आवश्यक रहेको जनाए । साझा समस्या समाधानका लागि व्यावसायिक एकता र समझदारी आवश्यक पर्ने उनको भनाइ छ ।
संस्था सदैव व्यवसायीको हितका लागि निरन्तर क्रियाशील र सक्रिय हुनुपर्नेमा उनले जोड छ । संस्थाका पूर्व अध्यक्ष नवीन नापितले कठिन परिस्थितिका बाबजुद पनि व्यवसाय सञ्चालन गर्नु परेको जनाए ।
राज्यले करको भारी थोपरेको, बैंक तथा वित्तीय संस्थाको चर्काे ब्याजले व्यवसायीलाई निकै अप्ठ्यारो पारेको उनको जिकिर छ । व्यवसायीका समस्याको समाधानका लागि विशेष पहल गर्न जरुरी रहेको उनी बताउँछन् ।
सो अवसरमा एसोसिएसनले विद्यार्थीद्वय सारिका राना र खुसी तामाङलाई छात्रवृत्ति प्रदान गरेको छ । संस्थाका अध्यक्ष गजेन्द्रमान श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष विष्णुप्रसाद तिमिल्सिना, उपाध्यक्ष एवं कार्यक्रम संयोजक रामचन्द्र तिमिल्सिना र महासचिव चोकबहादुर गुरुङले बोलेका थिए ।
तपाईको प्रतिक्रिया