एकै पटक ५ पुल उद्घाटन

समाधान संवाददाता २०७९ चैत २६ गते १०:३७

पोखरा ।
गण्डकी प्रदेश सरकारले कास्कीको मादी गाउँपालिकाका ३ खोलामा सँगसँगै ५ मोटररेबल पुल बनाएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय कास्कीले मादीको वार्दी, इदी र मकैखोलामा पुल निर्माण गरेको हो ।

Advertisement

प्रदेश सरकारले पोखरा महानगरपालिका वडा नम्बर ३२ र तनहुँको शुक्लागण्डकी १ जोड्ने खुदीखोलामा सुविधा सम्पन्न मोटरेवल पुल बनाएको छ । संघीय सरकारको पहलमा मादीको वडा नम्बर १० र वडा नम्बर १२ जोड्ने मादी नदीको घुम्ले खोलामा समेत मोटरेबल पुल बनेको छ ।

संघीय सरकारको सडक विभागको लगानीमा उक्त पुल निर्माण गरिएको हो । कांग्रेस नेता गणेश लामाको सिरुवा कन्स्ट्रक्सनले यो सडक पुल सक्न ८ वर्ष लगाएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री खगराज अधिकारीले ती मोटरेबल पुल शनिबार उद्घाटन गरे ।

मुख्यमन्त्री अधिकारीले संघीय सरकारको पहलमा प्रदेश सरकारमा जिम्मेवारी सरेर मोटरेबल पुलहरु बनेको बताए । ‘संघीय संरचना अन्तर्गतको बनेको प्रदेश सरकारले कास्कीको गाउँ गाउँमा मोटरेवल पुल बनाएको छ,’ मुख्यमन्त्री अधिकारीले भने, ‘मध्य पहाडी राजमार्ग मादी गाउँपालिका भएर जानु तथा ठाउँ ठाउँमा प्रदेश सरकारले पुल बनाउनु हामी सबैका लागि खुसी र गौरवको विषय हो ।’

मुख्यमन्त्री अधिकारीले राजमार्ग र पुलले मादीको भाग्य र भविश्यको ढोका खोल्ने विश्वास व्यक्त गरे । उनले अब सिधै लमजुङ, गोरखा, धादिङ भएर काठमाडौं जान सकिने बताए ।

Advertisement

मादीमा एकै पटक ४ पुल बनेपछि पालिकाको विकास र समृद्धिको ढोका खुल्ने विश्वास

मुख्यमन्त्री अधिकारीले विकास निर्माण र भौतिक पूर्वाधारले पछि परेको मादी क्षेत्रलाई राजमार्गले अहिले समेटेर कास्कीको दुर्गम क्षेत्र सुगम बन्दै गएको टिप्पणी गरे । मुख्यमन्त्री अधिकारीले पुल तथा मोटर बाटोबाट ग्रामीण पर्यटन प्रवद्र्धन, कृषिको उत्पादन बजारीकरण, सानातिना घरेलु उद्योग विकास, जडिबुटी खेती लगायतबाट पर्याप्त फाइदा लिन सुझाव दिए ।

सडक विकासको मेरुदण्ड भएको उल्लेख गर्दै उनले बाटो आएपछि विद्युत उत्पादन लगायत विकास, निर्माणको काम गर्न सहज हुने जनाए । उनले विकास, निर्माण हुँदा गाउँ गाउँ पुग्ने मान्छे पोखरा र चितवन पुगे विकासको अर्थ नहुने टिप्पणी गरे ।

गाउँ रित्तिएर उजाड हुने तथा विकास निर्माण, बाटोघाटो गाउँ पुग्दा उल्टो भएको उल्लेख गर्दै उनले गाउँ फर्केर हराभरा बनाउन सबैसँग आग्रह गरे । उनले सबै मिलेर विकास गर्दा समयमै योजनाका काम सकिने उनले सुनाए । गण्डकी प्रदेशका ऊर्जा, जलस्रोत तथा कृषि मन्त्री वेदबहादुर गुरुङ (श्याम)ले मादी गाउँपालिकामा बनेका ४ मोटरेबल पुल प्रदेश सरकारको उपहार भएको टिप्पणी गरे ।

कोभिड १९ को प्रकोप बढेका बेलामा संस्थापक मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले एकै पटक शिलन्यास गरेका पुल वर्तमान मख्यमन्त्री अधिकारीले एकै पटक उद्घाटन गर्ने अवसर मिलेको उनी बताउँछन् । मन्त्री गुरुङले राखी मिजुरे सडकको स्तरोन्नतिका लागि समेत सरकारले पहल गर्ने आश्वासन दिए ।

मादी गाउँपालिका अध्यक्ष देवीजंग गुरुङले मध्य पहाडी लोकमार्ग र मोटरेबल पुल बनेपछि मादीको विकास र समृद्धिको ढोका खोल्ने बताए । उनले एकै पटक ४ पुल निर्माण हुनु मादीबासीका लागि ठूलो खुसी र गौरवको विषय भएको जनाए ।

भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तुलसीप्रसाद भट्टराईले सबै मोटरेबल पुल राष्ट्रिय सडक सञ्जालको मापदण्ड अनुसार बनेको जानकारी दिए । उनले पुलको निर्माण भएपछि पहिला लमजुङमा पर्ने मादी बेल्टका ६ गाविस र पश्चिमी लमजुङ बासिन्दा लाभान्वित हुने उल्लेख गरे । उनले प्रदेश सरकारले गत वर्ष कास्कीमा ८ मोटरेबल पुल निर्माण गरेको जानकारी दिए ।

पूर्वाधार विकास कार्यालय कास्की प्रमुख डा महेन्द्र बानियाँका अनुसार ती ५ पुलमध्ये १ मादीको वडा नम्बर १० भाचोकको मकैखोलामाथि निर्माण भएको छ । इदी र वार्दी खोलामाथिका पुल मध्यपहाडी लोकमार्गको मादी करिडर अन्तर्गत पर्छन् ।

इदी खोलामाथिको पुलले मादी गाउँपालिकाको वडा नम्बर ४ तारकाङ र वडा नम्बर ११ सैमराङलाई जोड्छ । मध्य पहाडी राजमार्गमा पर्ने वार्दी खोलाको पुलले वडा नम्बर ९ मिजुरे र वडा नम्बर १० भाचोकलाई जोड्छ । मादीको वडा नम्बर १० र वडा नम्बर १२ लाई जोड्ने घुम्ले खोलाको पुल भने संघीय सरकारले निर्माण गरेको हो ।

डा बानियाँका अनुसार मकैखोला माथि प्रचलित डिजाइन अनुसार आरसिसी ब्रिज बनाइएको छ भने अरु २ पुल भिन्न डिजाइनमा बनेका छन् । वार्दी र इदीखोला माथिका पुल भने प्रिस्ट्रेस्ड डिजाइनका बनेको जानकारी बानियाँले दिए । यो प्रविधिमा छडसँगसँगै तार पनि राखिन्छ । पछि तार तन्काइएको छ ।

पूर्वाधार विकास कार्यालयका अनुसार मकैखोला पुलको लम्बाइ २५ मिटर छ । वार्दीखोला पुल ३६ र इदीको पुलचाहिँ ३० मिटरको छ । इदी र मकैखोलाको पुल २०७८ साउन २१ गते निर्माण सक्नुपर्ने गरी गजेन्द्र निर्माण सेवाले ठेक्का लिएको थियो ।

वार्दीको पुल निर्माण पूरा गर्नुपर्ने अन्तिम गएको असोज २८ गते थियो । यसको ठेकेदार कम्पनी भने नयाँबाटो भदौरे निर्माण सेवा हो । मकैखोला पुलको लागत २ करोड ३१ लाख १० हजार ५ सय १६ रुपैयाँ छ । वार्दीको ४ करोड ३९ लाख, ८ हजार ९ सय ७७ र इदीको ४ करोड २३ लाख ५५ हजार ७ सय ६२ रुपैयाँ छ ।

पोखरा महानगरपालिका वडा नम्बर ३२ र तनहँको शुक्लागण्डकी १ जोड्ने मोटरेबल पुल खुदी खोला–ताल खोला दोभान जय विष्णु–विवके एण्ड कुबेर जेभीले ३ करोड ७१ लाख ७५ हजार ५ सय ६३ रुपैयाँमा निर्माण गरेको हो । आरसिसी टी–बिम प्रविधिमा निर्मित डबल स्पामको यो पुलको लम्बाई २५ मिटर छ ।

तपाईको प्रतिक्रिया