नेतालाई भगवान नठान्नोस्ः मन्त्री किराँती

पोखरा ।
संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्री सुदन किराँतीले एक जना मन्त्रीको स्वागत, सत्कारमा हप्तामै लाखौं रुपैयाँ खर्च भइरहेको औंल्याएका छन् । शनिबार पोखरामा होटल व्यवसायी महासंघ गण्डकीको प्रथम महाधिवेशनमा मन्त्री किराँतीले मन्त्रीको स्वागत, सत्कारमा लाखौं रुपैयाँ खर्च हुनेगरेको सुनाए ।
खादा, माला नलगाउन उद्घोष गरे पनि भेट्न आउँदा ल्याइदिने गरेकासँग सामाजिक अभियान सञ्चालन गरेको उनले बताए ।
‘जबरजस्ती माला, खादा बोकेर आउने साथीहरुका लागि मैले अभियान सञ्चालन गरें । माला, खादा किन्ने पैसाले दुर्गम गाउँको शिक्षामा लगेर सहयोग गर्न अभियान सञ्चालन चलाए । ७ दिनमा ६ लाख ४ सय ३४ रुपैयाँ जम्मा भयो,’ मन्त्री किराँतीले भने, ‘तपाईहरु भन्नुस् । एक जना मन्त्रीले ७ दिनमा ६ लाखको खादा लगाउँछ भने केन्द्र सरकारका २५ मन्त्रीले एक दिनमा कति लाखको खादा, माला लगाउँलान् ?’
संघ, प्रदेश र स्थानीय तहका ३६ हजार १ सय ५५ जनप्रतिनिधिले दिनमै करोडौंको खादा, माला लगाउने गरेको उनको भनाइ छ । संवैधानिक, कानुनी र सुरक्षा फोर्सका मान्छेले सम्मान थाप्दै गए दैनिक करोडौं रुपैयाँ खर्च हुने उनले उल्लेख गरे । उनले आफूभन्दा बुढो पर्यटन ऐन बोकेर हिँड्न अप्ठ्यारो भएको सुनाए । ‘आफूभन्दा जेठो पर्यटन ऐन बोकेर हिँड्नुपरेको छ । यसले केही हुनेवाला छैन । समयसापेक्ष ऐन आवश्यक छ,’ मन्त्री किराँतीले भने ।
हामी भगवान होइनौं । जब मान्छे भगवान भएको महसुस गर्छ । त्यहीं कारण त जनतासँग भेट हुँदैन । तपाईंका दुःख बुझ्दैनन् ।
उनले आगमी बजेटमा पर्यटक आक्रर्षित गर्न विभिन्न कार्यक्रम ल्याउने योजना सुनाए । ‘आन्तरिक पर्यटक आकर्षित गर्न कार्यक्रम, योजना, नारा बनाइरहेका छौं । विदेशभन्दा पहिल पूर्वदेखि पश्चिमका पर्यटकीय क्षेत्र नेपालीले घुम्ने वातावरण बनाउन सरकार लागिपरेको छ,’ उनले भने ।
०३५ सालमा बनेको पर्यटन ऐन संशोधन गर्नुपर्ने भए पनि त्यो हुन नसकेको उनको भनाइ छ । ‘एनलाई संशोधन गर्नु आवश्यक छ । पर्यटन ऐन चेन्ज गर्न सकिएन भने पर्यटन प्रबद्र्धन गर्छु, पर्यटनबाट विदेशी करेन्सी भित्र्याउँछु भन्नु हावादारी हुन्छ,’ उनले भने ।
पोखराको सेती खाेंचमा यति एयरलायन्सको प्लेन दुर्घटनापछि खादा, माला लगाउन छोडेर अभियान सञ्चालन गरेको उनको भनाइ छ । ‘मन्त्रीको पदभार ग्रहण गरेपछि भएको दुर्घटनामा पोखराको सेती खोंचमा स्वदेशी तथा विदेशी गरी ७२ जनाले ज्यान गुमाए । त्यहीँ मन्त्रालयको तालुकदार मन्त्रीले चाहिँ माला खादा लगाउनुहुँदैन भनेर म आफूले माला, खादा लगाइनँ ।’
संघमा ३ सय ३४ सांसद, स्थानीय तहका १ हजार ५ सय ६ जना मेयर÷उपमेयर र ६ हजारभन्दा भन्दा बढी वडाध्यक्ष र वडा सदस्यले खादा, माला लगाउँदै हिँडे अनावश्यक खर्च कति हुन्छ भनी उनले प्रश्न गरे । आफूलाई चुनाव जितेपछि ४ ट्रक खादा माला लगाइदिएको उनको भनाइ छ । ‘ठीकै छ । चुनाव जितें एउटा मालामात्र लगाउँ भनेको ४ ट्रक खादा अझै छ,’ उनी भन्छन् । जीवनमा मृत्यु, अध्यारोमा उज्यालो, चामलमा बियाँ र संस्कृतिमा विकृति थाहा नपाई भित्रिएको उनले सुनाए ।
पछिल्लो समय नेताले आफूभन्दा ठूलो तौलको माला लगाउँदै हिँडेकोप्रति उनले असन्तोष पोखे । नेताले १ हजार केजीको माला लगाउनुको औचित्य नहुने उनले बताए । ‘म देख्छु गाउँमा नेता जान्छन् । हजार केजीको माला लगाउँछन् । १ हजार केजी माला बनाउन कति दिन लाग्यो होला ? त्यो फूल टिप्न कति दिन लाग्यो ? कति श्रम शक्ति र सम्पति र समयको क्षति हुन्छ,’ उनको प्रश्न छ ।
५० केजीको लिखुरे मान्छेलाई १ हजार केजीको माला लगाइदिएपछि नेता भगवान हुनेगरेको उनले टिप्पणी गरे । ‘हामी भगवान होइनौं । जब मान्छे भगवान भएको महसुस गर्छ । त्यहीं कारण त जनतासँग भेट हुँदैन । तपाईंका दुःख बुझ्दैनन् । त्यहीँ करणले त यो विकृति आएको हो,’ उनले भने ।
तपाईको प्रतिक्रिया