ब्रिजकोर्ष र स्कुलभित्र शैक्षिक सामग्री बिक्रीमा रोक

समाधान संवाददाता २०७९ चैत २६ गते १०:५९

पोखरा ।
पोखरा महानगरपालिकाले महानगरभित्र सञ्चालित विद्यालय शिक्षालाई व्यवस्थित तथा प्रभावकारी बनाउन विभिन्न निर्देशन जारी गरेको छ । नगर शिक्षा परिषद् र नगर शिक्षा समितिको संयुक्त बैठकले शैक्षिक शत्र २०८० का लागि ब्रिज कोर्स खारेज गर्नेदेखि विद्यालय हाताभित्र पाठ्यपुस्तक तथा अन्य शैक्षिक सामग्री बिक्री, वितरणमा रोक लगाएको हो ।

Advertisement

महानगरको निर्देशनमा भनिएको छ, ‘विद्यालयहरूले शिक्षा नियमावलीमा उल्लिखित शीर्षकमा बाहेक एउटै विद्यालयमा अध्ययन गर्दा अध्ययन अवधिभर भर्ना शुल्कबापत एक पटकमात्र अधिकतम २ महिनाको शुल्कभन्दा बढी लिन पाइने छैन ।

कक्षा ११ को विद्यार्थी भर्नासँग सम्बन्धित ब्रिज कोर्स सञ्चालन गर्न रोक लगाइएको छ । महानगरले विद्यालय हाताभित्र पाठ्यपुस्तक तथा शैक्षिक सामग्री बिक्री वितरणमा पनि रोक लगाएको छ । विद्यालयलाई बिना प्रमाणपत्र विद्यार्थी भर्ना नगर्नसमेत महानगरपालिकाले निर्देश गरेको छ ।

पोखरामा शैक्षिक सत्र २०८० को पठनपाठन वैशाख १० गतेबाट सुरु हुने भएको छ । महानगरले कक्षा १० सम्म अध्ययन गरिरहेका विद्यार्थीले सोही विद्यालयमा अध्ययन गर्न चाहेमा कक्षा ११ अनिवार्य रूपमा भर्ना लिनुपर्ने प्रावधान बनाएको छ ।

महानगरभित्र सञ्चालित विद्यालयको १ सय मिटरभित्र सुर्ती तथा मदिराजन्य वस्तुको बिक्रीसमेत रोक्ने महानगरको निर्णय छ ।

Advertisement

यसअघि विद्यालयहरूले सञ्चालन गरिरहेको बसको सेवा अवधि लामो भएको जनगुनासो आएकाले आगामी शैक्षिक शत्रबाट विद्यालय सुरु हुनुभन्दा डेढ घन्टाअघि मात्र बस सेवा सञ्चालन गर्न पाइने भएको छ ।

महानगरको निर्देशनमा भनिएको छ, ‘स्कुल बसहरू विद्यालय सुरु हुनुभन्दा १ घण्टा ३० मिनेट अगाडिबाट मात्र विद्यार्थी ल्याउने कार्यमा प्रयोग गर्नुपर्ने छ ।’ यस्तै विद्यालयलाई २० वर्षभन्दा पुराना सवारी साधन प्रयोगमा रोक लगाइएको छ । महानगरले प्रत्येक ६ महिनामा स्कुल बसहरु पूर्ण सर्भिसिङ गर्न भनेको छ ।

जारी निर्देशनहरू पूर्ण कार्यान्वयन गर्न–गराउन सरोकारवालालाई परिपत्र गरी गरिएको छ । निर्देशनहरू परिपालना नभए नियमानुसार कारबाही गर्ने पनि महानगरले जनाएको छ ।

तपाईको प्रतिक्रिया