अकिञ्चन र सरुका रोज्जा मुक्तक

समाधान संवाददाता २०७९ चैत २६ गते ११:३३

पोखरा ।
‘चाहेको कुरा अभिव्यक्त गर्न सक्ने सामथ्र्य मुक्तकले राख्छ,’ मुक्तकवाचनको सुरुआतका उनले भने । त्यसपछि मुक्तक लेखनयात्राका सुरुआती दिन सम्झिए । अनि मुक्तककार फडिन्द्र अकिञ्चन भने, ‘अक्षरयात्राबाट मुक्तक लेख्न थालेँ ।’

मुक्तक मञ्च केन्द्रीय समितिले शनिबार पोखरामा आयोजना गरेको विशेष मुक्तकवाचनमा अकिञ्चन अर्की मुक्तककार सरला लामिछाने ‘सरु’सँगै मञ्चमा थिए । दुवैले आलोपालो मुक्तकवाचन गरे । सँगसँगै मुक्तकको रचनागर्भ र आआफ्ना साहित्यिक यात्रा पनि सम्झिए । सरुले जुनसुकै साहित्यिक कार्यक्रममा जाँदा पनि मुक्तकै लेख्ने र सुनाउने गरेको सम्झिइन् ।

अकिञ्चनले स्कुले जीवनदेखि नै साहित्य थाले पनि २०६३/६४ तिरबाट मुक्तक लेख्न थालेको सुनाए । मुक्तक समसामयिक परिवेशबाट बाहिर जान नसक्ने उनको विचार छ । ‘देशको परिवेशको कुरा गर्दा वैदेशिक रोजगारी छुट्दैन,’ उनले भने, ‘हाम्रो सबैका घरका कोही न कोही वैदेशिक रोजगारीमा छौं ।’ त्यसपछि उनले सुनाएः

Advertisement

सके युरोप, अमेरिका, न नसके कतार कहिलेसम्म
वृद्धाश्रम बनाएर देश उड्न हतार कहिलेसम्म
नागरिक बेचेर सरकार र सत्ताको खर्च धान्नुु छ
भन्नुुस् हजुर यो अनौठो व्यापार कहिलेसम्म ?

प्रायः वास्तविक घटनाले छोएपछि मात्रै मुक्तक लेख्ने गरेको सरु सुनाउँछिन् । उनले समसामयिक, प्रेम, महिला अधिकारसम्बन्धी मुक्तक सुनाइन् । अकिञ्चनले देश, परिवेश, विकृत राजनीतिमाथिसँगै जीवन दर्शनका मुक्तक सुनाए ।

मुक्तक मञ्चका संस्थापक अध्यक्ष गोविन्द गिरीले प्रवासबाट कार्यक्रमलाई टेवा दिए । वाचकद्वयलाई जनही ५ हजार र कार्यक्रम आयोजनका लागि ५ हजार गरी उनले १५ हजार सहयोग गरेका हुन् । अकिञ्चन र सरुले आफूहरुले पाएको पारिश्रमिक संस्थालाई नै हस्तान्तरण गरे ।

Advertisement

अन्त्यमा संस्थाका सल्लाहकार रुपिन्द्र प्रभावीले मुक्तककारद्वयलाई प्रशंसापत्र हस्तान्तरण गरे । मञ्चका अध्यक्ष रामजी आचार्यले संस्थाले नियमित वाचनसहित अन्तक्र्रिया, छलफल, पाठ्यक्रममा मुक्तक समावेश गर्न अभियान चलाइरहेको उल्लेख गरे । उनले भने, ‘अग्रज र समकालीन मुक्तककारको संगम बनेर संस्थाले काम गरिरहेको छ । बेला बेलामा विशेष वाचन आयोजना गरिरहने छौं ।’

तपाईको प्रतिक्रिया