सम्पादकीयः खेलाडीलाई खेलाँची

खेलाडीका लागि सेवा सुविधा दिने वा खेलकुदका पूर्वाधार निर्माण गर्नेतिर झिनोमात्रै पनि सरकारको ध्यान पुग्थ्यो भने नेपालले पनि अन्तर्राष्ट्रिय जगतमा खेलका माध्यमबाट धेरै पहिचान बनाउन सक्थ्यो । नेपाली खेलाडी कम प्रतिभाशाली छैनन् । त्यो प्रतिभाको परख सरकारले गर्न नसकेको मात्रै हो ।
सरकारले पूर्वाधारमा लगानी नगर्दा नगर्दै, खेलाडीलाई कुनै सेवा सुविधा नदिँदा नदिँदै पनि नेपाली खेलाडीले जे जति उपलब्धि हाँसिल गरेका छन्, त्यो नितान्त उनीहरुकै रुचि र प्रतिभाको उपज हो । पोहोर साल धनगढीमा भएको ‘मुख्यमन्त्री कप अन्डर–१९’ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशको टोली च्याम्पियन बन्यो । त्यो टोलीलाई प्रदेशका तत्कालीन अर्थमन्त्री रामजी बरालले पुरस्कार दिने घोषणासहित सम्मान गरे ।
खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई जनही ५० हजार दिने घोषणा भने अहिलेसम्म कार्यान्वयन भएको छैन । सरकारमा बस्नेहरु वा राजनीति गर्नेहरु बेलामौका हेरी लोकप्रियताका लागि जुनसुकै घोषणा पनि गरिहाल्छन् । तर कार्यान्वयन पनि गर्नुपर्छ आफ्नो घोषणा भनेर बिर्सन्छन् । होइन भने प्रदेशको ढिकुटी लिएर बसेका अर्थमन्त्रीले खेलाडीहरुलाई त्यति पुरस्कार अर्पण गर्न कुनै आइतबार नहुनुपर्ने हो ।
अर्थमन्त्रीले घोषणा गरेको पुरस्कारमा तत्कालीन खेलकुद मन्त्री राजीव गुरुङले अपनत्व नलिनुले पनि पुरस्कार प्रदान गर्ने प्रक्रिया अघि बढेन । त्यो भनेको एउटै सरकारभित्रका मन्त्रीहरुबीचको द्वन्द्वको चेपुवामा खेलाडी पर्नु हो ।
खेलाडीलाई त्यतिका हौसला दिइसकेपछि मुख्यमन्त्रीले पनि चासो राखी हस्तक्षेप गर्नुपर्ने थियो । कुनै निकास अर्थमन्त्रीले खोज्न सक्ने थिए । तर, खेलाडी कुनै पार्टीका कार्यकर्ता भएनन् । आफ्नो पार्टीका कार्यकर्ताका लागि कुनै काम गर्नुपर्ने हुन्थ्यो भने सरकारका मन्त्रीहरु अनेक उपाय निकाल्थे । खेलाडीका लागि पनि बोल्यो अनि बिर्सियो गर्दिए ।
त्यो नै खेलकुद जगत र खेलाडीलाई राजनीतिकर्मी वा हाम्रो सरकारले गर्ने खेलाँचीपूर्ण र हेपाहा व्यवहारको ज्वलन्त उदाहरण हो । सरकारको यस्तै रबैयाकै कारण न खेलाडीहरु पलायन भइरहेका हुन् । अहिलेको सरकार पनि बहिर्गमनको सन्निकट छ । त्यसले पूर्ववर्ती सरकारको घोषणा कार्यान्वयनबाट उम्कने खै थाहा भएन पहिला कसले के घोषणा गरेको थियो भनेर पन्छिए भइहाल्यो ।
तर खासमा सरकार भनेको अविच्छिन्न उत्तराधिकार संस्था हो, पदाधिकारी फेरिनेबित्तिकै कार्यक्रम कार्यान्वयनमा फेरबदल नहुनुपर्ने हो । फेरि खेलाडीलाई दिने पुरस्कारमा कसको पालाको सरकारले घोषणा गरेको थियो भन्ने खास अर्थ नहुनुपर्ने हो । प्रतिभाशाली खेलाडीलाई त जुनसुकै बेलाको सरकारले पनि सम्मान गर्नुपर्छ । नत्र खेलाडीको हौसला मुर्झाउँछु । कुनै उपायबाट भए पनि ती खेलाडीलाई पुरस्कार प्रदान गरिनुपर्छ ।
तपाईको प्रतिक्रिया