मुख नथुन्ने कविहरुको चेतावनी

पोखरा ।
गलपासो भयो आज गणतन्त्र भनीकन
जनआवाज उठ्दैछ घनीभूत बनीकन
स्वतन्त्रता छ है भन्छौ जनको मुख थुन्दछौ
माछा नै छैन खोलामा के निम्ति जाल बुन्दछौं
यो कवितांश गण्डकी प्रज्ञा–प्रतिष्ठानका कुलपति सूर्य खड्का बिखर्चीको हो । कुलपति बिखर्चीमात्र होइन, पोखरा प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सरस्वती श्रेष्ठ सरु र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अनेसासका आजीवन सदस्य लक्ष्मण थापासमेतले सिर्जनाकामार्फत् वाक स्वतन्त्रताको वकालत गरे । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज गण्डकी महासचिव असफल गौतमले सुनाएः
सत्ता र बेइमानीबीचको नाता चुट्याउन आउँदैन भने
के हो सही के हो गलत खुट्याउन आउँदैन भने
जनसेवक भन्दै छाती फुलाउँदै के हिँड्छौँ मूर्ख हो
मुख र मलद्वारमा फरक छुट्याउन आउँदैन भने ।
वर्तमानमा देखिएका वेथितिका विरुद्धको खबरदारीसहितका सडक कवितावाचन गर्ने चाँजोपाँजो जरोटुप्पो संरक्षण साहित्य समाज नेपालले मिलाएको हो । पछिल्लो समय देशमा विकसित भइरहेका विविध घटनाक्रमको सांकेतिक विरोधस्वरूप संस्थाले पृथ्वीचोकको गोलघर अगाडिको वातावरण मान्छेको मुख थुन्न हुँदैन सडक कवितावाचन कार्यक्रममार्फत् गुञ्जयमान बनाएको हो ।
संस्थाका महासचिव मदन भण्डारीले राज्यले महत्वपूर्ण निर्णय रातको १२ बजे महंगा सोफामा बसेर गर्ने तर कवि र किसान सडकमा पसिना बगाएर स्वस्थ हुने भएकाले मध्यान्हको १२ बजे सडकमा मञ्च खाली राखेर कार्यक्रम आयोजना गरिएको बताए ।
उपाध्यक्ष प्राडा यामबहादुर पौडेल क्षत्रीले राज्य पक्ष सदा जनताका लागि भन्दा कुर्चीका लागि दौडधुपमा रहेकाले संस्थाले मञ्चका कुर्ची पात्रविहिन बनाएर कार्यक्रम आयोजना गरेको बताए । लोकसंस्कृति अध्येता प्राडा कुसुमाकर न्यौपानेले कवि, कलाकार अन्यायका विरुद्ध मुख थुनेर बस्न नहुने बताए ।
राजनीतिक विश्लेषण महेन्द्रमान व्यथितले नेताहरूको दुषित विचारले नेपाल कहिल्यै बन्न नसकेको टिप्पणी गरे ।
संस्थाका अध्यक्ष डा. नारायणप्रसाद अधिकारीले राज्यमा सुशासन कायमका लागि समयको कालक्रममा कवि कलाकारको ठूलो भूमिका रहेकाले वर्तमान वेथितिका विरुद्ध कार्यक्रम आयोजना गरिएको बताए । कार्यक्रममा सञ्चारकर्मी शिवराज बस्ताकोटी शिवदाइ, अग्रज पत्रकार रुद्रबहादुर थापा, उदयबहादुर अमात्यले पनि बोलेका थिए ।
कार्यक्रममा डा जगन्नाथ रेग्मी, शिवप्रसाद गौतम, छविलाल आचार्य, बलराम तिमिल्सिना तेजबहादुर गुरुङ, अल्पविराम पोखरेली, धर्मराज अल्पायु, वसन्त विनोद, रमा पराशर, चारघरे ठिटो, ढुण्डीराज ज्ञवाली, नरेन्द्र रानाभाट, विनोद अधिकारी, प्रकाश भण्डारी, नारायण बराल र सन्तोष लम्सालले रचना सुनाए ।
तपाईको प्रतिक्रिया