५ वर्षमा पनि बनेन लेते–छयो पुल

सुन्दरकुमार थकाली २०७९ चैत २७ गते १०:४३

जोमसोम ।
५ वर्ष बितिसक्दा समेत मुस्ताङको थासाङ गाउँपालिका वडा नम्बर ३, ४ र ५ वडा जोड्ने सस्पेन्सन मोटरेबल पुल निर्माण पूरा भएको छैन । २०७४ साल फागुनमा ठेक्का सम्झौता भई निर्माण सुरु गरिएको लेते–छयो जोड्ने पुलका लागि चाहिने स्टिल गर्डर र स्टिल पार्टका सामग्री नहुँदा निर्माणमा बिलम्व भएको हो ।

साविक जिल्ला विकास समितिले ठेक्का सम्झौता गरेको पुल निर्माणको जिम्मा स्वच्छन्द निर्माण सेवा काठमाडौंले ११ करोड ३० लाखमा लिएको थियो । पुल १२० मिटर लामो र ७ दशमलव २ मिटर चौडा बनाउने योजना हो ।

यसअघि साविक जिल्ला विकास समितिले निर्माण सुरु गरेको लेते—कुञ्जो पुलको संरचनामा कालिगण्डकी नदी कटानले क्षति पुर्‍याएपछि पुल निर्माणको विभिन्न विकल्प खोजिएको थियो । निर्माणाधीन भौतिक पूर्वाधार विकास मन्त्रालयले २०७७ भदौमा उक्त पुल निर्माणको अख्तियारी प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालयलाई हस्तान्तरण गरिएको थियो ।

Advertisement

कालीगण्डकी नदीले पुलको फाउन्डेसन बिममा क्षति पुर्‍याएपछि केही वर्षदेखि काम रोकिएको थियो । पुलको संरचनालाई मजबुद बनाउन संघीय सरकारको १५ प्रतिशत र ९ दशमलव ८१ प्रतिशत प्रदेश सरकारको साझोदारी गर्ने गरी गण्डकी प्रदेश सरकारले २ करोड ८१ लाख रकम भिओ स्वीकृत गरेको थियो । भिओ वृद्धि भएसँगै लेते–छयो पुलको लागत १४ करोड १९ लाख पुगेको छ ।

निर्माण लागत ११ करोड ३० लाखबाट १४ करोडभन्दा बढी पुर्‍याउँदा पनि काम सुस्त

Advertisement

लेते–छयो जोड्ने पुल निर्माण सुरु भएको ५ वर्ष बितिसक्दा पुलको भौतिक प्रगति २७ दशमलव छ । वित्तीय प्रगति २२ प्रतिशतमात्र रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । पुलका लागि लागत ४० प्रतिशत बजेट स्टिल पार्ट लगायत सामग्री खरिदमा खर्च हुने भएकाले भौतिक प्रगति कम देखिएको पूर्वाधार विकास कार्यालय मुस्ताङका प्रमुख विवेक सिग्देलले जानकारी दिए । कार्यालय प्रमुख सिग्देलले मौसमले साथ दिए ६ महिनाभित्रै पुल निर्माण सम्पन्न हुने दाबी गरे ।

पुलको संरचनालाई बलियो बनाउन सो स्थानको देब्रे किनारातर्फ रिभर रिटेनिङ वाल निर्माण सकिएको, फाउन्डेसनको काम दुबैतर्फ सम्पन्न भएको पूर्वाधार विकास कार्यालयको भनाइ छ । यसैगरी पुलको सस्पेन्स टावर निर्माण अन्तिम चरणमा पुगेको छ । एंकर ब्लकको काम पनि ५० प्रतिशत सकिएको छ ।

मुस्ताङको लेते–छयो जोड्ने पुलका लागि महत्वपूर्णको काम सकिएको र अब स्टिल पार्ट जडान, एङ्कर ब्लक निर्माण, २२ सेमीदेखि २७ सेमीसम्मको डेस्क स्लाप माथि ढलान र ३ दशमलव ५ मिटर पुलको दुबैतर्फको भागमा एप्रोच रोड विस्तार लगायत काम बाँकी छ ।

पुल निर्माणमा ढिलाइ हुँदा थासाङ गाउँपालिका अन्तर्गतको कुञ्जो, ताक्लुङ, छयो, झिप्रा देउराली लगायत ठाउँका कृषक चिन्तित देखिएका छन् । कृषि उत्पादनले महत्वपूर्ण सम्भावना बोकेका यी गाउँहरुका कृषकहरुले पुल निर्माणमा सरोकारवाला निकायले चासो दिनुपर्ने बताएका छन् । उनीहरूले पुल निर्माण ढिला हुँदा स्थानीय कृषि उत्पादन सामग्रीहरुको बजारीकरणमा समस्या भएको दुखेसो सुनाए ।

बेनी–जोमसोम ७६ किमी मुख्य राजमार्ग सडकदेखि कुञ्जो र ताक्लुङसम्म कच्ची सडक विस्तार भइसकेको भए पनि लेते–छयो जोड्ने मोटरेबल पुल निर्माणमा ढिलाइ हुँदा त्यस क्षेत्रका ४ वटा गाउँका स्थानीयले कृषक उत्पादनका सामग्री बजारीकरण गर्न समस्या परेको हो ।

पटक/पटक म्याद थप हुँदै आइरहेको पुलको काम चालु वर्षको जाडोयाममा तिब्रताका साथ अघि बढाइएको थियो । तर, अहिले स्वच्छन्द निर्माण सेवाले पुलका लागि चाहिने इकुप्मेन्ट खरिद गर्न ढिला गर्दा पुरै काम प्रभावित बनेको हो । स्टिल पार्ट जडान भए मोटरेबल पुलको भौतिक प्रगति ८० प्रतिशत पुग्ने पूर्वाधार विकास कार्यालय भनाइ छ । मुस्ताङको कुञ्जो र ताक्लुङ गाउँ आलु खेती धेरै हुने ठाउँ हुन् । पुल बनेपछि त्यस क्षेत्रका झन्डै, दुई सय घरधुरी लाभान्वित हुने छन् ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया