आलु महोत्सव सुरु

समाधान संवाददाता २०७९ चैत २७ गते १०:५४

हेमजा ।
हेमजामा आइतबारदेखि आलु महोत्सव सुरु भएको छ । ‘सुन्दर ठाउँ हेमजा जाऔँ, आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने नाराका साथ विष्णुपादुका क्लबको आयोजनामा महोत्सव भएको हो ।

Advertisement

गण्डकी प्रदेश सरकारका कृषि ऊर्जा तथा जलस्रोत मन्त्री वेदबहादुर गुरुङले महोत्सव सुरुआत गरे । प्रदेश सरकार किसानको पक्षमा रहेको बताउँदै उनले नेपालमा कृषिलाई व्यवसायिक बनाउनुपर्नेमा जोड दिए । मन्त्री गुरुङले कृषि नीति सुधार्ने तयारीमा मन्त्रालय रहेको जानकारी दिँदै अबको बजेट किसानमुखी बनाउन पहल भइरहेको उल्लेख गरे ।

प्रदेशसभा सदस्य गणेशमान गुरुङले कृषि कर्म गर्दा खुसी हुने संस्कार सुरुवात गर्नुपर्ने विचार राखे । निर्वाहमुखी खेतीले केही नहुने स्पष्ट पार्दै गुरुङले महोत्सवसँगै उत्पादनमा जोडिन प्रण गर्नुपर्ने सुनाए ।

कृषि मन्त्रालयका सचिव सहदेवप्रसाद हुमागाईले हेमजा र आलु पर्याय जस्तै भएको जनाए । आलु विज्ञ श्यामप्रसाद ढकालले हेमजावासीलाई नियमित खाने र उद्योगसँग जोड्ने गरी आलुको उत्पादनमा लाग्न सुझाव दिए ।

पोखरा २५ का वडाध्यक्ष मोतिलाल तिम्सिनाले आलु महोत्सवले हेमजालाई मात्र नभई समग्र पोखरा क्षेत्रलाई नै विश्वभर चिनाएको औँल्याए । उनले बहुउद्देश्यीय किसान सहकारीले सुरुवात गरेको महोत्सवलाई निरन्तरता दिएकोमा आयोजक क्लबप्रति आभार प्रकट गरे ।

Advertisement

कार्यक्रमाम नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका अध्यक्ष भरतराज ढकाल, हेमजाका अगुवा कृषक चित्रनाथ पौडेल लगायतले बोलेका थिए । कार्यक्रमा सहयोगदाता जेके क्रसर, कृषि अनुसन्धान निर्देशनालय लुम्ले, पोखरा महानगर कृषि महाशाखा, कृषि विकास निर्देशनालय गण्डकी प्रदेश, कृषि ज्ञान केन्द्र, मुख्य प्रायोजक, मुक्तिनाथ र एनएमबी बैक, हाई ग्राउन्ड एडभेन्चर प्रालिसहित गुरुकुल विद्या सदनलाई सम्मान गरियो ।

महोत्सव सुरु हुनुपुर्व मिलनचोकबाट महोत्सव स्थल विष्णुपादुका खेलमैदानसम्म कृषि झाँकीसहितको शोभायात्रा निकालिएको थियो । महोत्सवमा आइतबार कलाकारहरु चोलेन्द्र पौडेल, सुरेशरमण अधिकारी, परशुराम अधिकारी र पूजा तामाङले प्रस्तुति राखे । सोमबार लोकदोहोरीतर्फ रचना रिमाल, मञ्जु विक, अमर धिताल, नवराज अधिकारी र दुर्गा क्षत्री साथै पपतर्फ टुकी, सन्तोष बस्याल र बवि सुनारका प्रस्तुति रहनेछन् ।

महोत्सव अन्तर्गत आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड, आलुका विभिन्न परिकार प्रदर्शन तथा प्रशिक्षण, माटो, बोटविरुवाको परीक्षण तथा रोगको निधान, कृषिसम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, विभिन्न कृषि उपज, विउ विजन तथा अन्य कृषि यन्त्र प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार लगायतका कार्यक्रम गरिनेछन् ।

पोखरा महानगरपालिका कृषि महाशाखाले कृषक परिचयपत्र पनि वितरण गर्दै छ । कोरोना भाइसरका कारण विगत ३ वर्षसम्म रोकिएको महोत्सवले यस वर्षदेखि निरन्तरता पाएको हो । महोत्सवमा प्रतिकिलो ३५ मा आलुको कारोबार भइरहेको भने करिव ४० टन आलु बिक्री हुने आयोजकको अपेक्षा छ ।

मूल आयोजक समिति अध्यक्षसमेत रहेका क्लब अध्यक्ष सुविन श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष अस्विन थापा र महासचिव वसन्तकुमार श्रेष्ठले पनि बोलेका थिए । सोमवार कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया हुने तय छ ।

तपाईको प्रतिक्रिया