सम्पादकीयः सांसदको घृणित बार्गेनिङ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले स्वास्थ्य व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको छ । सुशासनलाई प्रमुख प्रमुख एजेन्डा बनाएको पार्टीकै सांसदले यो हदको बार्गेनिङ गरेको तथ्यले पार्टीको मात्रै नभई राजनीतिमा जो आए पनि उस्तै त हो नि भन्ने सन्देशलाई मलजल गरेको छ ।
बरु पुराना र परम्परागत पार्टीका सांसदहरु यो हदको बार्गेनिङ र मोलमोलाइमा देखिएका घटना बिरलै छन् । रवि लामिछानेको सार्वजनिक लोकप्रियताका आधारमा ६ महिनामै संसदमा पुग्न सफल पार्टीभित्र देखिएको यो हदको विकृतिले वैकल्पिक राजनीतिकै हुर्मत लिएको छ । राजनीतिमा प्रवेश गर्नासाथै र सांसद बन्नासाथै श्रेष्ठले संसदीय गरिमाकै धज्जीमात्रै उडाएका छैनन्, मर्यादा र राजनीतिक नैतिकता र इमानदारीलाई धुलिसात पारेका छन् ।
रास्वपाले आफ्ना सांसदको मोलमोलाइ अडियो आएपछि त्यसलाई तत्काल रेस्पोन्स गरेको छ । अडियो आएकै दिन आइतबार सांसद श्रेष्ठमाथि छानबिन अघि बढाएको छ । उसले निलम्वन पनि गरेको छ । रास्वपाले अरु पुराना दलहरुले जसरी आरोप लागेका आफ्ना नेता, कार्यकर्ताका हर्कतको ढाकछोप गर्नपट्टि भने लागेन ।
हाला कि श्रेष्ठले अडियो आफ्नो नभएको दाबी गरेका छन् । तर अडियोमा जुन आवाज सुनिएको छ, श्रेष्ठलाई चिन्ने जति उनको होइन भन्दैनन् । अडियो परीक्षणसमेत गर्न सकिन्छ । त्यसमाथि जोसँग बार्गेनिङ भएको छ, दुर्गा प्रसाईं स्वयंले पनि यसलाई पुष्टि गर्न सक्छन् ।
सांसद श्रेष्ठ यसअघि पनि अरु थुप्रै काण्डमा मुछिएका व्यक्तिसमेत हुन् । आफ्नो पेसा व्यवसायमा पनि विवादास्पद छवि छ उनको । सहकारी, खानेपानीदेखि व्यावसायिक संस्थाहरुमा पनि उनी विवादमुक्त रहेनन् । विवादित छविका बाबजुद पनि रास्वपाले उनलाई समानुपातिक सूचीबाट सांसद बनायो । नयाँनयाँ हुँदा पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धामा श्रेष्ठले आफूलाई अगाडि ल्याउन सफल पनि भए । त्यतिबेलै पनि उनलाई चिन्न नसक्नु कमजोरी थियो ।
अब भने श्रेष्ठ रास्वपाको कारबाहीको दायरामा परिसकेका छन् । रास्वपाले उनलाई पार्टीबाट निस्कासनै गरी सांसद पदबाट मुक्त गर्दा जुन सन्देश जान्छ त्यसलाई वैकल्पिक पार्टीलाई साँच्चीकै वैकल्पिक बनाउँछ । लामो संघर्ष र आन्दोलनबाट नभई हठात उदाएको पार्टीमा लोभीलालची र शक्तिका भोकाहरु जो सुकै पस्न सक्छन् र तिनले पार्टी र राजनीतिबाट व्यक्तिगत स्वार्थ पूर्ति गर्न सक्छन् भन्ने हेक्का पनि राखिनुपर्छ । सांसद श्रेष्ठलाई भने उनको पार्टीले निस्कासन गरेर सांसदपदमुक्तमात्रै गरेर पुग्दैन । सांसदका हैसियतमा उनले गरेको मोलमोलाई पदीय दुरुपयोग पनि भएको हुँदा भ्रष्टाचारकै मुद्दा लगाएर कारबाही गरिनुपर्छ ।
तपाईको प्रतिक्रिया