प्रतिभा माविमा विद्यार्थी बिदाइ

पोखरा ।
पोखराको पालिखेचोकस्थित प्रतिभा माध्यमिक विद्यालयले १२ कक्षाका विद्यार्थीलाई आइतबार बिदाइ गरेको छ । कक्षा ११ र १२ अध्ययन गरी अन्तिम परीक्षाको तयारीअघि विद्यालयले बिदाइ गरेको हो । कक्षा ११ का विद्यार्थीको संयोजनमा कार्यक्रम भएको हो ।
सांस्कृतिक गतिविधिसहित भएको कार्यक्रममा कक्षा ११ की दिपीकाकुमारी शर्माले बिदाई भई जाने विद्यार्थीलाई शुुभकामना दिइन् । प्रतिभा मावि सञ्चालक समिति अध्यक्ष नारायणप्रसाद पौडेलले विद्यार्थीलाई बिदाइ गर्नु आफैंमा गतिलो संस्कार भएको बताए ।
‘युवाले अहिलेको समय उपयोग गरी भविश्यका लागि अघि बढ्नुपर्छ । भविश्य उज्ज्वल बनाउन लगनशीलता र अटुट मेहनत चाहिन्छ,’ पौडेलले भने, ‘सफलताका लागि अनुशासन पनि चाहिन्छ ।’ अध्यक्ष पौडेलले बेलैमा आफ्नो महत्व बुझ्न नसके अहिलेको ऊर्जा भविश्यमा कमजोर हुँदै जाने सुनाए ।
प्राचार्य किरण सापकोटाले सफलताको यात्रामा अगाडि बढ्नका लागि विद्यार्थीलाई हौसला आवश्यक रहेको जनाए । पकोटाले प्रतिभाका विद्यार्थीमा सबैखाले आत्मविश्वास रहेको बताए ।
पछिल्लो वर्ष विद्यार्थीले विभिन्न क्षेत्रमा प्रतिभा देखाएर विद्यालयका लागि मात्र नभई सिंगो पोखराको शैक्षिक क्षेत्रका लागि गुन लगाएको प्राचार्य सापकोटाले बताए । ‘पोखराका शैक्षिक गतिविधिमा प्रतिभाको नाम अग्रपंक्तिमा छ, यो हुनु विद्यार्थीको मेहनत र लगाव पनि कारण हो,’ उनले भने, ‘हामी भविश्यमा थप इतिहास रच्नका लागि आतुर छौं ।’
प्राचार्य सापकोटाले जीवनमा जुनसुकै ठूलो पदमा पुगे पनि आमाबाबु, जन्मथलो र विद्यालयलाई नबिर्सन विद्यार्थीलाई सुझाव दिए । प्रतिभामा नर्सरीदेखि १२ कक्षासम्म अध्यापन हुन्छ ।
तपाईको प्रतिक्रिया