बाल विकास सहजकर्तालाई तालिम

पोखरा ।
कास्कीको रुपा गाउँपालिकाले सामुदायिक विद्यालयमा विद्यार्थी संख्या खस्किन नदिन सबै खालका सुविधा पुर्याएर अभिभावकलाई गाउँ फर्काउने वातावरण बनाउने भएको छ । अध्यक्ष नवराज ओझाले गाउँ गाउँमा भौतिक पूर्वाधार, विकास निर्माण लगायतका सबै सुविधा पुर्याएर सहरतिर बसाइसराइ गरेकालाई फर्काउने वातावरण बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।
गाउँपालिकाका बाल विकास सहजकर्ताका लागि आयोजित मन्टेसरी तालिमको समापन कार्यक्रममा अध्यक्ष ओझाले सशस्त्र द्वन्द्व, रोजगारी तथा राम्रो अवसरको खोजीका लागि बसाइसराइ गर्दा गाउँ रित्तिन थालेको उल्लेख गरे । ‘आर्थिक अभावका कारण विद्यार्थीले विद्यालय छोड्न नपरोस् भनेर अभिभावकका लागि आयआर्जनको कार्यक्रममा जोडिएको छ,’ अध्यक्ष ओझाले भने, ‘बसाइसराइलाई रोक्न सके तथा पालिका वाहिर रहेकालाई फर्काउने वातावरण सिर्जना गर्न सके सामुदायिक विद्यालयमा विद्यार्थीको कमी हुने छैन ।’
उनले जर्मन सहयोग संघको सहयोगमा पालिकाले असल छिमेकी सहयोग संघ (गोनेसा) पोखराका साझेदारीमा सञ्चालित सामुदायिक विकास कार्यक्रममार्फत न्यून आय भएका अभिभावकलाई आयआर्जनको लागि सहयोग गरेको जानकारी दिए ।
उनले सबै वडामा स्वावलम्बन समूह गठन गरेर अभिभावकलाई कुखुरा र बाख्रापालन, तरकारी खेतीको लागि सहयोग गरेको उल्लेख गरे ।
उनले विद्यालय शिक्षाको सुरुको तहको रुपमा रहेको बाल विकास केन्द्रलाई सशक्त बनाए समग्र शैक्षिक क्षेत्रमा सहयोग पुग्ने बताए । उनले सहजकर्ताहरु बालबालिका भन्दा पनि सिधै अभिभावकसँग जोडिने उल्लेख गरे ।
शिक्षा, खेलकुद तथा युवा शाखाका प्रमुख सन्दीप पौडेलले बाल बालिकाको सिकाईको सुरुवात बाल विकास केन्द्रबाट हुने भएकाले पालिकाले प्राथमिकता दिएको बताए । उनले योग्यता र दक्षता बढाएर सिकाई उपलब्धी हासिल गर्नमा केन्द्रीत हुन सुझाव दिए ।
बाल विकास केन्द्रका विज्ञ नारायणी कोइरालाले अभिभावक शिक्षा कार्यक्रमलाई प्रभावकारी बनाउन सकेमात्र बाल विकास कार्यक्रम सफल हुने दाबी गरिन् । गोनेसाका कार्यकारी निर्देशक शिवराज शर्माले माध्यमिक तहको शिक्षाको जिम्मा पालिकालाई भएको बताए ।
आधारभूत तहको शिक्षा अनिवार्य र निशुल्क गरेको अवस्थामा कुनै पनि बालबालिका विद्यालय बाहिर रहेको अवस्थामा अनिवार्य तथा निशुल्क शिक्षा ऐन २०७५ अनुसार सम्बन्धित पालिकालाई मुद्दा हाल्न सकिने उनले उल्लेख गरे । शर्माले बालबालिका विद्यालय नआएको अवस्थामा शिक्षकहरु घर घरमा पुगेर पढाउनुपर्ने बाध्यता आउने उनले संकेत गरे । उनले बाल संरक्षण नीति र पालिका स्तरको बाल सञ्जाल गठन गरिने जनाए ।
कार्यक्रममा गोनेसा पोखराका महासचिव श्याम कुँवर, परियोजनाका वित्त अधिकृत समिता गुरुङ, आयआर्जन अधिकृत अमृत अधिकारी, बाल विकास केन्द्रका सहजकर्ताहरु सरस्वती बस्यौला र धनुमाया ओझाले बाल विकास केन्द्र माध्यमिक तहको शिक्षाको जग भएकाले सोही अनुसारको लगानी हुनुपर्ने बताए ।
।
तपाईको प्रतिक्रिया