सासंद श्रेष्ठकाे अडियाेमाथी छानबिन गर्न सांसदहरुकाे माग

पोखरा ।
प्रतिनिधिसभाको बैठकमा सांसदहरुले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा. ढाकाकुमार श्रेष्ठको अडियो प्रकरणबारे संसदीय छानबिन माग गरेका छन् । श्रेष्ठले मन्त्री बन्नका लागि सभापति रवि लामिछाने नजिकका व्यक्तिले २ करोड रुपैयाँ माग गरेको भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग सहयोग माग गरेको अडियो आइतबार सार्वजनिक भएको थियो ।
सोमबार बसेको बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद धनराज गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि पार्टी सभापति रवि लामिछानेको कोर टिमलाई बुझाउन २ करोड मागेको विषयमा छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसका उपसभापतिसमेत रहेका सांसद धनराज गुरुङले माग गरेका छन् ।
सांसद श्रेष्ठले सभापति लामिछानेको कोर टिमले रकम माग गर्न लगाएको भनी टेलिफोनमा भनेको उल्लेख गर्दै त्यो कोर टिम भनेको को हो भन्ने प्रश्न गर्दै सांसद गुरुङले उक्त कोर टिमबारे पनि छानबिन हुनुपर्ने बताए ।
प्रतिनिधिसभा सदस्य श्रेष्ठले गरेको कुराकानी, भ्रष्टाचार, कमिसन आदिबारे संसद चुप लागेर बस्न नहुने उल्लेख गर्दै उनले संसदीय छानविन समिति गठनको माग राखे । ‘आजकै दिनमा यही बैठकबाट एउटा संसदीय समिति बनाएर यो घटनाको निश्पक्ष छानबिन गर्नका लागि म माग गर्दछु’ गुरुङले भने ।
नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले पाँच पटक मन्त्री भएका एक जनाले मन्त्री भनेकै अर्बौं भ्रष्टाचार गर्ने पद भएको भनी आफ्नो स्मरणमा लेखेको उल्लेख गरे ।
सत्ता गठबन्धनकै सांसदले स्वास्थ्य मन्त्री हुन अढाइ करोड रुपैयाँ बुझाउनुपर्ने बताएको टेलिफोन रेकर्ड सार्वजजनिक हुनुले मन्त्री पद भ्रष्टाचार गर्ने पद भएको भनी पूर्वमन्त्रीले लेखेको स्मरण पुष्टि भएको पनि उनको भनाइ छ ।
सिंहदरबारलाई भ्रष्टाचारको अखडा बनाउन खोजिएको हो कि होइन त्यसबारे सत्तारुढ दलका नेताहरुले संसदलाई जवाफ दिनुपर्ने उनको माग छ ।
तपाईको प्रतिक्रिया