
जोमसोम ।
मुस्ताङको थासाङ गाउँपालिका—२ बोक्सी खोलामा शुक्रबारदेखि याकचौरीको आलो रगत खाने मेला सुरु भएको छ । कोरोना कहरका कारण लगातार ४ वर्षसम्म रोकिएको याकचौरीको आलो रगत खाने मेला यसपटक सुरु गरिएको हो ।
धौलागिरी याकचौरी पालक समुहको आयोजनामा वैशाख ८ गतेदेखि १७ गते सम्म मेला हुने समुहका अध्यक्ष बुद्धिरत्न तुलाचनले जानकारी दिए । थासाङ—२ नं वडाका ९ घरधुरी ९ गोठको करिव ७ सय याकचौरीको रगत निकालिने अध्यक्ष तुलाचनले बताए ।
याकचौरी पालकहरुले कोरोना कहर अघि बर्सेनि वैशाख महिना र भदौ महिनामा चौरीको रगत निकालेर बिक्री गर्दै आईरहेका थिए । कोभिड माहामारीको बेला रगत खाने मेला सञ्चालन नहुँदा चौरी पालकहरु मर्कामा परेका थिए ।
यसवर्ष रगत खाने मेला सञ्चालन गरेसँगै चौरी पालक तथा रगत खान आउने सर्वसाधारण उत्साहित भएको समुहका अध्यक्ष तुलाचनको भनाइ छ । यतिखेर जिल्ला बाहिर र जिल्ला भित्रका सयौं सर्वसाधारण प्राकृतिक उपचारका लागि रगत खान बोक्सीखोला पुगेका छन् ।
मेलामा रगत खाने आउने सर्वसाधारणलाई याकचौरीको आलो रगत प्रति गिलास ३ सयको दरमा बिक्री गरिएको याकचौरी पालक समुहका सदस्य गोबिन्द शेरचनले बताए । चौरीको पशु स्वास्थ्य अवस्था परीक्षण गरेर मात्रै रगत निकालिने उनको भनाइ छ ।
हिमाली लेकका याकचौरीको आलो रगत स्वास्थका लागि लाभकर हुने गर्दछ । चौपायाले मुस्ताङका उच्चलेंकको पाँचऔले, निरमसी, जटामसी र यार्सा गुम्बा जस्ता जटिबुटी खाने हुदाँ यसले पेट सम्बन्धी रोग निकोभई शारिरीक स्फुर्ती बढ्ने जनविश्वास छ ।
पोखराबाट रगत पिउन मुस्ताङ आएका नर बहादुर पुनले— चौरीको रगत पिउन थालेपछि आफ्नो स्वास्थ्यमा क्रमिक सुधार आएको बताए । उनले वर्षेनी एक साता सम्म मुस्ताङमा बसेर चौरीको रगत खाएर फर्कने गरेको उल्लेख गरे ।
मेलामा खुल्ला तारो हान्ने खेल (आर्चरी) प्रतियोगिता पनि आयोजना गरिएको छ ।


सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्
तपाईको प्रतिक्रिया