सांसद ढाकाले बुझाए स्पष्टीकरण, भने-अडियोको आवाज मेरो होइन

२ करोड रुपैयाँ घुस मागेको अडिओ प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले पार्टीको अनुशासन आयोगलाई लिखित स्पष्टीकरण पठाएका छन् । आयोगले दिएको २४ घन्टाभन्दा बेसी समयमा उनले स्पष्टीकरण दिएका हुन् ।
स्रोतका अनुसार श्रेष्ठले सार्वजनिक अडिओमा भएको आवाज ‘सम्पादित’ रहेको उल्लेख गरेका छन् । ‘स्पष्टरूपमा त्यो आवाज मेरो होइन भनिएको छैन, तर आवाज सम्पादन गरिएको भनिएको छ,’ उनले स्पष्टीकरणमा भनेका छन् ।
श्रेष्ठले मात्र एक अनुच्छेदको स्पष्टीकरण पार्टीले गर्ने कुनै पनि निर्णय आफूले स्वीकार्ने उल्लेख गरेका छन् । यसअघि स्पष्टीकरणसँगै राजीनामा समेत दिने संकेत उनले अनुशासन आयोगलाई दिएका थिए । तर, केही कानून व्यवसायीहरूसँग छलफलपछि तत्काल राजीनामा दिने मनस्थिति उनले बदलेको स्रोतले बतायो ।
श्रेष्ठको स्पष्टीकरणपछि अनुशासन आयोगको वैठक अहिले १२ बजे बस्दैछ । सो बैठकले आज दिनभरिमा ठोस निर्णय लिने आयोगका संयोजक भरत देवकोटाले बताए । आयोगलाई पार्टीमा प्रतिवेदन बुझाउन भोलिसम्मको समय छ ।
‘सकेसम्म आजै, नत्र भोलि प्रतिवेदन बुझाउने गरी काम गरिरहेका छौं,’ उनले भने ।
यसैबीच सांसद श्रेष्ठको अर्को अडिओ टेप पनि सार्वजनिक भएको छ।
आइतबार मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रूपैयाँ मागेको अडिओ सार्वजनिक भएपछि सोमबार उनको अर्को टेप सार्वजनिक भएको हो। दुवै अडिओ कपुरबोट टिभीले सार्वजनिक गरेको हो।
ढाकाकुमारले आइतबारको अडिओ सार्वजनिक भएपछि सोमबार दुर्गा प्रसाईंका टिममा रहेका व्यक्ति यदु गौतमलाई फोन गरेको कपुरबोटले उल्लेख गरेको छ।
तपाईको प्रतिक्रिया