के सारो आपत् यो जिन्दगानीमा…

पोखरा ।
गाउँघरमा काम नहुँदा खाडी, युरोप, अमेरिकादेखि भारत पस्नेको संख्या बढ्दो छ । व्यवस्था फेरिए पनि जनताको अवस्था उस्तै छ । कतै मिटरब्याजको पीडा छ, कतै जातीय भेदभाव । नयाँ नयाँ सरकार र मन्त्रीहरु फेरिइरहेका छन्, भूईमान्छेका कथा भने उस्तै छन् । दैनिकी चलाउने मुस्किल छन् । गायक जीवन शर्माको चर्चित गीत छः
कोही साथी टिष्टापारि कोइलाको खानी
कोही साथी सिठी फुक्दै कन्याकुमारीमा
हत्केलामा ज्यानमा ज्यान राखी समुद्रको पानीमा
के सारो आपत् यो जीन्दगानीमा
नेपालीको अहिलेको विवशता बोल्नै यस्तै यस्तै गीत पोखरामा आज सुनाउँदै छन् जनकलाकारहरु । जीवन शर्मासहित २३ कलाकारले मंगलबार जनताका पीडा, देशको अवस्था र नेतृत्वलाई खबरदारी गर्दै गीत सुनाउँदै छन् । राष्ट्रका लागि संगीत अभियात्राअन्तर्गत कार्यक्रमका लागि अभियात्राको टोली पोखरा आइसकेको छ ।
सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा गायक जीवन शर्मा आशावादी नै सुनिए । लामो समय राजनीतिक दलमा आवद्ध उनी अहिले कुनै पार्टीमा छैनन् । स्वतन्त्रै भए पनि उनी जनवादी कलाकारको मोर्चाको अग्रभागमा अभियानमै छन् ।
उनी भन्छन्, ‘देशको अर्थतन्त्र संकटमा छ, संस्कृतिमा विकृति हावी भएका छन् । यस्तो बेला जनतामा उत्साह भर्न अभियान चलाएका छौं ।’ उनले कम्युनिस्ट पार्टीकै नेता र नेतृत्वमा देखिएका कमजोरीमाथि गीत, संगीतबाटै खबरदारी गरिने सुनाए ।
अभियानमा न कुनै आयोजक छ, न कुनै अध्यक्ष र प्रमुख अतिथि हुन्छन् । शर्मा भन्छन्, ‘यो यात्रामा सबै जसो वामपन्थी दलका साथीहरु हुनुहुन्छ । जिल्ला जिल्लाका पार्टीका नेतृत्वलाई सके सहयोग गर्नुस् भनेका छौं । सहयोग नगरे पनि हाम्रो कार्यक्रमको समीक्षा गर्नेगरी हेर्नसम्म त आइदिनुस् ।’
जनवादी गीतमार्फत एकताको सन्देश दिन ४ चैत ४ मा धनगढीबाट संगीत यात्रा सुरु भएको हो । मंगलबार पोखरामा हुने अभियानको १० औं कार्यक्रम हो । वैशाख ५ मा काठमाडौंमा सबै शीर्ष नेताको उपस्थितिमा पहिलो चरणको यात्रा समापन गर्ने गायक शर्माले सुनाए ।
अभियानका सदस्य चिरन सीले राष्ट्र र राष्ट्रियता कठिन अवस्था पुग्दा जनकलाकारहरु एकै ठाउँमा उभिएर अभियान चलाएको जनाए । उनी भन्छन्, ‘वामपन्थी शक्तिहरुलाई एक ठाउँमा ल्याउन, राजनीतिक र सांस्कृतिक क्रान्ति पूरा गर्न यस्ता अभियानले सघाउँछन् ।’
राजनीति परिवर्तन र जनतामा चेतना जगाउन भूमिका खेल्ने कलाकारहरु सामान्य अवस्थामा उपेक्षित भएको उनी बताउँछन् ।
उनी भन्छन्, ‘पञ्चायत, जनयुद्ध, जनआन्दोलन र विभिन्न कालखण्डमा जनतालाई जगाउने कलाकारहरु अहिले उपेक्षित छन् ।
कला प्रस्तुतिसँगै रगत बनाउनेहरुलाई अहिले जीविका चलाउनै सकस छ ।’ जनकलाकारहरु अहिले आफ्ना अप्ठेरा थाती राख्ने जनताको कठिनाइ चित्रण र नेतृत्वलाई खबरदारी गर्न अभियानमा जुटेको उनले सुनाए ।
तपाईको प्रतिक्रिया