आलु महोत्सवमा किसानका सवाल, विज्ञको जवाफ

पोखरा ।
हेमजामा जारी ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव अन्तर्गत सोमबार कृषक र विज्ञबीच अन्र्तक्रिया भएको छ ।
पोखरा महानगरपालिका कृषि महाशाखाको सहजीकरणमा भएको कार्यक्रममा किसानले भोग्नुपरेका अप्ठ्यारा, कृषि उत्पादन तथा बजारीकरण सम्बन्धमा देखिएका विभिन्न समस्या एवं चुनौतीबारे छलफल भएको छ ।
वरिष्ठ वाली संरक्षण अधिकृत शालिकराम अधिकारी, आलु विज्ञ श्यामप्रसाद ढकाल, कृषि महाशाखा प्रमुख मनोहर कडरिया, कृषि अनुसन्धान निर्देशनालय लुम्लेका प्राविधिक अधिकृत चन्द्रकान्ता तिमिल्सिना, हेमजाका अग्रज कृषक चित्रनाथ पौडेल लगायतले किसानका समस्या र जिज्ञाशाको जवाफ दिए ।
कृषि महाशाखा प्रमुख मनोहर कडरियाँले एमएस् ४२ जातको नीलो आलु हेमजाको पहिचान भएको उल्लेख गर्दै पछिल्लो भूउपयोग नियमावली अनुसार हेमजामा कृषि भूमी घट्नु दुखद् भएको औँल्याए ।
आलु विज्ञ श्यामप्रसाद ढकालले आफ्नो पहलमा एमएस् ४२ जातको आलुलाई राज्यले सूचीकरण गरेको दावी गरे । कृषि अनुसन्धान निर्देशनालय लुम्लेका प्राविधिक अधिकृत चन्द्रकान्ता तिमिल्सिनाले हेमजामा आलु खेती गर्ने जमिन घटेको भए पनि उत्पादकत्व भने वृद्धि हुँदै गएको सुनाए ।
महोत्सवमा सोमबार लोकदोहोरीतर्फ रचना रिमाल, मञ्जु विक, अमर धिताल, नवराज अधिकारी र दुर्गा क्षत्री साथै पपतर्फ टुकी, सन्तोष बस्याल र बबी सुनारले प्रस्तुति राखे । मंगलबार लोकदोहोरीतर्फ शिव हमाल, शिवहरि ढुंगाना र तुलसा क्षेत्री साथै पप कन्सर्टतर्फ उमेश, सञ्जीव सिंह र ओम गुरुङका प्रस्तुति रहने आयोजकले जनाएको छ ।
महोत्सवमा प्रतिकिलो ३५ रुपैयाँमा आलुको कारोबार भइरहेको छ । महोत्सवभरि ४० टन आलु बिक्री हुने आयोजकको अपेक्षा छ ।
महोत्सवमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन तथा प्रशिक्षण, माटो, बोटविरुवाको परीक्षण तथा रोगको निधान, कृषिसम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, विभिन्न कृषि उपज, विउ विजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार लगायतका कार्यक्रम हुँदै छन् ।
तपाईको प्रतिक्रिया