नयाँ वर्षमा माउन्टेन बाइक रेस

समाधान संवाददाता २०७९ चैत २८ गते १५:३८

पोखरा ।
नयाँ वर्ष २०८० को अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर २ मा छैटौं भुर्जुङखोला तातोपानी पर्वतीय साइकल दौड (माउन्टेन बाइक रेस) प्रतियोगिता गर्न लागिएको छ । ग्रीनफोर्स युवा समूहको १५ औं वार्षिकोत्सवको सन्दर्भमा प्रतियोगितासहित विविध खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रम गर्न लागेको समूहका अध्यक्ष रामप्रसाद गुरुङले बताए ।

Advertisement

भुर्जुङखोला क्षेत्रको भौगोलिक स्थान र प्राकृतिक सम्पदा रीतिरिवाज, रहनसहन र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले ‘भुर्जुङखोला जाऔं, नयाँ वर्ष मनाऔं, आन्तरिक तथा वाह्य पर्यटनलाई टेवा पुर्‍याऔं’ भन्ने नाराका साथ नयाँ वर्ष मेलासहित कार्यक्रम गर्न लागिएको हो ।

जलवायु परिवर्तनले पर्ने असरलाई न्यूनीकरण गर्न पीपल प्रवद्र्धनको अभियान गरेको समूहले वातावरण जोगाउन धूवाँरहित साइकल चढ्न प्रेरित गर्ने योजनाका साथ नयाँ वर्षको दिन दौड प्रतियोगिता गर्न लागेको अध्यक्ष गुरुङले बताए ।

‘वातावरण संरक्षणको क्षेत्रमा काम गर्दै आएको समूहले पीपल वृक्ष प्रवद्र्धन, प्राकृतिक स्रोतको संरक्षण। सरसफाई जस्ता रचनात्मक काम गर्दै आएको छ,’ समूहका अध्यक्ष गुरुङले भने, ‘वायु मण्डलमा औद्योगिक क्रान्तिले गर्दा दिन प्रतिदिन धूवाँ, धुलोले पृथ्वीको तापक्रम बढ्दै गएको अवस्थामा वातावरण जोगाउन धुवाँरहित साइकल चढ्न प्रेरित गर्न कार्यक्रम गर्न लागिएको हो ।’

प्रतियोगिता संयोजक माधव आचार्यले पोखरा १९ लामाचौरबाट सुरु हुने दौड भुर्जुङखोला, चौर, तातोपानी, धिप्राङ टुसे, घाचोक, लाहाचोक, खोराकोमुखबाट फर्किएर पुरञ्चौरको भारतीभवन माध्यमिक विद्यालय हुँदै भुर्जुङखोलामा आएर समापन हुने जानकारी दिए । उनले पर्वतीय साइकल दौडले माछापुच्छ्रे गाउँपालिकाका ८ वडा र ५० किमी दूरी तय गर्ने बताए ।

Advertisement

साइकल दौडका विजेताले ३० हजार, उपविजेताले २० हजार, तृतीय हुनेले १० हजार र सान्वना पुरस्कार ५ हजार पुरस्कार प्राप्त गर्ने छन् । दौड अन्तर्गत गण्डकी प्रदेश स्तरमा प्रथम, द्वितीय, तृतीय र सान्वना स्थान प्राप्त गर्नेले क्रमशः १०, ७, ५, ३ हजार नगद पुरस्कार पाउने संयोजक आचार्यले बताए । महिलातर्फ प्रथम, द्वितीय, तृतीय र चौथो स्थान प्राप्त गर्नेले क्रमशः ५, ३,२, १हजार नगद पुरस्कार पाउने छन् ।

माछापुच्छ्रे गाउँपालिका वडा नम्बर २ का अध्यक्ष गणेश आचार्यले ५ दिनसम्म सञ्चालन हुने पर्वतीय साइकल दौडसहितको नयाँ वर्ष मेलामा पुरुष तथा महिला भलिबल प्रतियोगिता, भेट्रान भलिबल, छेलो, म्युजिकल चेयर लगायतका कार्यक्रम सञ्चालन गरिने जानकारी दिए ।

पुरुष भलिबलको विजेताले ९९ हजार ९ सय ९९, द्वितीयले ५५ हजार ५ सय ५५ नगद पुरस्कार पाउनेछन् । भुर्जुङखोलाको गैरा चौतारामा हुने मेलामा लोक दोहोरी, पप कन्सर्ट, विभिन्न सांस्कृतिक कार्यक्रम र स्थानीय झाँकी प्रदर्शन गर्ने कार्यक्रम छ ।

करिब १ लाखले अवलोकन गर्ने मेला गर्नका लागि २४ लाख ७० हजार खर्च लाग्ने समूहका अध्यक्ष गुरुङले जानकारी दिए ।

कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका उपनियन्त्रक लोकनाथ आचार्य, ग्रीनफोर्स युवा समूहका सचिव देवेन्द्र भुजेल र समूहका सदस्य मीरा आचार्यले बोलेका थिए ।

तपाईको प्रतिक्रिया