ईन्द्रसिंह म्याग्दीमा सम्मानित

समाधान संवाददाता २०७९ चैत २८ गते १७:०१

जोमसोम ।
राष्ट्रिय गौरवको बेनी जोमसोम ७६ किमी सडकमा कुनै पनि बेला यात्रुलाई समस्या र अप्ठ्यारो पर्दा तुरुन्तै उद्दार तथा सेवा खटिँदै आएका ईन्द्रसिंह शेरचन सम्मानित भएका छन् । उनलाई सोमबार म्याग्दीको अन्नपूर्ण ७ घराम्दीमा सम्मान गरिएको छ ।

Advertisement

अन्नपूर्ण अध्यक्ष कप भलिबल प्रतियोगिता उद्घाटन कार्यक्रममा म्याग्दीबाट निर्वाचित संघीय सांसद खम्बिर गर्बुजाले शेरचनलाई सम्मान गरेका हुन् । शेरचनको घर मुस्ताङको थासाङ गाउँपालिका २ नाउरिकोटमा पर्छ । उनी बेनी जोमसोम सडकका सुपरभाइजर हुन् । उनी ट्रेकिङ गाइड र होटल व्यवसायी पनि हुन् ।

अन्नपूर्ण गाउँपालिका म्याग्दीले शेरचनको योगदानको मूल्यांकन गर्दै अन्नपूर्ण कप भलिबल प्रतियोगिताको अवसरमा सम्मान गरेको हो ।

यसअघि पनि बर्खायामको समयमा बेनी–जोमसोम सडकमा बाढी, पहिरो र नदी कटानले पटक पटक सडक अवरुद्ध हुँदा शेरचन यात्रु उद्दारमा निरन्तर खटिने गरेका छन् । उनले सडकमा जाममा परेका सवारीलाई सहजीकरण गर्ने, अवरुद्ध सडक खुलाउन पहल गर्नेसमेत गरेका छन ।

मुस्ताङको थासाङ २ को सानुसरे पहाडमा जहाज दुर्घटना हुँदा उनी निरन्तर उद्दारमा खटिएका थिए । आइतबार मुस्ताङको धौलागिरी बेस क्याम्पमा भएको एभरेस्ट एअरको हेली दुर्घटनापछि पनि उनी उद्दारमा खटिएका थिए । म्याग्दी र मुस्ताङमा कुनै विपदका घटना हुँदा शेरचन सम्झिइन्छन् ।

Advertisement

अन्नपूर्ण अध्यक्ष कप भलिबल प्रतियोगिता वैशाख १ गतेसम्म चल्ने तालिका छ ।

तपाईको प्रतिक्रिया