पाेखराका जनप्रतिनिधिसँग उपभोक्ता हित सचेतना अन्तरक्रिया

पोखरा ।
उपभोक्ता हित सचेतना सम्बन्धमा उपभोक्ता मञ्च, सहकारी तथा उद्योगका प्रतिनिधि र जनप्रतिनिधिबीच अन्तरक्रिया भएको छ । पोखरा महानगरपालिका सहकारी तथा उद्योग शाखाको आयोजना तथा उपभोक्ता मञ्च गण्डकीको समन्वयमा मंगलबार कार्यक्रम भएको हो ।
आयोजकका अध्यक्ष भरतराज पौडेलले उपभोत्तालाई सचेत गराउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताए । आफ्नो टोलका उपभोक्तालाई सचेत बनाउन जनप्रतिनिधिकाे भूमिका महत्वपूर्ण रहने हुँदा अन्तरक्रिया प्रभावकारी हुने उनको भनाइ छ । व्यवसायीले अझैपनि विभिन्न किसिमले ठग्ने गरेको र उपभोक्ता ठगिने गरेको भन्दै स्थानीय तह र सम्बन्धित निकायले विशेष चासो राख्नुपर्नेमा उनले जोड दिए ।
सरकारले बजार अनुगमनको अधिकार दिए पनि कारबाही कार्यन्वयनको अधिकार नदिँदा उपभोक्ता ठगिनुपरेको पोखरा महानगरपालिकाका उपमेयर मञ्जुदेवी गुरुङको भनाइ छ । बजार अनुगमनका कारणले कालोबजारी तथा मुल्यवृद्धि नियन्त्रणमा सहयोग पुगेको गुरुङले बताइन् । अखाद्य तथा म्याद नागेका वस्तु बेचबिखन गर्नेलाई कारबाहिको दायरामा ल्याउने उनले प्रतिबद्ध गरिन् ।
उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपिलनाथ कोइरालाले उपभोक्ताको सचेतना नै उपभोक्ताको अधिकार र हित संरक्षण गर्ने सबैभन्दा प्रभावकारी उपाय भएको बताए । उनले सबै मानिस उपभोक्ता भएकाले सरकारी, गैरसरकारी निकाय र आम नागरिक नै यसबारे सचेत हुनुपर्नेमा जोड दिए । अझैपनि उपभोक्ता नजानेर र नबुझेरै ठगिने गरेको भन्दै सचेतनाको अझै आवश्यक रहेको र उपभोक्ता आफैमा सचेत हुन जरुरी रहेको उनको भनाइ छ ।
कार्यक्रममा व्यावसायीहरुमा प्राविधिक ज्ञानको आवश्यकता रहेको साथै व्यवसाय दर्ता, नवीकरण, विक्री सामानको बिल काट्नु पर्ने तथा खरिद सामानको बिलहरु सुरक्षित रुपमा राख्न समेत आग्रह गरिएको थियो । कार्यक्रममा सहभागीले अबदेखि उत्पादन मिति, उपभोग्य मिति, गुणस्तर हेरेरमात्र सामान खरिदविक्री गर्ने बताए । साथै आफू ठगिएको महसुस भएमा वा कालोबजारीको संका लागेमा उजुरी गर्ने पनि बताए ।
कार्यक्रममा पोखरा महानगरका वडा नम्बर ९ देखि २५ का जनप्रतिनिधिको सहभागी थियो । कार्यक्रममो तेस्रो चरणमा वडा नम्बर २६ देखि ३१ का वडासदस्यसँग अन्तरक्रिया गरिने बताइएको छ । वडा नम्बर एक देखि आठ सम्मका जनप्रतिनिधिसँग पहिलो चरण अन्र्तगतको अन्तरक्रिया कार्यक्रम भइसकेको छ ।
तपाईको प्रतिक्रिया