खोरभित्रै हिमचितुवाको त्रास

सुन्दरकुमार थकाली २०७९ चैत २९ गते १०:२८

जोमसोम ।
मुस्ताङमा हिमचितुवा र मान्छेको संघर्ष बढ्दो छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनामा निवेदन पेश भएका पशु क्षतिको तथ्यांक हेर्दा गत वर्षभन्दा यसपालि क्षतिको मात्रा निकै ठूलो छ ।

Advertisement

मुस्ताङ राष्ट्रिय प्रकृति संरक्षित कोष, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना अन्तर्गत पर्छ । मुस्ताङका पशुपालक याकचौरी र भेडाच्यांग्रा पालन व्यवसाय गर्छन् । उच्च लेक तथा खर्कहरुमा गोठै बनाएर याकचौरी र भेडाच्यांग्रा पाल्ने किसानलाई पछिल्लो समय हिमचितुवाको त्रास छ ।

हिमचितुवा चरन क्षेत्र र गोठैसम्म आएर पशुचौपायामाथि आइलाग्ने गरेको छ । यसले बर्सेनि पशुमाथि आक्रमण गरी क्षति पुर्‍याउँदा यहाँ पशुपालन व्यवसाय नै संकटमा पर्न सक्ने किसानहरु बताउँछन् ।

उच्च लेकमा सुरक्षित चरन क्षेत्र र पशु राख्ने उचित पूर्वाधार नहुँदा पनि हिमचितुवाको त्रास बढेको हो । चालु वर्ष मुस्ताङका ८ किसानले हिमचितुवाले क्षति गरेको भन्दै अन्नपूर्ण संरक्षित क्षेत्र आयोजना (एक्याप)मा क्षतिपूर्तिका लागि निवेदन दिएका छन् ।

एक्याप जोमसोम प्रमुख अशोक सुवेदीले किसानलाई प्रक्रिया पुर्‍याएर मापदण्ड अनुसार राहत उपलब्ध गराइने बताए । थासाङ २ का लक्षिणप्रसाद गौचनका २ वटा याकचौरी हिमचितुवाले गोठमै पसेर मार्‍यो । गएको साउन २१ गते र भदौ ३१ गते हिमचितुवाले याकचौरी मारेको हो ।

Advertisement

थासाङ २ नाउरीकोटका सकेन्द्र गौचनका पनि २ याकचौरी हिमचितुवाका शिकार बने । फागुन २५ गते हिमचितुवाले सकेन्द्रका याकचौरी मारेको हो । नाउरिकोटकै अर्का किसान प्रदीप गौचनका २ याकचौरी पनि हिमचितुवाले सकेन्द्रकै चौरी मारेको दिन मारेको थियो ।

हिमचितुवाले चरन र पशुको गोठ/खोरसम्म आएर मार्ने क्रम बढ्दा किसान पलायन हुने खतरा

यस्तै, थासाङ २ बोक्सी खोलाका किसान भीमप्रसाद थकालीका ४ पशुसमेत हिमचितुवाले खाइदियो । थासाङ २ कोवाङका याकचौरी पालक जयराम पुन पनि यो वर्ष मारमा परे । चैतमा उनका ३ याकचौरी हिमचितुवाले मारिदियो । थासाङकै कृष्णलाल भट्टचनका ४ वटा र गौतम शेरचनको १ याकचौरी पनि मारिए । जोमसोमका वीरबहादुर घर्तीले पालेका याकचौरी पटक पटक गरी ४ वटा हिमचितुवाले खाइदिएको छ ।

वारागुङ मुक्तिक्षेत्र् ३ चैलेका भेडाच्यांग्रा पालक ताक्ला गुरुङका १२ वटा च्यांग्रा हिमचितुवाले मारिदियो । यो मंसिर १९ गतेको घटना हो । वारागुङ मुक्तिक्षेत्र ३ ताङ्वेका च्यांग्रा पालक करन गुरुङ ताङ्वेको पनि केही च्यांग्रा पुस १९ गते हिमचितुवाले खाइदियो । वारागुङ ४ तिरी घर भई हाल जोमसोममा बस्ने सानु कान्छा गुरुङका २ वटा च्यांग्रा पनि हिमचितुवाको आक्रमणबाट मरेको एक्याप जोमसोमले जनाएको छ ।

अघिल्लो वर्षको तुलनामा हिमचितुवाको बिमाख निकै बढेको एक्यापको तथ्यांकले देखाउँछ । गत वर्ष घरपझोङ गाउँपालिकाका ३ पशुपालकले राहत माग्दै निवेदन दिएका थिए । गत वर्ष घरपझोङ ४ जोमसोमका मनोज विकका ५ वटा च्यांग्रा, घरपझोङकै ङिमा सम्टु गुरुङका २ वटा, घरपझोङ ४ का सुनील नेपालीका ५ वटा च्याग्रा र घरपझोङकै पाल्साङ गुरुङका १ झोपा हिमचितुवाले मारेको थियो ।

अन्य पालिकाबाट भने राहतका लागि निवदेन परेको थिएन । हिमचितुवाबाट क्षति व्यवहोरेका मनोज विकले ३६ हजार, ङिमा सम्टु गुरुङले १४ हजार, पाल्साङ गुरुङले २४ हजार र सुनील नेपालीले १७ हजार राहत पाएका थिए । संरक्षित क्षेत्र मुस्ताङमा हिमचितुवा र मानवको संघर्ष बर्सेनि बढेको देखिन्छ । क्षति भए पनि पशुपालकहरु राहतका लागि निवेदन लिएर एक्यापमा नआउने गरेको एक्याप जोमसोम कार्यालय प्रमुख सुवेदी बताउँछन् । राहतका लागि निवेदन पेश गर्ने प्रक्रिया झन्झटिलो नभएको उनको भनाइ छ ।

वन्यजन्तुको आक्रमणबाट पशुधन क्षति व्यवहोरेका पशुपालकले सम्बन्धित संरक्षण व्यवस्थापन समितिको सिफारिस, स्थानीय तह वा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको सिफारिसका साथ निवेदन पेश गर्नुपर्छ । यसरी निवेदन पेश हुँदा जिल्लाको पशु भेटेरिनरी अस्पतालले क्षति मूल्यांकन गर्छ ।

संरक्षित क्षेत्रमा वन्यजन्तु क्षतिको राहत सहयोग सिफारिस समिति एक्यापले गठन गरेको हुन्छ । एक्याप कार्यालय प्रमुखको संयोजकत्वमा सम्बन्धित जनप्रतिनिधि, वडा कार्यालय, भेटेनरी अस्पताल र संरक्षण व्यवस्थापन समिति सदस्य रहेको समितिले राहतको निर्णय गर्छ । वन्यजन्तुबाट भएको क्षतिको राहत सहयोग निर्देशिका तेस्रो संशोधन २०७५ को दफा ६ को (ख) बमोजिम तोकिएको राहत उपलब्ध गराइने एक्यापले जनाएको छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया