सम्पादकीयः विदेश उडानको व्यवस्था गर

पोखरामा निर्माण गरिएको पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई सरकारले सन् २०२३ जनवरी १ (पुस १७)देखि व्यवसायिक हिसाबले सञ्चालन गरेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएको ४ महिना नाघिसकेको छ । विमानस्थलबाट अझैपनि अन्तर्राष्ट्रिय उडान अझै सुरुवात हुन सकेको छैन । विमानस्थल आन्तरिक उडानमामात्र सिमित छ ।
देशबाहिर उडान आरम्भ नभएपछि पोखरा पर्यटन परिषदको नेतृत्वमा पयर्टन व्यवसायीले अन्तर्राष्ट्रिय उडान थाल्न नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेर तत्काल यसका लागि कूटनीतिक पहल थाल्न आग्रह गरेका छन् । पोखराका व्यवसायीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडानका निम्ति भारत र चीन भ्रमणको आफ्नो प्रमुख एजेन्डा बनाउन प्रधानमन्त्री दाहाललाई अनुरोध समेत गरेका छन् ।
विमानस्थलबाट अन्तर्राष्ट्रिय व्यवसायिक उडानका लागि हवाई कम्पनीहरूले अनुमति पाउनु पर्छ । निजी हवाई कम्पनी बुद्ध एयरले विमानस्थल सञ्चालनमा आएसँगै पोखराबाट भारतको बनारसमा पहिलो उडान गर्ने घोषणा गरेको थियो । जजिरा, थाई स्माइल, कतार, फ्लाई दुबई लगायतका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय एयरलायन्स कम्पनीहरूले पोखराबाट अन्तर्राष्ट्रिय उडानको लागि चासो देखाएका छन् ।
नेपाल सरकारले हवाई कम्पनीलाई अन्तर्राष्ट्रिय उडानको लागि अनुमति दिनु पर्छ । पोखराबाट भारत र चीनको शहरसँग हवाई सम्पर्क कायम गर्नको लागि कुटनीतिक पहल गरी रुट अनुमति लिनु पर्छ ।
अहिले पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनसँगै हवाई कनेक्टिभिटी बढाउनेदेखि क्षेत्रीय स्तरमा हुने उडानलाई बढाउने मात्र काम भएको छ । रात्रीकालिन उडान सुरु गरी सातै प्रदेशका मुख्य शहरसँग हवाई सम्पर्क स्थापित गर्ने पहल गरिएको छ ।
पोखरालाई विभिन्न प्रदेशसँग हवाई मार्गबाट जोड्न क्षेत्रीय उडान थालिएको छ । काठमाडौंको पहिलो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालित भएको ७० वर्षपछि नेपालले रुपन्देहीको भैरहवामा दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरेको छ । नेपालको तेस्रो नयाँ विमानस्थलले पोखरा तथा आसपासको पर्यटन प्रवद्र्धनका अलवा अर्थतन्त्रलाई चलायमान बनाउन मद्दत पुग्ने छ । त्यसैले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने व्यवस्था छिटो गर्नु पर्छ ।
नेपाल एयरलाईन्स पूर्ण व्यवसायिक बनाई आन्तरिक र अन्तराष्ट्रिय उडानहरु सञ्चालन गर्न अवश्यक जहाजहरु खरिद गरिनुपर्ने हुन्छ । नेपाल सरकारले भारत र चीन सरकार समक्ष हवाई रुट स्वीकृति लिन कुटनीतिक पहल गर्न ढिलाई गर्नु हुदैन ।
विमानस्थलले पोखरा विमानस्थलबाट उडान गर्नको लागि धेरै भन्दा धेरै अन्तर्राष्ट्रिय एयरलाइन्सलाई आकर्षित गर्नको लागि योजनाबद्ध ढंगले काम गर्नु पर्छ । पोखरा र समग्र नेपालकै अर्थतन्त्र तथा पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने भएकोले विमानस्थल निर्माणमात्र होइन, आवश्यक बजारीकरण गरी सञ्चालन र व्यवस्थापनलाई दिगो र भरपर्दो बनाइनु पर्छ ।
तपाईको प्रतिक्रिया