संक्रामक अस्पतालमा मेडिकल हिस्ट्री रेकर्ड सिस्टम

भीमपाणि बराल २०७९ चैत ३० गते १०:३०

लेखनाथ ।
बिरामी परेर बारम्बार अस्पताल गइरहनुपर्‍यो र बारम्बार उही कुरा फरक फरक डक्टरलाई दोहोर्‍याइरहन पर्‍यो भने निकै झन्झट हुन्छ । आफ्नो स्वास्थ्यको इतिहास भन्दाभन्दै बिरामी पर्न सकिन्छ । कति कुरा त आफै पनि भुलिन्छ । र अर्काे कुरा कतिपय स्वास्थ्य जाँचका प्राविधिक नतिजा बिरामी स्वयंलाई थाहा हुँदैन ।

Advertisement

पोखरा ३० मोहोरियास्थित सरुवा रोग तथा संक्रामक अस्पतालले भने एकपटक आएको बिरामीको मेडिकल हिस्ट्री आफै सुरक्षित गरिदिने व्यवस्था थालेको छ ।

बिरामी भएर अस्पताल भर्ना भएदेखिस्वास्थ्य अवस्था र उसले प्रयोग गरेको औषधीहरुको सम्पूर्ण विवरण अस्पतालमा भएपछि बिरामी अर्काे पटक जाँदा पुरानै कागजात हेरेर उपचार पाउँछन् ।

थप उपचारका लागि अन्य अस्पतालमा रिफर हुँदासमेत सोही रेकर्डका आधारमा उपचार गर्न सकिने व्यवस्था अस्पतालले मिलाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. विकास गौचनका अनुसार सबै बिरामीको रेकर्ड विद्युतीय अर्थात डिजिटल प्रविधिमा राखिनेछ ।

बिरामी इतिहास के हो, कुनकुन जाँच भइसक्यो, केके औषधि दिइएको थियो लगायत विवरण अस्पतालमै सुरक्षित रहने

Advertisement

विश्व स्वास्थ्य संगठनको सहयोगमा अस्पातालले बुधबारदेखि इलेक्ट्रोनिक मेडिकल रेकर्ड सुविधा सुरु गरेको हो । नेपालमा नै पहिलोपटक गण्डकी प्रदेश सरकारले अगाडि सारेको नयाँ प्रविधिको शुभारम्भ गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गरे ।

त्यस अवसरमा मुख्यमन्त्री अधिकारीले अब नयाँ युगमा प्रवेश गरेकाले बिरामी भएदेखिको मेडिकल रेकर्ड राखेर उपचार गर्नु सबैका लागि सजिलो हुने विश्वास व्यक्त गरे । ‘कामलाई कसरी सजिलो गर्ने र यसलाई कसरी जीवन्तता दिने भन्ने सवालमा प्राविधिक ज्ञान तथा सिपको प्रयोग गरी अगाडि बढ्नुपर्छ,’ उनले भने ।

सोही अवसरमा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट गौचनले संक्रामक तथा सरुवा रोग अस्पतालबाट सुरु भए पनि यो प्रविधिलाई गण्डकी प्रदेश सरकार अन्तर्गतका ११ जिल्लाका १२ वटा अस्पतालहरुमा नै लागु गर्नुपर्नेमा जोड दिए । ‘अझ यसलाई देशव्यापी बनाउनुपर्छ,’ उनले भने ।

कार्यक्रममा सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङले बिरामीको स्वास्थ्य अवस्थाको सम्पूर्ण विवरण रेकर्ड भएपछि बिरामीका कागजपत्र हराउने डर नहुने विश्वास व्यक्त गरे । ‘बारम्बार एकै सोही प्रकृतिको जाँच गरिरहनुपर्ने अवस्था पनि अन्त्य हुनेछ,’ उनले भने, ‘अब बिरामीले थप हैरानी बिना नै उपचार गर्न पाउनुहुनेछ ।’

संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन तथा सञ्चालक समितिका अध्यक्ष प्राडा कृष्णप्रसाद पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा विश्व स्वास्थ्य संगठनका नेपाल प्रतिनिधि डा. राजेश साम्वाजी राउ पाण्डवले बिरामी परेको व्यक्तिलाई एउटै प्रविधि र प्रक्रियाबाट उपचार गराउन सहज होस् भनी बिरामी भएदेखिको इतिहासलाई अद्यावधिक गर्ने विधिलाई विश्वव्यापी बनाउन खोजिएको धारणा राखेका थिए । कार्यक्रममा अस्पताल सञ्चालक समितिका सदस्य मेजर रामप्रसाद गुरुङले स्वागत मन्तव्य राखेका थिए ।

यसैबीच यो नयाँ प्रविधिको सबै ठाउँमा प्रयोगमा ल्याउने उद्देश्यले बुधबारदेखि नै गण्डकी प्रदेश सरकार अन्तर्गतका १२ वटा अस्पतालका तीनजना स्वास्थ्यकर्मीहरुका लागि इलेक्ट्रोनिक मेडिकल रेकर्ड कार्यशाला गोष्ठी पनि सुरु गरिएको छ ।

भीमपाणि बराल

बराल समाधान दैनिक र समाधानन्युज डटकमका लागि लेखनाथ ब्युरोचिफ हुन् ।

तपाईको प्रतिक्रिया