कास्कीका ४ पत्रकार पुरस्कृत

पोखरा ।
नेपाल पत्रकार महासंघ कास्कीले महासंघको संस्थागत विकास तथा पत्रकारितामा क्रियाशील ४ पत्रकारलाई बुधबार सम्मान गरेको छ । पत्रकार महासंघको ६८ औं स्थापना दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले ती पत्रकारलाईसम्मान तथा पुरस्कार प्रदान गरे ।
पत्रकार महासंघद्वारा स्थापित पोखरा पत्रकारिता सम्मान २०७७ बाट पत्रकार नवीन सिग्देल र संस्थागत सम्मान २०७८ बाट लक्ष्मी हाउसलाई सम्मानित भएका छन् । पत्रकार सिग्देललाई नगद ३५ हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको छ ।
टंकादेवी–तुलसीप्रसाद पत्रकारिता पुरस्कार २०७८ बाट पत्रकार भूपाल गुरुङलाई सम्मान गरिएको छ । सो पुरस्कारको राशि २० हजार १ सय ११ रुपैयाँ र सम्मानपत्र छ । जगन्नाथ सिग्देल युवा प्रोत्साहन पुरस्कार २०७८ बाट पत्रकार गौरव त्रिपाठी र २०७९ बाट पत्रकार दुर्गा राना पुरस्कृत भएका छन् ।
जगन्नाथ सिग्देल युवा प्रोत्साहन पुरस्कारको राशि नगद ११ हजार १ सय ११ रुपैयाँ र सम्मानपत्र छ । कार्यक्रममा गण्डकीका प्रदेश प्रमुख गुरुङले लोकतन्त्रको संस्थागत विकासमा पत्रकारको भूमिका उल्लेखनीय रहेको बताए । उनले पत्रकारले समृद्धि, विकास र जनताको अपेक्षा पूरा गर्न सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य सरिता तिमिल्सिना पंगेनी, पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी, पूर्व अध्यक्ष वद्रीविनोद प्रतीक र महासंघ कास्की निवर्तमान अध्यक्ष दीपेन्द्र श्रेष्ठ, कास्कीका उपाध्यक्ष रामप्रसाद तिमिल्सिना, सचिव माधव बराल, पत्रकारहरु नवीन सिग्देल, शोभाकान्त सिग्देल, भूपाल गुरुङ, दुर्गा राना लगायतले बोलेका थिए ।
तपाईको प्रतिक्रिया