नयाँ दलमा पुरानै रोग

समाधान संवाददाता २०७९ चैत ३० गते १२:००

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठको अडियो कान्ड अहिले चर्चामा छ । उनको साधारण सदस्यता रास्वपाले खारेज गरेको छ । पार्टी गठन भएको ६ महिनामै देशकै पाँचौ ठूलो दल बनेको रास्वपामाथि यो कान्डले अनेक प्रश्न उठाइदिएको छ ।

Advertisement

पार्टी सभापति रवि लामिछानेको कोर टिमलाई आफूले बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग श्रेष्ठले २ करोड रुपैयाँ माग गरेको अडियो सार्वजनिक भएको थियो । सार्वजनिक भएको अडियोको स्वर ढाकाको जस्तै छ । उही हो कि होइन, अब जाँच, पड्ताल पक्कै होला । देशभरिमै सबैभन्दा बढी मतान्तरले चुनिएर उपप्रधान र गृहमन्त्री बनेका रवि लामिछानेको पद नागरिकता कान्डले गुमेपछि त्यहाँ उपचुनाव हुँदै छ । उनको राहदानी प्रकरण बाँकी नै छ । यी र यस्ता कान्डले रास्वपाको छविमा धक्का पुगेको छ ।

पहिलो संविधानसभाबाट करिब बहुमतको आकारमा आएको माओवादी विस्तारै ओरालो लाग्यो । पटक पटकका टुटफुट र अनेक कान्डले त्यो पार्टीलाई निकै कमजोर अवस्थामा पुर्‍यायो । सँगसँगै उदाएको मधेसी जनाधिकार फोरम पनि बारम्बारको टुटफुट र सत्तामोहले अस्तित्व रक्षाकै मोडमा छ । यसपालिको निर्वाचनबाट उदाएका नयाँ दलमध्ये जनमत पार्टीले सरकारसँग समर्थन गरे पनि अहिले सत्ताबाहिर छ । रेशम चौधरीको पार्टीमा अनौठो दृश्य देखिएको छ ।

उनकी श्रीमती रञ्जिता श्रेष्ठ मन्त्री बनेकी छन्, रेशम जेलमै छन् । यो बीचमा उनको नागरिक उन्मुक्ति पार्टीमा पनि विभाजन आएको छ । नयाँ दलहरुलाई जनताले अनुमोदन गरेकै हुन्, मौका पनि दिएकै हुन् । तर अधिकतर दल पुरानै रोगबाट गस्त देखिएका छन् ।

ढाका रास्वपाबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य थिए । प्रचण्ड नेतृत्वको सरकार गठन हुने क्रममा एमालेसहितको तत्कालीन सत्ता गठबन्धनमा सहभागी रास्वपाले स्वास्थ्य मन्त्रालय पाउने र स्वास्थ्यमन्त्रीको जिम्मेवारी श्रेष्ठले पाउने, त्यसको लागि पार्टीको कोर टीमलाई अढाई करोड रुपैयाँ बुझाउनुपर्ने अडियो संवादमा उल्लेख छ ।

Advertisement

सोही रकम बुझाउन उनले व्यवसायी प्रसाईंसँग रकम माग गरेका थिए । मन्त्री बनेपछि प्रसाईंको व्यवसायका लागि काम गरिदिने र मन्त्रालयका अन्य काम प्रसाईंसँग मिलेर गर्ने श्रेष्ठले प्रतिबद्धता गरेको सुनिन्छ । यो संवादले नेपालका नेताहरु, मन्त्रि र सार्वजनिक ओहोदामा बस्नेहरु माथि प्रश्न उठाइदिएको छ ।

ढाकाले भनेको कुरा साँचो हो भने कोर टिम को हो, सार्वजनिक हुनै पर्छ । पत्रकारिता गर्दा होस् कि राजनीति अरुतिर कडा औंला उठाउने रवि लामिछानेको त्यसमा संलग्नता भए नभएको जनताले जान्न पाउनैपर्छ । गृहनगर पोखरामा सहकारी, अस्पताल क्षेत्रमा समेत विवादित बनेका ढाकाकुमारको ‘माननीय’ पदको दुरुपयोग र मन्त्री बन्ने असफल तिकडममाथि सार्वजनिक बहस र निष्पक्ष छानबिन जरुरी छ । रास्वपाको कारवाहीले मात्र उनलाई उन्मुक्ति दिन मिल्दैन ।

तपाईको प्रतिक्रिया