
पोखरेलीले कहिल्यै बिर्सन नहुने तर बिर्सिएका व्यक्तित्व हुन्ः स्वतन्त्रता सेनानी एवं शिक्षाप्रेमी प्रेमचैतन्य ब्रह्मचारी । वि.सं. १९९९ (सन् १९४२ मा) विधिवत पोखरा चिसाखोला ब्रह्मचर्याश्रमका संस्थापक हुन्–प्रेमचैतन्य । यसअघि पोखरा ३ नदीपुर नारायणस्थानमा गुरुकुल थियो भने १९५८ सालमा भीमकालीपाटनमा संस्कृत पाठशाला पनि खोलियो । पोखरा चिसाखोला वेद विद्याश्रम नेपालको राजनैतिक र शैक्षिक क्रान्तिको बिगुल फुक्ने संस्था हो ।
जसले नेसनल हाइ स्कुल, कन्या स्कुल र पृथ्वीनारायण कलेज जन्मायो । विशेष गरी पोखरामा राजनीतिक चेतना जगाउन कानो जोगीका नामले चिनिने रामानन्द (हरिप्रसाद) लाई संरक्षण गर्ने कार्य प्रेमचैतन्य ब्रह्मचारीबाट हुने गर्दथ्यो । ती जोगीले गाउँ गाउँमा राणा विरोधी प्रचार गर्ने गर्दथे र प्रजातन्त्रवादीलाई संगठित गर्दथे ।
प्रेमचैतन्य ब्रह्मचारी विद्वान थिए । संस्कृत, हिन्दी, अंंग्रेजी लगायत १२ भाषाका ज्ञाता । उनले धार्मिक प्रवचनका माध्यमबाट जनचेतना जगाए । उनी आफ्ना शिष्यहरुलाई लघुकौमदी, वेदशास्त्र, ज्योतिष लगायतका दर्शन पठनपाठन गराउथे । समग्र पोखरेलीका लागि पोखरा चिसाखोला आस्थाको केन्द्र बन्न पुगेको थियो । सबैको सहयोग लिएर आश्रमलाई भव्य र व्यवस्थित बनाए ।
उनलाई प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले संसदको उपल्लो सदन महासभाको सदस्य बनाएका थिए
प्रेमचैतन्यकाे विचारमा नागरिक अधिकार र कानुनी राज्य विना जनता र देशको समग्र विकास हुँदैन भन्ने थियो । २००७ साल फाल्गुन ७ गते प्रजातन्त्र प्राप्त हुनुअघि उनले स्थापना गरेको चिसाखोला आश्रम प्रजातन्त्रवादी नेताहरुको आश्रयस्थल नै थियो ।
जहाँ नेपाली कांग्रेसका वरिष्ठ नेता श्रीभद्र शर्मा, श्रीकान्त अधिकारी, विश्वबन्धु थापा, राजेश्वर देवकोटा, पं. ऋषिकेशव, सुन्दरप्रसाद मर्सानी, प्रेमराज मुल्मी, अमृतप्रसाद शेरचनहरु भेला हुने गर्दथे । प्रेमचैतन्य ब्रह्मचारीको सालिन व्यक्तित्वले सबैको मन जित्थे । उनी पोखरामा निकै लोकप्रिय थिए ।
वेदान्ती प्रेमचैतन्य ब्रह्मचारी भारतको उत्तराखण्डको अलमोडाबाट वि.सं. १९९७ साल पूर्व नेपाल आउनुअघि उनी सन्यासी बन्न चाहन्थे । उनले आफ्ना गुरुबाट सन्यास लिन खोज्दा गुरुले तिमीले अहिल्यै नै सन्यास लिने बेला भएको छैन । उनलाई वानप्रस्थी भएर समाजको सेवा गर्न त्यसपछि सन्यास लिन गुरुले भनेका थिए । नभन्दै त्यस्तै भयो । उनीपछि सन्यासी भएका थिए ।
२००७ सालको आन्दोलन सफल भएपछि प्रेमचैतन्य ब्रह्मचारी नेपाली कांग्रेस पश्चिम ३ नं. का सभापति भए । साथैसदस्यमा करुणानिधि कोइराला, पं. ऋषिकेशव पराजुली, सुन्दरप्रसाद मर्सानी, अमृतप्रसाद शेरचन, प्रेमराज मुल्मी आदि थिए । २०१२ सालमा भएको निर्वाचनमा नेपाली कांग्रेस क्षेत्र नं. ९९ को सभापतिमा प्रेमचैतन्य विजयी भए । सोही सालमा भएको वीरगन्ज राष्ट्रिय अधिवेशनमा प्रेमचैतन्यको नेतृत्वमा अन्य १४/१५ जनाले सहभागिता जनाएका थिए ।
०१४ सालमा मार्ग २२ बाट भएको भद्रअवज्ञा आन्दोलमा पनि प्रेमचैतन्य सक्रियतापूर्वक लागे । २०१५ सालमा भएको पहिलो आम निर्वाचनमा नेपाली कांग्रेसलाई ५ वटा क्षेत्रमा विजयी गराउने जिम्मा प्रेमचैतन्यले लिए । उनले जिम्मा लिएका पाँचै क्षेत्रबाट मीनबहादुर गुरुङ, श्रीकान्त अधिकारी, नरेन्द्रजंग गुरुङ, पदमबहादुर आले र श्रीभद्र शर्मा विजयी भए । उनको त्याग र योग्यताको कदर स्वरूप प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले संसदको उपल्लो सदन महासभाको सदस्य बनाए । उनी महासभामा आफ्नो भनाइ निकै तार्किक रुपमा राख्थे ।
२००७ सालतिर प्रसिद्ध विन्ध्यवासिनी मन्दिर सैनिकको कब्जामा थियो । उनी २००७ सालको अन्त्यतिर मन्दिरमा दर्शन गर्न जाँदा सैनिकले रोके । उनी मन्दिर सर्वसाधरणका लागि सहज पहुँचको विषय हुनुपर्छ भनेर आमरण अनसन बसे । उनलाई त्यस बेला सैनिकले नराम्ररी कुटेका थिए । पछि उनको माग पूरा भयो । बिन्ध्यवासिनीबाट सैनिक क्याम्प हट्यो । सबै भक्तजनका लागि मन्दिर खुला भयो ।
२०१७ पुस १ को घटनापछि पे्रमचैतन्य नेपालमा देखा परेनन् । भनिन्छ–उनी महात्मा बनेर धर्म, संस्कृतिको प्रचारमा लागेका थिए । जे होस् उनले स्थापना गरेका चिसाखोला आश्रमले अहिले ज्ञान र अध्यात्मको विशाल छहारी बनेको छ । उनको योगदान स्तूत्य र स्मरणीय छ ।

रवीन्द्र माकाजु
(माकाजु स्वतन्त्र लेखक हुन् )








अमृत गुरुङसहित ९ जनालाई पोखरा महानगरको नवरत्न सम्मान
दैनिक १ सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै
सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा
लेखनाथमा भोलिबाट महोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया