डुंगा दौडमा तालपारि समूह प्रथम

समाधान संवाददाता २०७९ चैत ३० गते १७:०४

पोखरा ।
पोखरामा जारी तीन दिने १८ औं फेवा नव वर्ष महोत्सव अन्तर्गत दोस्रो दिन बिहीबार फेवा तालमा आयोजित डुंगा दौड प्रतियोगितामा तालपारि समूह प्रथम भएको छ ।

Advertisement

बाराही घाट ‘ए’ द्वितीय भयो भने बाराही घाट ‘डी’ले तृतीय स्थान हासिल गरेको छ । गौरीघाट बी समूहले सान्त्वना स्थान प्राप्त गरेको छ । प्रतियोगितामा कूल आठ समूहले भाग लिएका थिए ।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका समूहले क्रमशः १५ हजार, १० हजार र ८ हजार रुपैयाँ पुरस्कार पाए । सान्त्वना पुरस्कारस्वरुप पाँच हजार रुपैयाँ प्रदान गरियो ।

पाँचौं स्थान हासिल गर्ने समूहलाई जंगल पावर ट्वान्टी फोर आवरका तर्फबाट निशुल्क खानाको व्यवस्था गरिएको थियो । होटल बाराहीका प्रबन्धक निर्देशक वैभव पौडेल र संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदी लगायतले विजेताहरुलाई पुरस्कार प्रदान गरेका थिए ।

नयाँ वर्षलाई स्वागत गर्दै फेवा ताल संरक्षणमा सचेतना फैलाउने उद्देश्यले तालमा डुंगा दौड प्रतियोगिता आयोजना गरिएको आयोजक संघका अध्यक्ष एवं महोत्सवका संयोजक लक्ष्मण सुवेदीले जानकारी दिए ।

Advertisement

पौडेलले डुंगा दौडजस्ता कार्यक्रमले पोखराको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने भनाई राखे । नयाँ वर्षको अवसरमा आयोजित यस प्रतियोगिताले महोत्सवको रौनक बढाएको उनले बताए ।

पञ्चेबाजा र नाचगानसहित आयोजित प्रतियोगिताले पोखराको पर्यटन प्रवद्र्धनमा सघाउ पुग्ने विश्वास प्रतियोगिताका संयोजक एवं फेवा डुंगा व्यवसायी संगठनका अध्यक्ष बलराम गिरीले व्यक्त गरे ।

प्रतियोगिताका अवसरमा नमस्ते हस्पिटल प्रालिले निशुल्क स्वास्थ्य शिविर पनि आयोजना गरेको थियो । होटल बाराहीले प्रतियोगिताको प्रायोजन गरेको थियो । फिस्टेल गेटदेखि खहरेसम्म आयोजित महोत्सवले पर्यटन, संस्कृति र खानालाई जोड दिएको छ । बाह्रसिंगे बियर महोत्सवको प्रमुख प्रायोजक र अन्नपूर्ण केवलकार प्रालि सहसंयोजक छ । पोखरा महानगरपालिकाले सघाएको महोत्सवको प्रबद्र्धन नेपाल पर्यटन बोर्डले गरेको छ ।

तपाईको प्रतिक्रिया