नयाँ वर्षमा प्रदेशको उपहार ५ पुलः मुख्यमन्त्री

समाधान संवाददाता २०८० वैशाख १ गते १०:३१

पोखरा ।
गण्डकी प्रदेश सरकारले कास्कीको माछापुच्छ्रे गाउँपालिका तथा पोखरा महानगर आसपासका क्षेत्रमा ५ मोटरेबल पुल बनाएको छ । भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत पूर्वाधार विकास कार्यालय कास्कीले पोखरा ७ फिर्के खोला, पोखरा २४ र २३ मा पर्ने पामे खोला र खहरे खोला, पोखरा १३ र २६ जोड्ने विजयपुर खोला र माछापुच्छ्रे ५ रिभानको खहरे खोलामा पुल निर्माण गरेको हो ।

Advertisement

गण्डकी प्रदेशका मुख्यमन्त्री मुख्यमन्त्री खगराज अधिकारीले ती पुलको बिहीबार उद्घाटन गरे । उनले प्रदेश सरकारले धेरै सडक पुल बनाएको बताए । ‘नयाँ वर्ष २०८० को उपहारको रुपमा प्रदेश सरकारले ठाउँ ठाउँमा सडक पुल बनाएको छ,’ मुख्यमन्त्री अधिकारीले भने, ‘संघ सरकारको ध्यान नपुगेका ठाँउमा प्रदेश सरकारको आँखा परेको छ । प्रदेश सरकार चाहिँदैन भनेर घण्टी बजाउनेलाई चोटिलो जवाफ दिएको छ ।’

उनले संघीयताको कारण धेरै सडक पुल बनेको दाबी गरे । उनले प्रदेश सरकारलाई ऐतिहासिक, धार्मिक र सांस्कृतिक हिसाबले महत्वपूर्ण पञ्चासेको बारेमा थाहा भएको उल्लेख गरे । उनले पञ्चासे जाने सडकको विस्तृत परियोजना प्रतिवेदन तयार गरी स्रोत सुनिश्चित गरेर टेन्डर गर्ने प्रतिवद्धता गरे । मुख्यमन्त्री अधिकारीले पुल तथा मोटरबाटोबाट ग्रामीण, पर्यटन प्रवद्र्धन, कृषिको उत्पादन बजारीकरण, सानातिना घरेलु उद्योगको विकास, जडिबुटी खेती लगायतबाट पर्याप्त फाइदा लिन सुझाव दिए ।

प्रतिनिधि सभाका सदस्य दामोदर बैरागीले निर्वाचन क्षेत्रका सबै वडा कार्यालयसम्म जाने बाटो स्तरोन्नतिका लागि पहल गर्ने वाचा गरे । उनले तीन तहका सरकारबीच समन्वय भए विकास, निर्माणको काम दिगो र व्यवस्थित बन्ने उल्लेख गरे ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव विनोदबहादुर कुँवरले संस्थागत तथा संरचनागत रुपमा गण्डकी प्रदेश सरकार चलेको दाबी गरे । पोखरा २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीले महानगरका ग्रामीण क्षेत्रका वडा भौतिक संरचना तथा पूर्वाधार विकासको दृष्टिले पछाडि परेको गुनासो गरे । पोखरा २३ का वडाध्यक्ष रामकाजी गुरुङले घाँटीछिनासम्म कालोपत्र भएको बाटोलाई पञ्चासे पञ्चधामसम्म विस्तार गर्न माग गरे ।

Advertisement

भौतिक पूर्वाधार विकास मन्त्रालयका सचिव तुलसीप्रसाद भट्टराईले प्रदेश सरकारले सडक पूर्वाधार र सडक पुल निर्माणमा विशेष ध्यान दिइएको जनाए । उनले प्रदेश सरकारले गत वर्ष कास्कीमा ८ मोटरेबल पुल निर्माण गरेको स्मरण गरे ।

पूर्वाधार विकास कार्यालय कास्की प्रमुख डा महेन्द्र बानियाँका अनुसार ती ५ पुलमध्ये एउटा पोखरा १३ र २६ लाई जोड्ने ढल्के पुल झौरी खेत पुल विजयपुर खोलामाथि निर्माण भएको छ । रसुवावाई एसएस जेभीले ६ करोड ४० लाख ६ हजार २ सय ४४ रुपैयाँ लागतमा बनेको पुलको लम्बाई ३१ दशमलब २ मिटर र चौडाई पेटी सहित ९ दशमलब ९ मिटर छ ।

पोखराको रत्नचोक मासबार जिरो किमी सडक अन्तर्गत पोखरा ७ को फिर्के खोलमा १ करोड १२ लाख ४९ हजार १६ रुपैयाँ लागत सडक पुल निर्माण भएको कार्यालय प्रमुख बानियाँले जानकारी दिए । सो पुल पोखरा आरुषी जेभी राष्ट बैंक पोखराले गत आर्थिक वर्षमा निर्माण गरेको हो । उनले बैदाम पामे घाँटीछिना सिदाने पञ्चासे सडक अन्तर्गत पोखरा २४ को पामेखोलामा ५ करोड ७९ लाख १६ हजार ६ सय ३० रुपैयाँको लागतमा सडक पुल निर्माण भएको बताए ।

एउटै योजना अन्तर्गत पहिलो पुलको लम्बाइ १३ दशमलब ३५ मिटर र चौडाइ ९ दशमलव ९ मिटर छ । अर्को पुल १९ दशमलब ८० मिटर लामो छ । सो पुलको चौडाइ ९ दशमलव ९ मिटर छ । नयाँ बाटो जीएस भदौरे जेभीले बनाएको पुलले पोखराबाट पामे हुँदै पञ्चासे जाने यात्रुको आवतजावतका लागि सहज बनाएको छ ।

पोखराको वडा नम्बर २४ र २३ जोड्ने खहरे खोलामा ६ करोड ३१ लाख ८६ हजार ६ सय ४० रुपैयाँको लागतमा पुल निर्माण भएको कार्यालय प्रमुख बानियाँले बताए । यो पुल ९० दशमलव ७५ मिटर लामो र ९ दशमलब ९ मिटर चौडा छ ।

प्रदेश सरकारले माछापुच्छ्रे गाउँपालिकाको लाहाचोक ल्वाङ सडक अन्तर्गत रिभान खहरेखोलामा ५ करोड ७१ लाख २१ हजार ७सय १८ रुपैयाँ लागतमा पुल बनाएको छ । इन्द्रेणी फेवा जेभीले बनाएको पुल ४० मिटर लामो छ । पुलको चौडाइ ८ दशमलब ४ मिटर छ । माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ५ का अध्यक्ष नारायणप्रसाद पौडेलले वडा नम्बर ४, ५ र ९ लाई जोड्ने सडक स्तरोन्नति गर्न माग गरे ।

कार्यक्रममा गण्डकी प्रदेश सभाका सदस्य भीम कार्की, पोखरा महानगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष राममोहन आचार्य, माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ५ का पूर्व अध्यक्ष जुमबहादुर गुरुङ, भौतिक पूर्वाधार विकास कार्यालय कास्कीका शाखा अधिकृत विष्णुदेवी पोखरेल लगायतले बोलेका थिए ।

तपाईको प्रतिक्रिया