पोखराका पत्रकारलाई अनलाइन पत्रकारिता तालिम

पोखरा ।
अनलाइन पत्रकार संघ गण्डकीले आयोजना गरेको पत्रकारिता तालिम शनिबार सुरु भएको छ ।
सोमबारसम्म सञ्चालन हुने तालिम उद्घाटन सत्रलाई सम्बोधन गर्दै गण्डकी प्रदेश सरकार आन्तरिक मामिला तथा कानून मन्त्री रोशन बहादुर गाहा थापाले सिकाइ जीवनभर रहने प्रक्रिया रहेको भन्दै पत्रकारितामा सिक्ने धेरै अवसर हुने बताए ।
मिडिया सम्बन्धी समस्यामा जानकार रहेको तर काम गर्न नपाई सरकारबाट बाहिर पर्ने अवस्था आएको बताए । उनले बधाइ र विदाइ सँगसँग जस्तो हुन लागेको बताए । मन्त्री थापाले हुने खानेको मात्र समाचार नआइ जहाँ विकट छ त्यहाँ पत्रकारको आँखा जानुपर्ने बताए ।
नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य सरिता तिमिल्सिनाले पछिल्लो समयमा अनलाइन पत्रकारिताको महत्त्व बढेको बताइन् ।
पत्रकार महासंघ गण्डकीका महासचिव गोविन्द सुवेदीले गण्डकी प्रदेश सरकारले प्रदेश सभामा लगेको विधेयक पत्रकार अनुकुल नभएको बताए ।
नेपाल पत्रकार महासंघ कास्की शाखा उपाध्यक्ष रामप्रसाद तिमिल्सिनाले कोभिड १९ पछिको समयमा नेपालमा अनलाइन पत्रकारिताको महत्व बढेको बताए ।
प्रशिक्षक केशवशरण लामिछानेले पत्रकार अनलाइनमा जान नसेको पत्रकारिता नै नरहने बताए ।
प्रशिक्षक भरत कोइरालाले अहिले मिडिया संक्रमणकालीन अवस्थामा रहेको जानकारी दिँदै प्रदेश सरकारले मिडिया सम्बन्धी कानुन बनाउन ढिलो गरेको धारणा राखे ।
अनलाइन पत्रकार संघ गण्डकीका अध्यक्ष गणेश बरालले आगामी दिनमा पनि यस्ता तालिम सञ्चालन गर्दै जाने बताए ।
अनलाइन पत्रकार संघ गण्डकीका उपाध्यक्ष सन्तोष बस्यालले मिडियालाई स्तरीय बनाउन तालिमको आयोजना गरेको बताए ।
शनिबार भरत कोइरलाले कन्टेन्ट राइटिङ र केशवशरण लामिछानेले डिजिटल जर्नालिज्मको विषयमा प्रशिक्षण गराएका छन् ।
आइतबार दीपक अधिकारी तथ्यजाँच सम्बन्धी प्रशिक्षण गराउने छन् । सोमबार प्रेस काउन्सिलका अधिकृत रामशरण बोहराले पत्रकार आचार संहिता सम्बन्धी प्रशिक्षण गराउने छन् । तालिममा ४० भन्दा बढी पत्रकार सहभागी छन् ।
यसैबीच शनिबार बाट नै अनलाइन पत्रकार संघ गण्डकीले संघको वेसाइट www.onlinejournalist.org.np शुभारम्भ गरेको छ ।
तपाईको प्रतिक्रिया