पाेखरा महानगरको मध्य भागमा झन्डा पार्क

समाधान संवाददाता २०८० वैशाख ३ गते १०:५९

पोखरा ।
पोखराको महेन्द्रपुलमा अन्तर्राष्ट्रिय झन्डा पार्क निर्माण गरिने भएको छ । लायन्स क्लब अफ इन्टरनेसनलको आर्थिक सहयोगमा निर्माण गरिने यो पार्क पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले नयाँ वर्षको अवसरमा शुक्रबार सुरुआत गरेका छन् ।

Advertisement

प्रमुख आचार्यले ४ तहको प्यारा फट शैलीमा बन्ने पार्कमा सबै देशको नामसहितका पिल्लर र्निाण गरिने बताए । बीचमा सबैभन्दा अग्लो नेपालको झन्डा राखिने भएको छ । ‘यसको संरचना ४ तहको प्याराफिट शैलीमा निर्माण गरिनेछ,’ प्रमुख आचार्यले भने ।

यहाँ पोखरा महानगरपालिका, लायन्स र एनआरएनएका समेत झन्डा राखिने छन् । यसलाई सिकाइ केन्द्रका रूपमा समेत विकास गरिने उनले सुनाए । ‘यहाँ पत्रपत्रिका पढ्ने व्यवस्था पनि मिलाइनेछ, अनलाइनमा पढ्न चाहनेहरूका लागि कम्प्युटरको समेत व्यवस्था हुनेछ,’ प्रमुख आचार्यले भने, ‘यो केवल रमाइलोका लागि होइन; लर्निङ सेन्टरका रूपमा पनि रहनेछ ।’

पार्क आसपासको क्षेत्रलाई वाइफाइ फ्री जोन बनाइनेछ । पोखरा सौन्दर्यकरणको यस अभियानमा सहभागी हुन पाउँदा लायन्स क्लब अफ इन्टरनेसनल डिस्ट्रिक्टका गर्भनरहरुले खुसी व्यक्त गरेका छन् । लायन्स क्लब अफ इन्टरनेसनलका (डिस्ट्रिक्ट ३२५ एम) का गभर्नर धनिराम बरालले यसले पोखराको पर्यटनलाई अन्तर्राष्ट्रिय बजारमा प्रचारप्रसार गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

संयुक्त राष्ट्रसंघमा आबद्ध १९५ देशसहित पोखरा महानगर, लायन्स र एनआरएनए गरी तत्कालका लागि १ सय ९७ झन्डा एकै ठाउँमा फहराउने छन्

Advertisement

पोखरामा निर्माण गरिने झन्डा पार्कमा आफ्नो देशको झन्डामुनि बसेर फोटो खिच्न पाउँदा कुनै पनि देशका नागरिकले गौरव महसुस गर्ने वातावरणको सृजना हुने लायन्स क्लब अफ इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ आइका गभर्नर रामबहादुर बसेलको भनाइ छ ।

डिस्ट्रिक्ट ३२५ जेका गभर्नर धुव्रबहादुर श्रेष्ठले यसको निर्माणपश्चात दिगोपनमा जोड दिए । स्थानीय सरकारले यसको संरक्षकत्व लिनुपर्नेमा उनले जोड दिए । पोखरा महानगरपालिका वडा नं.२ का वडाध्यक्ष दिवसमान प्रधानांगले पोखरा महेन्द्रपुलमा निर्माण गरिने झन्डा पार्क पर्यटकको हबका रूपमा विकास हुने विश्वास व्यक्त गरे ।

पोखरा ९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले झन्डा पार्क बन्दा महानगर नेतृत्वले देखेको एउटा जीवित सपना साकार हुने उल्लेख गरे । अध्यक्ष मर्सानीले समृद्ध महानगर निर्माणको अभियानमा सचेततापूर्वक सामेल हुँदै आवश्यक सहयोग र खबरदारी गर्न नगरवासीलाई आग्रहसमेत गरे ।

संयुक्त राष्ट्रसंघमा आबद्ध १ सय ९५ देशसहित पोखरा महानगरपालिका, लायन्स र एनआरएनए गरी तत्कालका लागि १ सय ९७ झन्डा एकै स्थानमा राख्ने गरी पार्क डिजाइन गरिएको छ । पार्क निर्माणका लागि लायन्स क्लब अफ इन्टरनेसनलका डिस्ट्रिक्टहरुले ७० लाख आर्थिक सहयोग प्रदान गर्ने छन् । झन्डा पार्क ४५ दिनमा बनाइसक्ने योजना छ ।

महेन्द्रपुलको अर्को भागमा भने गैर आवासीय नेपाली संघ (एनआरएनए) सँगको साझेदारीमा आधुनिक सार्वजनिक शौचालय बन्दै छ ।

तपाईको प्रतिक्रिया