स्पोर्ट्स अवार्डलाई सघाउने खेल संघहरुको प्रतिवद्धता

समाधान संवाददाता २०८० वैशाख ३ गते ११:०९

पोखरा ।
कास्की जिल्लाका खेल संघ तथा क्लबहरुले सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९ लाई सघाउने प्रतिवद्धता जनाएका छन् । शनिबार आयोजक नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले पोखरा रंगशालामा आयोजना गरेको कार्यक्रममा उनीहरुले यस्तो प्रतिवद्धता जनाएका हुन् ।

Advertisement

उनीहरुले राज्यले गर्नुपर्ने काम पत्रकार मञ्चले गरेको भन्दै खुसी व्यक्त गरे । अवार्ड वितरणलाई पारदर्शी बनाउँदै यसको उचाई बढाउदै लैजानुपर्नेमा उनीहरुको जोड छ ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतीले खेलाडीलाई खेल जीवनबाटै जीवन धान्न सक्ने अवस्था बनाउनुपर्नेमा जोड दिए । कास्की जिल्ला कबड्डी संघका अध्यक्षसमेत रहेका उनले अवार्ड कार्यक्रमलाई सफल बनाउने प्रतिवद्धता जनाए ।

पोखरा महानगर खेलकुद विकास समिति अध्यक्ष दीपकबहादुर गोदारले खेल संघबीच समन्यवको कमी हुँदा अर्काले फाइदा लिएको गुनासो गरे । अवार्ड कार्यक्रमको आयोजनाले खेल क्षेत्रमा उत्साह थपिएको सुनाए । कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देल अवार्ड पारदर्शी हुनुपर्ने बताए । के कारणले अवार्ड पाएँ भन्ने जिज्ञाशा सबैको हुने भएकाले यो जिज्ञाशा मेटिनेगरी प्रतिभा छनोट गर्न उनले सुझाए ।

कास्की जिल्ला फेन्सिङ संघ अध्यक्ष विजय शाहीले राज्यले बाँड्ने अवार्ड पुरस्कार फेयर नहुने भए पनि पत्रकारले गर्ने कार्यक्रमले सही प्रतिभा छनोट गर्ने विश्वास व्यक्त गरे । उनले हरेक तीन महिनामा अन्तरक्रिया गरी खेल गतिविधिबारे मञ्चले जानकारी लिए प्रतिभा छनोट गर्न सहज हुने सुझाव दिए ।

Advertisement

कास्की जिल्ला टेबुल टेनिस संघका अध्यक्ष उत्तम जोशीले अवार्ड कार्यक्रमले खेल क्षेत्रमा उत्साह थपेको बताए । गण्डकी प्रदेशको कार्यक्रम हो भन्ने सन्देश जाने भएकोले सबै मिलेर यसलाई सफल बनाउनपर्नेमा उनले जोड दिए ।

कास्की जिल्ला तेक्वान्दो संघका अध्यक्ष कुमार गुरुङले विगतका अवार्ड कार्यक्रमबाट पाठ सिकेर थप आर्कषक रुपमा कार्यक्रम सम्पन्न गर्नुपर्ने बताए । साइक्लिङ संघ कास्की अध्यक्ष शंकर भण्डारीले छनोट समितिमा खेल संघका व्यक्ति राख्न सुझाए ।

मञ्चले खेल क्लबलाई समेत समेट्न खोज्नु सकारात्मक भएको उनको भनाइ छ । नेपाल स्ट्रोङगेस्ट क्योकुशिन कराते संघका अध्यक्ष कृष्णबहादुर नेपालीले डाटा संकलन समयमा नै हुनुपर्ने बताए । कास्की जिल्ला आर्चरी संघका उपाध्यक्ष वसन्त गौचनले अवार्ड कार्यक्रम सफल पार्नु सबैको दायित्व भएको बताए । कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोकबहादुर गुरुङले खेलाडीलाई प्रोत्साहन दिने यो कार्यक्रम बृहत भएको विचार राखे ।

सहारा क्लब पोखराका सचिव सुनील रानामगर अवार्ड कार्यक्रममा व्यवसायीलाई पनि जोड्नुपर्ने सुझाव दिए । नेपाल ट्रायथोलन संघ कास्की सचिव वासुदेव सुवेदीले र कास्की जिल्ला ह्यान्डबल संघका सदस्य गोपाल थापाले सरकारले गर्नुपर्ने काम मञ्चले गरेकोमा खुसी व्यक्त गरे । कास्की जिल्ला फुटसल संघका सदस्य उमेश पुनले आफ्नो संघको तर्फबाट साथ रहने बताए ।

सहभागीका जिज्ञाशा मञ्चका अध्यक्ष दीननाथ बराल, सल्लाहकार विनोद लामिछाने, निवर्तमान अध्यक्ष एकराज गिरी, उपाध्यक्ष सुरज श्रेष्ठ र महासचिव राजाराम पौडेलले मेटाए । उनीहरुले अघिल्ला संस्करणबाट सिकेको पाठका कारण अब कमीकमजोरी हुन नदिन मेहनत गर्ने प्रतिवद्धता गरे ।

आगामी वैशाख २३ गते शनिबार पोखरा सभागृह हलमा हुने सातौं सस्करणको पोखरा स्पोर्ट्स अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड दिने प्रदान गरिने मञ्चका महासचिव राजाराम पौडेलले जनाए ।

तपाईको प्रतिक्रिया