राती उडान हुने विमानस्थलबाट दिउँसै किन उडेनन् जहाज ?

समाधान संवाददाता २०८० वैशाख ४ गते ११:१५

पोखरा ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ३ दिन उडान–अवतरण भएन । बिहीबार भएका उडानपछि शुक्रबार, शनिबार र आइतबार दिउँसोसम्म यो विमानस्थलबाट कुनै उडान हुन सकेन ।

उद्घाटन भएको ३ महिना पुग्न लाग्दा पनि आन्तरिक उडानमै सीमित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा मौसम बिग्रिएपछि ३ दिन आन्तरिक उडानसमेत ठप्प भएको हो । विमानस्थल प्रमुख बिक्रम गौतमले मौसम बिग्रिएर भिजिबिलिटी कम हुँदा उडान हुन नसकेको जानकारी दिए ।

आइतबार दिउँसोबाट मौसम खुलेसँगै उडान सुरु भएको उनको भनाइ छ । ‘भिजिबिलिटी कम भएर उडान र अवतरण नभएको हो । यपोखरामा मात्रै होइन, धनगढीमा प्रभाव थियो, इटहरीमा र सिमरामा पनि प्रभाव थियो,’ उनले भने, ‘तर, यहाँ (पोखरामा) चाहिँ आजबाट खुल्यो । राम्रो भयो, दिउँसो साढे २ बजेपछि राम्रो भएको छ ।’

Advertisement

पोखरा विमानस्थलमा उडान हुनका लागि ३ हजार ७ सय मिटर भिजिबिलिटी आवश्यक पर्ने विमानस्थल प्रमुख गौतमले सुनाए ।

‘प्रविधिमा आधारित भएर गरिने उडान (आइएफआर) भए पनि ३ हजार ७ सय मिटर भिजिबिलिटी आवश्यक पर्छ । तर, ३ दिन २ हजारमात्रै भिजिबिलिटी थियो,’ उनले थपे ।

Advertisement

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उडान हुन १ हजार ६ सय मिटर भिजिबिलिटी भए पुग्छ । तर, पोखरा विमानस्थलमा चाहिँ किन ३ हजार ७ सय मिटर चाहिन्छ भन्ने प्रश्नमा विमानस्थल प्रमुख गौतममले इकुप्मेन्ट र भौगोलिक विशेषता अनुसार भिजिबिलिटी फरक हुने दाबी गरे । ‘भौगोलिक बनोट अनुसार लिमिटेसन (सीमा) हुन्छ, हाम्रो सीमा ३ हजार ७ सय मिटर हो ।

शून्य भिजिबिलिटी हुँदा पोखरा एअरपोर्टमा ३ दिन जहाज उडान र अवतरण भएनन्

गौतम बुद्ध विमानस्थलको सीमा फरक फरक छ,’ उनले भने, ‘त्यहाँका इकुप्मेन्ट र भौगोलिक विशेषता अनुसार हुन्छ ।’

पोखराबाट बुद्ध, यती, श्री र सौर्य एयरलाइन्सले काठमाडौं, भद्रपुर, भैरहवा, नेपालगन्ज, धनगढी, भरतपुर, जनकपुर, मुस्ताङ लगायत ठाउँमा उडान गर्ने गरेका छन् । यसअघि पोखरा विमानस्थलबाट दैनिक ६० उडान–अवतरण हुने गरेका थिए । नयाँ वर्षका बेला पर्यटक पोखरा घुम्न आउने भएकाले उडान बढी हुने अपेक्षा गरिएको थियो । तर, भिजिबिलिटी कम भएसँगै ३ दिन कुनै उडान भएनन् ।

पोखरा पर्यटन परिषद् अध्यक्ष पोमनारायण श्रेष्ठले उडान नहुँदा नयाँ वर्षमा पोखरा आउने पर्यटक घटेको जनाए । ‘नयाँ वर्षका लागि पर्यटक पोखरा आउँदै थिए । उडान नहुँदा उनीहरुलाई दुख भयो, कति उडान क्यान्सिल हुँदा गाडीबाट आउन पनि सकेनन्, यसले पोखराको पर्यटन क्षेत्रमा धक्का पुग्यो,’ उनले भने ।

बैंकर आलोक श्रेष्ठ आइतबार अफिस भेट्न शनिबार जहाजबाटै काठमाडौंबाट पोखरा आउन चाहन्थे तर त्यो सम्भव भएन ।

उडान रद्द भएको समयको जानकारीसमेत एयरलाइन्सले बेलामा नदिँदा दुख भएको उनको गुनासो छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सम्भव हुनेसम्मका उपकरण जडान भएको नागरिक उड्डयन प्राधिकरणका पूर्व महानिर्देशक सञ्जीव गौतम बताउँछन् । उपकरणको सहयोगमा उडान गर्दा पनि निश्चित दूरी पाइलटका आँखाले देख्ने सफा आकास हुनुपर्ने उनको भनाइ छ ।

शून्य भिजिबिलिटी हुँदा पनि उडान गर्न सक्ने उपकरण जडान पोखराको भौगोलिक बनावटका कारण सम्भव नभएको उनी बताउँछन् । ‘शून्य भिजिबिलिटीमा पनि उडान गर्ने उपकरण राख्न त काठमाडौंमा पनि राख्न सम्भव छैन, त्यो पनि भौगोलिक अवस्थाकै कारण हो,’ उनले भने, ‘भौगोलिक बनावटले साथ दिएका विदेशका कतिपय एयरपोर्टमा शून्य भिजिबिलिटीमा उडान गर्ने उपकरण जडान भएका छन् ।’

नयाँ विमानस्थल चलेपछि पोखराबाट रात्रिकालीन उडानसमेत हुँदै आएको छ । विज्ञका अनुसार रात्रिकालीन उडानमा पनि निश्चित दूरीसम्म सफा र खुला आकास हुनुपर्छ ।

तपाईको प्रतिक्रिया