प्रह्लाद गुरुङलाई राष्ट्रिय विभूति बनाउन माग

पोखरा ।
सुब्बा नाथु प्रह्लाद प्रतिष्ठान कास्कीले नेपाल अग्रेंजबीच राजगढमा भएको युद्धमा वीरगति प्राप्त सुब्बा प्रह्लाद गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको छ । प्रतिष्ठानका अध्यक्ष धर्मध्वज गुरुङले विसं. १८७२ वैशाख ६ गते कमान्डर भक्ति थापाका उपकमान्डर बनेका गुरुङलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरे ।
वैशाख ८ गते मनाउन लागिएको सुब्बा प्रह्लाद गुरुङको स्मृति दिवसको सन्दर्भमा आइतबार भएको कार्यक्रममा अध्यक्ष गुरुङले राजगढको युद्धमा वीरगति पाएका सुब्बा प्रह्लाद ओझेलमा परेको दाबी गरे ।
‘अंग्रेज फौजले१८७२ वैशाख ६ गते राजगढमा आक्रमण गर्दा त्यही लडाईमा बहादुरी साथ लड्दा लड्दै सुब्बा प्रह्लाद गुरुङले वीरगति प्राप्त गरे,’ अध्यक्ष गुरुङले भने, ‘१८७२ वैशाख ५ गते वीरगति प्राप्त भक्ति थापालाई १७ औ राष्ट्रिय विभूति घोषणा गरिएको छ । थापाका उपकमान्डरलाई अmझै पनि राष्ट्रिय विभूति घोषणा गरिएको छैन ।’
उनले सुब्बा प्रह्लादलाई राष्ट्रिय विभूतिमा सूचिकरण गर्नसमेत माग गरे । धर्मध्वजले सुब्बा प्रह्लादसँग नेपाल अंग्रेजको युद्धमा योगदान पुर्याएका सुब्बा नाथु गुरुङ युद्ध समाप्त भएपछि सकुशल नेपाल फर्केको जानकारी दिए । अध्यक्ष गुरुङले प्रह्लाद गुरुङका साहिला भाइ कुम्भेतान (कप्तान) दलपति गुरुङलाई तत्कालीन सरकारले उनको पल्टनको नगरा निशाना ससम्मान दिएर फर्काएको सुनाए ।
रिभानचौर नाथु प्रह्लाद ङेह पैगी लामा गुुरुङ परिवारका अध्यक्ष डम्बरबहादुर गुरुङले उनीहरुको नेपाल र भोटको युद्ध र नेपाल अंग्रेजसँगको युद्धमा योगदान रहेको जनाए । उनले दुबै युद्धमा बहादुरी प्रदर्शन गरेवापत सुब्बा नाथुले पुरानो रिभान र सुब्बा प्रह्लादले माछापुच्छ्रे २ को चौरको भराभरीको जग्गा बिर्ता पाएको उल्लेख गरे ।
अध्यक्ष गुरुङले नाथु प्रह्लादले मरणोपरान्त पाएको नगरा र निशान हातहतियार २०६६ मा चौरको भराभरीमा स्थापना भएको नाथु प्रह्लाद संग्रहालयमा राखिएको जानकारी दिए । उनले सग्रहालयमा पिता पुर्खाले प्रयोग गरेका हातहतियार खुँडा, खुकुरी।
तरबार, धनु राखिएको बताए । संस्थाले हेमजाको याम्दी स्थित नाथु प्रह्लाद स्मृति भवन बनाएको छ । सुब्बा नाथुले युद्धमा प्रयोग गरेको हतियार याम्दीको संग्रहालयमा राखिएको छ ।
रिभानचौर नाथु प्रह्लाद पैगीलामा परिवारका महासचिव यामबहादुर गुरुङले हरेक वर्षको पुसको अन्तिम शनिबार सुब्बा नाथु स्मृति दिवस मनाइँदै आएको जानकारी दिए । हरेक वर्षको वैशाखको ६ गते सुब्बा प्रह्लाद स्मृति दिवसको सन्दर्भमा नेपालको एकीकरणमा गुरुङ समुदायको योगदान विषयक विचार गोष्ठी गर्न लागेको उनले बताए ।
संस्कृति विद् प्राडा जगमान गुरुङ प्रमुख वक्ता रहेको विचार गोष्ठीमा गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्ने कार्यक्रम छ । सुब्बा नाथु तथा सुब्बा प्रह्लादको योगदानको कदर गर्दै माछापुच्छ्रे गाउँपालिकाले दुबै विभूतिको जीवनी २०८० को स्थानीय पाठ्यक्रममा समावेश गर्न लागेको छ ।
तपाईको प्रतिक्रिया