प्रचलित सबै संवत् नेपाली सम्पत्तिः थापा

पोखरा ।
नेकपा (एमाले)का पोलिटब्युरो सदस्य एवं गण्डकी प्रदेशसभा सदस्य लीलाबहादुर थापामगरले नेपालमा प्रचलित सबै संवत देशका सम्पत्ति भएको जनाएका छन् । बागलुङ–पोखरा मगर समाजले शनिबार आयोजना गरेको नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
प्रदेशसभा सदस्य थापामगरले विक्रम संवत भारतको उज्जैनका राजा विक्रमादित्यको नामबाट सुरु भएको उल्लेख गरे । ‘विक्रम संवतलाई राणा प्रधानमन्त्री चन्द्रशमशेरको पालामा मान्न सुरु गरियो, मानियो । ठीकै छ, सबैलाई मानौं । एउटालाई मात्र मान्ने चलन अझै गइसकेको छैन ।’
नेपालमा बुद्ध संवत्, शक संवत्, हिजरी संवत्, किराँत येले संवत्, नेपाल संवत् लगायतका सम्वत् पनि प्रचलनमा छन् । नेपाल सबैको साझा पूmलबारी भएकाले विभिन्न समुदायका आ–आफ्नै संवत प्रचलनमा रहेको उनले जनाए ।
नेपाल मगर संघका केन्द्रीय सहकोषाध्यक्ष पूर्णबहादुर रानामगरले मगर समुदायको सवाल र मुद्दालाई मगर समुदायका सांसद्ले कानुन निर्माणका बेला विशेष ध्यान दिनुपर्ने बताए ।
नेपाल मगर संघ, गण्डकी प्रदेशकी अध्यक्ष तारामाया थापामगरले अब मगर समुदायको बाहुल्य रहेका हरेक स्थानीय तहमा मगर भाषामा पठनपाठन र सरकारी कामकाजका लागि मगर संघले विशेष अभियान सुरुवात गर्ने घोषणा गरिन् ।
नेपाल मगर पत्रकार संघका केन्द्रीय उपाध्यक्ष एमबी आस्था मगरले राजनीति, प्रशासन, न्यायालय सबैतिर मगर समुदायको पहुँच र प्रतिनिधित्व बढाउन मगर संघ, संस्थाले भूमिका खेल्नुपर्ने बेला आएको सुनाए ।
बागलुङ–पोखरा मगर समाजका अध्यक्ष गजेन्द्र थापामगरको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल मगर संघ कास्कीका जिल्ला सदस्य रामबहादुर पुनमगर, समाजका सल्लाहकार क्या. मीनबहादुर पुनमगर, ढकबहादुर पुनमगर, समाजका सचिव रूद्रबहादुर श्रीसमगर, कोषाध्यक्ष कृष्ण पुनमगरले पनि बोलेका थिए ।
कार्यक्रममा गण्डकी प्रदेशसभा सदस्यमा निर्वाचित लीलाबहादुर थापामगर र नेपाल मगर संघ, गण्डकी प्रदेशको अध्यक्षमा निर्वाचित तारामाया थापामगरलाई बधाईसहित सम्मान गरिएको थियो ।
तपाईको प्रतिक्रिया