फेकोफन कास्कीको अध्यक्षमा विश्वनाथ

समाधान संवाददाता २०८० वैशाख ४ गते १६:३२

पोखरा ।
सामुदायिक वन उपभोक्ता महासंघ नेपाल कास्कीको सातौं अधिवेशनले विश्वनाथ लामिछानेको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । ४ वर्षे कार्यकालका लागि बनेको समिति उपाध्यक्षमा चूडामणि अधिकारी, सचिवमा पार्वती सुवेदी, कोषाध्यक्षमा अम्बिका बुढाथोकी र उपसचिवमा रमेश विश्वकर्मा छन् ।

Advertisement

समितिका सदस्यमा अनन्तराज अधिकारी, बुद्धिबहादुर घिमिरे, जिता पौडेल, शोभा आचार्य, शान्ति सापकोटा, ईन्द्रबहादुर खत्री, मेधनाथ पराजुली, विमला खनाल, तीर्थ पौडेल, कविता विश्वकर्मा र रमादेवी गौतम छन् ।

कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपालका केन्द्रीय सचिव ठाकुर भण्डारीले दिगो वन व्यवस्थापनका आधारमा वन पैदावारको उपयोग गर्नुपर्ने आवश्यकता औंल्याए । वनको संरक्षण सम्वद्र्धन र विकासमा जोड दिंदै आएका उपभोक्ताको अधिकारलाई सुनिश्चित गर्दै प्राकृतिक स्रोतलाई राज्यको समृद्धिमा उपयोग गर्नुपर्नेमा उनले जोड दिए ।

वन ऐन, विनियम र समूहको विधान एवं कार्ययोजनाका आधारमा वन पैदावार उपयोग गर्न समूह सचेत हुनुपर्नेमा उनले जोड दिए । भण्डारीले भने, ‘समूहको अधिकार कुण्ठित हुने गरी भएका कुनै पनि निर्णय महासंंघलाई मान्य हुने छैन ।’

महासंघका केन्द्रीय सदस्य एवं जिल्ला समन्वय समिति कास्कीका उपप्रमुख सरिता कुमालले महासंघले नेतृत्व विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएको जनाइन् । अर्का केन्द्रीय सदस्य हरिप्रसाद बास्तोलाले सामुदायिक वन समूहले प्राकृतिक स्रोतको भरपुर उपयोग गर्दै वन पैदावारमा आधारित उद्योग सञ्चालनमा जोड दिनुपर्ने बताए ।

Advertisement

महासंघ केन्द्रीय सदस्य सुनमाया नेपाली र गण्डकी प्रदेश अध्यक्ष कालिदास सुवेदीले वन उद्यम सञ्चालन गर्न सजह नीतिको खाँचो औंल्याए । कार्यक्रममा पोखरा २५ हेमजास्थित पानी उद्योग सञ्चालन गर्ने फुर्केटारी र लप्सीको अचार उत्पादन गर्ने वनपाले सामुदायिक वन समूहलाई सम्मान गरिएको थियो ।

महासंघ कास्की अध्यक्ष विश्वनाथ लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा महासंघ मादी गाउँपालिकाका अध्यक्ष सिर्जना पौडेल, जिल्ला उपाध्यक्ष चूडामणि अधिकारी लगायतले वन्यजन्तु नियन्त्रणमा सरकार जिम्मेवार हुनुपर्ने बताए ।

अधिवेशनमा सचिव पार्वती सुवेदीले सांगठनिक र कोषाध्यक्ष अम्बिका आचार्यले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

तपाईको प्रतिक्रिया