
रिखिराम जिसी, पोखरा ।
गण्डकी प्रदेशका आर्थिक मामिलामा सचिव विष्णुप्रसाद शर्मा सोमबार दिउँसो कार्यालयमा थिएनन् । उनी कार्यालय किन उपस्थित भएनन् भनेर बुझ्दा मन्त्रालयका कर्मचारीले शर्मा अफिसको कार्यक्रममा भाग लिन काठमाडौं गएको प्रतिक्रिया दिए ।
‘उहाँ अघिसम्म यतै हुनुहुन्थ्यो, कार्यक्रमका लागि काठमाडौं जानुभएको छ, कहिले आउनुहुन्छ, त्यो त हामीलाई थाहा भएन,’ ती कर्मचारीले भने ।
अर्थ सचिव शर्मा अहिले काठमाडौंमा छन् । उनी वैशाख ९ गतेपछि मात्रै मन्त्रालयमा फर्कने छन् । राष्ट्रिय योजना आयोगले बोलाएको कार्यक्रममा सहभागी हुन काठमाडौं गएको सचिव शर्माले प्रतिक्रिया दिए । ‘राष्ट्रिय योजना आयोगले बोलाएको छ, ७ वटै प्रदेशका अर्थ सचिवहरुलाई बोलाएको रहेछ ।
सो कार्यक्रम ३ दिनको हुन्छ, त्यसपछि एक दिन संघीय अर्थ मन्त्रालयले बजेटका लागि बोलाएको छ, ९ गतेपछि पोखरा फर्किन्छु,’ उनले भने । अर्थ सचिव शर्माले आफू फर्कने भनेको ९ गते त्यही दिन हो, जुन दिन मुख्यमन्त्री खगराज अधिकारीको सरकार ढल्न सक्छ ।
सरकार फेरिने भएपछि मुख्यमन्त्री र मन्त्रीहरु छल्न अनेक बहाना गर्ने प्रवृत्ति कर्मचारीमा देखिएका सरकारनिकटस्थहरु बताउँछन् । सोमबार दिउँसो अधिकारी सरकार जाने र नयाँ आउने प्रसंग चलिरहेको बेला अर्थमन्त्री सीता सुन्दासको सचिवालयका एक सदस्य हाँस्दै भन्दै थिए, ‘सचिवमात्रै हो र अरु पनि कर्मचारी अनेक बहाना बनाएर अफिस आएका छैनन्, कुरो उही हो, सरकार फेरिँदैछ ।’
गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीसँग वैशाख १० भित्र विश्वास मत लिने वा राजीनामा दिने दुई विकल्प छ ।
विश्वासको मत लिन संसदमा प्रस्ताव गरे पनि सत्ता गठबन्धनको फेरबदलले मत पाउने सम्भावना निकै कम देखिन्छ । त्यस कारण पनि वैशाख १० पछि खगराज अधिकारी नेतृत्वको सरकार ढल्ने प्रायनिश्चित छ ।
उनको सरकारबाट माओवादी केन्द्रले समर्थन झिकेर मन्त्रीहरु फिर्ता बोलाइसकेको छ । संवैधानिक व्यवस्था अनुसार मुख्यमन्त्रीले समर्थन फिर्ताको ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । विश्वासको मत नपाउने अवस्थामा अधिकारीले राजीनामा गर्ने सम्भावना उत्तिकै छ ।
सरकार फेरबदलको समय नजिकिएसँगै अर्थ मन्त्रालयका कर्मचारी कार्यालय नै आउन छोडेका हुन् । कर्मचारीहरु विभिन्न बाहनामा विदा बसेका छन् । कर्मचारीले टेरेर काम नगरेको मन्त्री निकटस्थहरु गुनासो गर्छन् । अर्काेतर्फ कर्मचारी भने मन्त्री तथा माथिल्लो तहबाट आफ्नो निकट योजनामा रकमान्तर गर्न, योजना थपघट गर्न अनावश्यक दबाब दिएको गुनासो सुनाउँछन् ।
‘जाने बेला पनि भयो, काम पनि केही भएन । कसैले पनि टेर्दैनन्,’ मन्त्रीनिकट एक आफन्तले भने, ‘पहिले सबै हाम्रो पार्टी जस्ता थिए, अहिले सबै अर्काे पार्टीका जस्ता भएका छन्, दिनमा १० जना कर्मचारी आउँथे, यहाँ दर्शन गर्न अहिले कोही आउँदैनन् ।’
सचिव शर्मा अफिसकै कामका लागि काठमाडौं जानै परेर गएका हुन् या सरकार फेरिन लागेकाले उम्कन ? भन्ने प्रश्नमा अर्थ मन्त्रालयका एक कर्मचारीले हाँस्दै भने, ‘हो—हो उहाँ अफिसको कामले जानुभएको हो, उहाँ ९ गतेपछि मात्रै आउनुहुन्छ होला ।’
पूर्व सचिव बाबुराम आचार्य अहिलेको कर्मचारीको मनोबल र काम गर्ने मानसिकता नै स्वस्थ नभएको बताउँछन् । ‘अहिलेको कर्मचारीको मनोबल र काम गर्ने मानसिकता नै स्वस्थ छैन । अब त्यसमा सरकारले फेरबदल हुनुभन्दा पहिले रकमान्तर, योजना थपघट गराउँछन् । त्यसो गर्नुभन्दा बिदै लिएर बस्दिए यो विवादबाट पन्छिन्छन् भन्ने मानसिकता चाहिँ हो जस्तो लाग्छ मलाई,’ उनले भने ।
राजनीतिक व्यक्तिमा पनि आफू फेरिने भएपछि जथाभावी काम गराउने प्रवृत्ति रहेको पूर्व सचिव आचार्य बताउँछन् ।
‘राजनीतिक व्यक्तिको अस्मिता, उनीहरुको इन्ट्रिग्रेटी (नैतिक मूल्यसहितको इमान्दारीपन) माथि जताततै प्रश्न भइराखेको हुनाले पनि कर्मचारीतन्त्र उम्कन खोज्छ,’ उनले भने ।

रिखिराम जिसी
जिसी समाधान संवाददाता हुन्









सम्पादकीय—सुन्दर योजना, कुरुप कार्यान्वयन
अन्नपूर्ण क्षेत्रमा ११ महिनामा पौने ३ लाख पर्यटक, अप्रिलमा सर्वाधिक
बेनी–जोमसोम–कोरला सडक : १३ पुल निर्माण सम्पन्न, ३ वटा अन्तिम चरणमा
गुप्तेश्वरका एमबिए विद्यार्थीको ‘फिल्ड भिजिट’ मा कालाबाङ होमस्टे पुग
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया