किशोरीका समस्या सुल्झाउने गण्डकी सरकारको प्रतिवद्धता

पोखरा ।
किशोरीका सशक्तीकरण र विकासका लागि गण्डकी प्रदेश सरकार प्रतिबद्ध रहेको मुख्यमन्त्री खगराज अधिकारीले जनाएका छन् । प्रदेशको कान्छो जिल्ला नवलपुरबाट ध्यानाकर्षण पत्र हस्तान्तरण गर्न पोखरा आएका किशोरीहरुसँग मुख्यमन्त्री कार्यालयमा सोमबार भएको अन्तरक्रियामा अधिकारीले यस्तो प्रतिवद्धता गरेका हुन् ।
नवलपुरमा जागृति बाल तथा युवा सरोकार नेपालले क्यान्नालन स्विजरल्यान्डसँगको साझेदारीमा सञ्चालित किशोरी सशक्तीकरण कार्यक्रमका ३५ किशोरीले आफूहरु काम गर्दा आएका विभिन्न विषयमा ध्यानाकर्षण गराउनको लागि पोखरा आएका हुन् ।
उनीहरुले मुख्यमन्त्रीलाई प्रदेश सरकारले बालिकाका लागि गरिदिनुपर्ने कामको बारेमा २५ बुँदे ध्यानाकर्षण पत्र हस्तान्तरण गरेका छन् । ध्यानाकर्षण पत्रमा विशेषगरी बालिकाके लागि आवश्यक पर्ने विभिन्न विषय रहेको किशोरी अभियन्ता सवनम सुनारले बताइन् ।
ध्यानाकर्षण पत्रमा बालमैत्री, किशोरीमैत्री, अपांगतामैत्री पूर्वाधार र संरचना निर्माण गरिनुपर्ने, प्रदेश तहमा बन्ने हरेक समितिमा बालिकाको मुद्दा हेर्ने विशेष उपसमिति बनाउनुपर्ने, विद्यालयमा सेनिटरी प्याडको उपलब्धता र विसर्जन जस्ता विषय समावेश गरिएको किशोरी अभियन्ता एवम जिल्ला बाल क्लब सञ्जाल नवलपुरकी सचिव आशिका पोख्रेलले जानकारी दिइन् ।
बालिकाको भ्रूणबाट नै असुरक्षित रहने र जन्मेपछि पनि विभिन्न बहानामा हिंसा, दुव्र्यवहार र शोषणमा पर्ने भएकाले यस्ता समस्या समाधानका लागि प्रदेश सरकारले नीतिगत व्यवस्था गर्दै स्थानीय तहसम्म कार्यान्वयनमा बालिकाहरुले जोड दिएका छन् ।
ध्यानाकर्षण पत्र बुझ्दै मुख्यमन्त्री अधिकारीले सबैभन्दा पहिले बालिकाले आफूलाई नै विश्वास गर्नुपर्नेमा जोड दिए । वर्तमान समयका किशोरकिशोरी नै भविष्य भएकाले प्रदेश सरकारले यिनै बालबालिका र किशोरकिशोरीका लागि नीतिगत व्यवस्थाहरु सुरु गरेको उनले जनाए ।
पाठ्यक्रमबाट नै आत्मसुरक्षा र देशलाई माया गर्नुपर्दछ भन्ने भावना जागृत गराउने अभियानसमेत सुरु गर्न लागेको उनले सुनाए । मुख्यमन्त्री अधिकारीले देश निर्माणका लागि र सामाजिक न्यायका लागि अहिलेका किशोरकिशोरीले देशमा नै बसेर काम गर्नुपर्ने र रचनात्मक हुनसमेत सुझाव दिए । उनीहरुका मागलाई आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा समावेश गर्ने गरी योजना निर्माण गर्ने प्रतिबद्धतासमेत उनले जाहेर गरे ।
गण्डकी प्रदेश सभा सदस्य पद्मा जिसीले किशोरीका माग र सवाल समय सापेक्ष रहेकेले प्रदेश संसदभित्र र बाहिर निरन्तर खबरदारी गरिने बताइन् । उनले समस्याहरुको समाधान गर्ने र नीतिगत व्यवस्थाका लागि आवाज उठाउने प्रतिवद्धतासमेत गरिन् ।
कार्यक्रमको सहजीकरण संस्थाका अध्यक्ष तिलोत्तम पौडेलले गरेका थिए भने किशोरी अभियन्ताहरु रेजिना घर्तीमगर र मान्सु न्यौपानेले स्थानीय तहमा रहेका किशोरीका सवालालाई प्रस्तुत गरेका थिए ।
तपाईको प्रतिक्रिया