किन आउँछ आर्थिक संकट

पुँजीवादी बजारमा उत्पादन गरिएको माल कट्ने कुरामा समय समयमा बाधा अवरोध उत्पन्न हुन्छ । कहिलेकाहीँ उपभोक्ताको मागभन्दा मालको उत्पादन बढी हुन जान्छ र यस असन्तुलनले मालको मूल्यमा गिरावट आउँछ । माल नबिकेर गोदाममा खात लाग्छ र समाधानका लागि पुँजीपतिले उत्पादनको जुन शाखामा समस्या आएको हो, त्यहाँको उत्पादनमा कटौती गर्छ, मजदूरलाई कामबाट हटाउँछ र त्यतिले नपुगे कारखानासमेत बन्द गर्छ ।
यस्तो अवस्थालाई आर्थिक संकट भनिन्छ । माक्र्सले बेलायतमा उत्पन्न भएका पटक पटकका आर्थिक संकटहरूको अध्ययन गरी त्यससम्बन्धी व्याख्या प्रस्तुत गरेका छन, जसलाई ‘व्यापार चक्रको सिद्धान्त भनिन्छ । यसमा उनले आर्थिक संकट पुँजीवादी व्यवस्थाको अपरिहार्य चरित्र हो र यो ग्रहको परिक्रमा जस्तै निरन्तर दोहोरिइरहन्छ भन्ने विचार व्यक्त गरेका छन् ।
माक्र्सको विश्लेषण अनुसार आर्थिक संकट चार चरण भएर अगाडि बढ्छ– संकट, मन्दी, सुधार र उभार । पहिलो चरणमा संकट उत्पन्न हुँदा त्यसबारे कुनै पूर्वजानकारी हुँदैन । समाजमा आर्थिक कारोबार सन्तोषजनक ढंगबाट चलिरहेकै देखिन्छन्, औद्योगिक उत्पादनमा निकै राम्रो वृद्धि भएको हुन्छ, व्यापारमा फाइदा देखिन्छ र शेयर बजार उकालो लागेको अवस्था हुन्छ ।
शान्त समुद्रमा निस्कने आँधीझैँ बजारमा एकाएक संकट देखा पर्दछ । सबैभन्दा पहिले देखिने संकटको लक्षण बिक्रीमा आउने कमी हो । बजारमा माल सामान अभाव हुँदैन, तर बिक्री एकाएक घट्न जान्छ । बिक्री कम भएपछि बजारमा मुद्राको अभाव देखिन्छ । कतिपयले यसलाई मुद्रा संकट ठान्दछन् र मुद्रा कारोबारमा के गडबडी भयो भनेर त्यतातिर ध्यान दिन्छन् ।
तर जड कारण मुद्राको गडबडी होइन, समाजमा मालसामानको उपभोगलाई उत्पादनले उछिन्ने समस्या हो । संकटले त्यस क्षेत्रमा हमला गर्दछ, जहाँ बढी उत्पादन भएको हुन्छ । त्यहाँ समस्या उत्पन्न भएपछि सरुवा रोगले झैँ त्यसले अर्को क्षेत्रलाई असर पार्दछ ।
आर्थिक संकट पुँजीवादको जन्मजात चरित्र भएकाले पुरानाको अन्त्यसँगै नयाँले जन्म लिइरहन्छ
आर्थिक संकटको दोस्रो चरण मन्दी हो । यो भनेको माल नबिकेर गोदाममा थुप्रिने अवस्था हो । माल सामान नबिक्दा मूल्य घटाइन्छ । तर मूल्य घटाइए पनि माल बिक्ने कुरा हुँदैन । बजार सुनसान हुन्छन्, व्यापार ठप्प हुन्छ, कारखाना बन्द हुन्छन्, उद्योगहरू डुब्न थाल्छन् र बजारमा उधारो नपत्याउने अवस्था उत्पन्न हुन्छ । पुँजीपतिहरू समस्याबाट छुटकारा पाउने उपायको खोजीमा लाग्छन् । तिनीहरू त्यतिखेर उत्पादन घटाउन र मजदूरको संख्यामा कटौती गर्न पुग्छन् ।
उत्पादन घटाउनेमात्र होइन, नबिकेका माल जमिनमा गाड्न र समुद्रमा फ्याँक्न पुग्छन् । फ्याँकिने मालसामान अभावग्रस्त जनतामा वितरण गरिँदैन, किनकि त्यसो गर्दा बजारमा सामान किन्नेको कमी हुन्छ । लगानी घटाउने, माल नष्ट गर्ने र मूल्य घटाउने जस्ता सुधार गर्दा पनि केही नलागेपछि कमजोर हालतका पुँजीपतिहरू कारखाना बन्द गर्न बाध्य हुन्छन् । मजदूरको काम खोसिन्छ र उनीहरू बेरोजगारमाथि झन् बढी बेरोजगार बन्न पुग्छन् ।
बेरोजगारीको वृद्धि भनेको दरिद्रता र गरिबीको वृद्धि हो । भण्डारमा भएको माल घटाएपछि र बजारमा प्रतिस्पर्धीको संख्यामा कमी आएपछि बजारमा अलिअलि सुधार हुन थाल्छ र आर्थिक संकट सुधार को तेस्रो चरणमा प्रवेश गर्दछ । रोगबाट थला परेर ओछ्यान परेको बिरामी तंग्रिएपछि धङ्घङाउँदै हिँडे उद्योगहरू मन्द गतिमा चल्न थाल्छन् । नयाँ प्रविधि प्रयोग गरेर तिनले उत्पादन बढाउँदै जान्छन् र मजदूरको सङख्या फेरि थप्दै रोजगारीमा वृद्धि गर्दछन् । केही समयपछि बजारमा मालको मूल्य विस्तारै बढ्छ ।
त्यसपछि फेरि नाफामा क्रमशः वृद्धिहुदै जान्छ । पुँजीपतिमा बिस्तारै आशा पलाउन थाल्छ र तिनले पुनः प्रविधिमा सुधार गद, मजदूर भर्ती गर्दै उत्पादन बढाउन थाल्छन् । यसरी पूर्ण समृद्धिको चौथो चरण हासिल हुन्छ । तर विकासको एउटा अवस्थामा पुगेपछि दोस्रो आर्थिक संकटले फेरि आक्रमण गर्दछ । आर्थिक संकट पुँजीवादको जन्मजात चरित्र भएकाले पुरानाको अन्त्यसँगै नयाँले जन्म लिइरहन्छ । जति पूँजीवादको क्षेत्र विस्तारित हुँदै जान्छ आर्थिक संकटको प्रभाव उत्ति नै विस्तृत हुँदै जान्छ ।
आर्थिक संकटट एक प्रकारको भुइँचालो हो । यो उत्पन्न हुँदा समाजमा चारैतिर खैलाबैला मच्चिन्छ, सम्पूर्ण पूँजीवादी व्यवस्था डगमगाउन थाल्दछ र पुँजीपतिहरूबीच डरलाग्दो खिचातानी सुरू हुन्छ ।
फलानो उद्योग डुब्दै छ भन्ने हल्ला चारैतिर फैलिन्छ । पुँजी डुब्ने डरले सबैले आ–आफ्ना लगानी भिक्न खोज्दछन् । बैंकले आफ्नो ऋण फिर्ता गर्न खोज्दछ भने बचतकर्ताले बचत झिक्न खोज्दछ । यस्तो अवस्थामा कमजोर उत्पादकले चल्ती पुँजी गुमाउँछ र टाट पल्टिन्छ । एउटा उद्योगको अथवा आर्थिक व्यवसायको अर्कोसँग सम्बन्ध जोडिएको हुन्छ । एउटा ढलेपछि त्यसले अर्कालाई पनि ढलाउँछ । उदाहरणका लागि कपडा उद्योगको यसलाई कच्चा पदार्थ आपूर्ति गर्ने कपास उद्योगसँग सम्बन्ध हुन्छ ।
कपडा उद्योगले सञ्चालनका लागि बैंकबाट ऋण लिएको छ भने त्योसँग पनि सम्बन्ध जोडिएको हुन्छ । यदि कपडा उद्योग संकटमा फस्यो भने त्यसले कपास उद्योग र बैंक दुवैलाई असर पार्दछ । अर्कोतिर यही मौकाको फाइदा उठाउँदै केही ठूला उद्योगले सानालाई सस्तोमा आफ्नो स्वामित्वमा लिन्छन् । पुँजीवादी समाजमा प्रत्येक संकटपछि बलवान् पुँजीपतिको हातमा पुँजीको एकत्रीकरण हुन्छ ।
आर्थिक संकटले पुँजीवादी व्यवस्थालाई खलबल्याएका कारण समाजमा वर्गीय अन्तर्विरोध चर्कन थाल्छ । संकटले सृजना गरेको बेरोजगारी, अस्थिरता आदि विषयलाई लिएर मजदूरहरू संघर्षमा उत्रिन्छन् ।
बेलायतमा सबैभन्दा पहिले आर्थिक संकट सन् १७८८ मा कपडा उद्योगमा देखा पर्यो । त्यसपछि सन् १७०० को आखिरी दशक र सन् १८०० को शुरूवाततिर समय समयमा संकटहरू देखा पर्दै गरे । प्रारम्भमा संकटको प्रभावकारिता सीमित भए पनि पुँजीवादको विस्तारसँगै त्यसको तीव्रता बढ्दै गयो । परिणामस्वरूप सन् १८२५ को संकट विगतका संकटभन्दा बढी भीषण हुन गयो ।
पुँजीवादी अर्थशास्त्रीहरूको सहयोगमा सरकारले त्यसपछि आर्थिक व्यवस्थापनमा सुधार गरेकाले सन् १८२६ देखि सन् १९४७ सम्मका संकटहरू सामान्य चरित्रका हुन गए । पछि बेलायत र पश्चिमी मुलुकबीचको आर्थिक सम्बन्धको विस्तार र रेलवे मार्गको थालनीका कारण पुँजीवादी उत्पादन पद्धतिको क्षेत्र व्यापक हुँदै गयो र आर्थिक संकटको तीव्रतामा पनि वृद्धि हुँदै गयो ।
विगतमा शास्त्रीय अर्थशास्त्रीले संकटलाई हल्काफुल्का ढंगमा लिए । पुँजीवाद व्यवस्थित रूपमा अघि बढ्ने व्यवस्था हो भन्ने एडम स्मिथको विचारलाई तिनले ग्रहण गरिरहे । रिकार्डोले ‘सीमान्त उत्पादकत्वको ह्रास नियम’ अनुसार नाफाको दर घट्दै जाने भएकाले पुँजीपतिहरूले नै स्वतः उत्पादन घटाउँछन् र संकट खासै चिन्ताको विषय हुँदैन भन्ने विचारअघि सारे । माल्थसले कम आमदानी हुने मजदूरले भन्दा उत्पादक वर्गले खर्च गर्नमा कन्जुस्याइँ गरेकाले संकट उत्पन्न भएको हो र यस कुरामा सुधार गरे संकटले खासै प्रभाव पार्दैन भन्ने हल्काफुल्का कुरा गरे ।
से नामका अर्थशास्त्रीले ‘जुन व्यक्तिले उत्पादन गरी बजारमा बेच्दछन्, तिनले खरिद पनि गर्ने हुनाले बजारमा मालसामानको मागमा कमी आउँदैन’ भन्ने तर्कअघि सारे । ‘सेको नियम’का आडमा शास्त्रीय अर्थशास्त्रीले यदि पुँजीपतिले माल बेच्दछन् र श्रमिकले श्रमशक्ति बेच्दछन् भने तिनले बेचेको मालबाट आफ्नो आवश्यकताका लागि माल किन्दछन् र समाजमा कुनै प्रकारको आर्थिक अवरोध आउँदैन भन्ने विचारअघि सारिरहे ।
आर्थिक संकटबारे शास्त्रीय अर्थशास्त्रीका सम्पूर्ण भनाइको खण्डन गर्दै माक्र्सले के कुराअघि सारेका छन् भने पँुजीपतिहरूले कमाएको नाफालाई खर्च गर्नभन्दा लगानी गर्नपट्टि नै बढी ध्यान दिन्छन् । अत्यधिक नाफाको लोभले पुनरुत्पादनमा लाग्ने क्रममा तिनले कारखानाको आकार बढाउँदै जान्छन्, उन्नत प्रविधियुक्त मेसिन थप्दै जान्छन्, थप मजदूर भर्ती गर्दै जान्छन्, भरमार विज्ञापन गर्दै जान्छन् र अझ बढी अतिरिक्त मूल्य हडप्ने प्रयास गर्दछन् ।
कतिपय पुँजीपतिले ऋण लिएर उद्योग सञ्चालन गर्ने हुनाले उनीहरूले कमाएको केही प्रतिशत रकम त बैंक र साहूलाई तिर्नमा खर्च हुन्छ । जहाँसम्म मध्यम वर्ग, साना उत्पादक, किसान आदिको सवाल हो, तिनमा पनि बचतको अभिलाषा प्रबल हुन्छ र मालसामान खपत गर्ने कुरामा तिनले कन्जुस्याइँ गर्छन् । तिनले आफ्ना र परिवारका न्यूनतम आवश्यकतालाई समेत कटौती गर्छन् ।
तिनमा बचतको भोक यति चर्को हुन्छ कि खाने र लाउने कुरामा मात्र होइन बिरामी पर्दासमेत उपचार गर्न पनि हेलचेक्य्राइँ गर्दछन् । आर्थिक संकट उत्पन्न हुनुमा विभिन्न कारणले भूमिका खेल्छन् भन्ने कुराको व्याख्या माक्र्सले गरेका छन् । एउटा प्रमुख कारण पुँजीवादी उत्पादन पद्धतिको योजनाविहीन आर्थिक क्रियाकलाप हो ।
पुँजीवादी अर्थतन्त्र बजार संयन्त्रबाट चल्ने भएकाले उत्पादकहरू अज्ञात बजारमा हाम फाल्छन् । उनीहरू व्यक्तिगत ढंगबाट आ–आफ्नो सुरमा चल्दछन् र कसले के कति माल उत्पादन गरेको छ भन्नेबारे मेसो पाउँदैनन् । उनीहरू आफ्नो कारखानाको योजना बनाउन त सक्छन्, तर सामाजिक मागको ख्याल राख्न सक्दैनन् । नाफा र स्वार्थका कारण अर्थ व्यवस्थापनका विभिन्न क्षेत्रबीच तालमेल र सन्तुलन कायम हुँदैन । प्रायजसो अवस्थामा धेरै पुँजीपतिहरू एउटै माल उत्पादन गर्न पुग्छन् ।
माक्र्स भन्दछन्, ‘पुजीपतिको उद्देश्य मानिसको आवश्यकता पूर्ति गर्ने नभएर नाफा आर्जन गर्ने भएकाले मानिसका सीमित आवश्यकता र पूँजीपतिको असीमित नाफा यी दुईविपरीत तत्वबीच गहिरो धाँजा उत्पन्न हुन जान्छ , परिणामस्वरूप बजारमा मानिसलाई आवश्यक नपरेका माल सामानको ओइरो लाग्छ र उत्पादनले बजार पाउँदैन । अर्कोतिर उपभोक्ताले आवश्यकताका वस्तु पाएका हुँदैनन् । यस कारण बढी उत्पादनलाई आवश्यकताभन्दा बढीको उत्पादन नठानी अनावश्यक वस्तुको बढी उत्पादनका अर्थमा बुझ्नुपर्दछ ।
जनतालाई माल सामान आवश्यक नहुने होइन, उनीहरू अभावमा नै बाँचिरहेका हुन्छन् । तर निचोरिएर तिनले क्रयशक्ति गुमाएका हुनाले माल सस्तो भएको अवस्थामा पनि खरिद गर्ने क्षमता राख्दैनन् । यस कुरालाई ढाकछोप गर्न पुँजीपतिहरू संकट उत्पन्न हुनाको कारण आवश्यकताभन्दा ‘बढी उत्पादन’ हो भन्दछन्, जुन झूटो हो । अभावमा बाँचिरहेका जनतालाई मालसामान आवश्यक नहुने कुरा हुँदैन । उत्पादनको वृद्धिसँगसँगै उपभोक्ताको आर्थिक स्तर बढ्यो भने उनीहरूले मालसामान खपत नगर्ने कुरा आउँदैन ।
तर अत्यधिक मेसिनको प्रयोग गरी मजदूरको संख्या घटाउने र ज्यालामा कटौती गर्ने कुराले समाजमा बेरोजगरी उत्पन्न हुन्छ र तल्लो तहको जनसमुदायले क्रयशक्ति गुमाउँछ । बजारमा माल नबिक्नुको अर्थ जनतालाई मालसामान आवश्यक नभएर होइन, खरिद गर्न नसकेर हो । पुँजीपतिका निम्ति अधिक उत्पादन भई अन्न बिकेको अवस्थामा गरीबले आधा पेट खाएर जीवन गुजार्नुपरेको हुन्छ ।
पुँजीपतिका निम्ति अधिक उत्पादन भई कोइला गोदाममा थुप्रिएको अवस्थामा कोइला उत्पादन गर्ने मजदूरले कोठा तताउन कोइला नपाई ठण्डीका रात कठ्याङ्ग्रिएर काटेका हुन्छन् । त्यसैले संकटको अवस्थामा देखिने अधिक उत्पादनलाई उपभोक्ताको क्रयशक्ति नभएका कारण उत्पन्न समस्याको अर्थमा बुझ्नुपर्दछ ।
माक्र्सको समयमा पुँजीवादी संकटलाई बुर्जुवा अर्थशास्त्रीहरूले अस्थायी एवं स्वाभाविक परिघटनाका रूपमा लिएका थिए ।
उनीहरू यो उत्पन्न भए पनि अर्थव्यवस्था केही समयपछि स्वतः उत्पादनको पूर्वावस्थामा फर्किन्छ भन्ने विश्वासमा थिए । तर माक्र्सले संकटलाई इन्द्वात्मक ढंगले व्याख्या गरी यसका दुवै सकारात्मक र नकारात्मक पक्षहरू प्रस्तुत गरिदिए । आर्थिक संकले पुँजीवादका अन्तर्विरोधहरू समय समयमा सतहमा उतारेर पुँजीपतिहरूलाई सजग गराएको पनि छ ।
प्रत्येक संकपछि पुँजीवादी अर्थशास्त्रीहरू यसबाट बच्ने उपायको खोजीमा लागेका छन् । उनीहरू तत्कालीन सुधारका कार्यहरूका साथै दीर्घकालीन रूपमा सदाका लागि छुटकारा पाउने उपायतर्फ सोच्दै छन् । तर पुँजीवादको मूल सिद्धान्त नाफा भएकाले आर्थिक संकटले पुँजीवादलाई जर्जर बनाउँछ र यसबाट बारम्बार प्रताडित मजदूरहरूले एक दिन त्यसको चिहान नखनी छोड्दैनन् ।
लेखक रेग्मीको ‘माक्र्सवादी राजनीतिक अर्थशास्त्र’ पुस्तकबाट
तपाईको प्रतिक्रिया