युनाइटेडले बनायो भुलभुला आधारभूत विद्यालयमा पुस्तकालय

समाधान संवाददाता २०८० वैशाख ५ गते १२:२९

पोखरा ।
युनाइटेड क्लबले पोखरा महानगरपालिका ३३ स्थित तल्लो पुँडिटारको भुलभुला आधारभूत विद्यालयमा पुस्तकालय स्थापना गरेको छ । क्लबको १३ औंं वार्षिकोत्सवको अवसरमा उक्त विद्यालयको १ कोठामा पुस्तकालयका लागि आवश्यक पुस्तक र फर्निचर उपलब्ध गराइएको हो ।

Advertisement

पोखरा ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीले पुस्तकालय उद्घाटन गरे । उनले यसको संरक्षण र थप व्यवस्थापनका लागि वडा कार्यालयले सहयोग गर्ने प्रतिबद्धता जनाए । वडाध्यक्ष अधिकारीले वडामा भौतिक तथा मानव विकासको आवश्यता रहेको र सोहीअनुरुप काम गर्न आफू प्रतिबद्ध रहेको सुनाए ।

युनाइटेड क्लबका सल्लाहकार तीर्थ श्रेष्ठले आफूहरूले स्थापना कालदेखि समाजमा उल्लेखनीय काम गर्दै आएको उल्लेख गर्दै पुस्तकालय स्थापना गर्नु पनि सामाजिक क्षेत्रमा उदाहरणीय कार्य भएको जनाए ।

विद्यालयका प्रध्यानाध्यापक छविलाल पौडेलले महानगरपालिकाभित्र रहेर पनि यस विद्यालयमा अध्ययनरत विद्यार्थीलाई पुस्तकालयको अभाव खड्किरहेको अवस्थामा पुस्तकालय स्थापना गरिएकामा आभार व्यक्त गरे ।

क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले स्थापना कालदेखि नै यस संस्थाले पोखरा महोत्सव आयोजना गरी सामाजिक, पर्यटन प्रवद्र्धन लगायतका क्षेत्रमा काम गर्दै आएको उल्लेख गरे ।

Advertisement

क्लब अध्यक्ष राजु श्रेष्ठ सामाजिक क्षेत्रमा क्रियाशील क्लबले एक दर्जन बढी सामुदायिक विद्यालयमा अक्षयकोष, छात्रवृत्ति कोष, पुस्तकालय स्थापना, शैक्षिक सामग्री वितरणजस्ता कार्यक्रम गर्दै आएको बताउँछन् ।

विद्यालयको पुस्तकालयका लागि आवश्यक फर्निचर र विभिन्न उपयोगी पुस्तक गरेर करिब १ लाखका सामग्री क्लबले हस्तान्तरण गरेको छ ।

तपाईको प्रतिक्रिया