चिनियाँ टोलीले गर्‍यो पोखरामा प्याराग्लाइडिङ

चीनको आउटबाउन्ड गन्तव्यको सूचीमा नेपाल परेसँगै चिनियाँ पर्यटकको आगमन

जमुना वर्षा शर्मा २०८० वैशाख ५ गते १७:३५

जमुना वर्षा शर्मा
पोखरा ।
नयाँ वर्षको आगमनसँगै जहाज चार्टर गरेर नेपाल घुम्न आएको चिनियाँ पाहुना टोलीले पोखरा –२४ मान्द्रेढुंगाबाट प्याराग्लाइडिङ गरेको छ ।

Advertisement


चिनियाँ पाहुना टोलीलाई गण्डकी प्र्रदेशका मुख्यमन्त्री खगराज अधिकारी र नेपाल हवाइ खेलकुद संस्था (ना) का अध्यक्ष सुनीलबहादुर भट्टराईले प्याराग्लाइडिङ गर्नु पूर्व स्वागत गरेका थिए । स्थानीय आमा समूहले फूलमाला र बाजा समूहले पञ्चेबाजासहित स्वागत गरेको थियो ।


मुख्यमन्त्री अधिकारीले विभिन्न कारणले सुस्ताइरहेको पोखराको पर्यटनमा चिनियाँ टोेलीको आगमन र प्याराग्लाइडिङ लगायत गतिविधिले पर्यटन प्रवद्र्धन हुने विश्वास व्यक्त गरे । उनले प्याराग्लाइडिङसँगै पोखरामा भएका अन्य साहसिक गतिविधिमा पनि पर्यटकलाई जोड्न सके साहसिक पर्यटनमार्फत पर्यटक भित्र्याउन सकिने विचार राखे ।

पोखरा पर्यटकका लागि उत्कृष्ट गन्तव्य भएको जनाउँदै राज्य र निजी क्षेत्रको सहकार्यबाट पर्यटन प्रवद्र्धनमा जोड दिनुपर्ने आवश्यकता उनले औंल्याए ।


नाका अध्यक्ष सुनीलबहादुर भट्टराईले पोखराको सराङकोटबाट मान्द्रेढुङ्गा सारिएको प्याराग्लाइडिङमा पहिलोपल्ट यति धेरै चिनियाँ पर्यटकबाट प्याराग्लाइडिङ हुनु निकै सकारात्मक सन्देश भएको बताए ।

Advertisement

उनले भने, ‘हामी निकै खुसी छौं, विभिन्न कारणबाट सुस्ताइरहेको पर्यटन र प्याराग्लाइडिङ क्षेत्रमा यति धेरै विदेशी पाहुनाले प्याराग्लाइडिङ गर्नुभएको छ, यसले नयाँ ठाउँलाई प्रवद्र्धनमा पनि सघाउ पु¥याउने छ ।’ उनले चीनको आउटबाउन्ड गन्तव्यको सूचीमा नेपाल परेसँगै चिनियाँ पर्यटकको आगमनले पर्यटन प्रवद्र्धनका लागि थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।


नाका महासचिव खेमराज आचार्यले पोखरा र आसपासका सुन्दर हिमशृंखला, तालतलैया र प्राकृतिक सुन्दरतालाई अवलोकन गर्न सकिने बताए । उनले साहसिक खेलप्रेमीका लागि प्याराग्लाइडिङबाट सुन्दर दृश्यवलोकनका लागि मान्द्रेढुंगा उत्कृष्ट गन्तव्य हुनेमा आशावादी रहेको सुनाए । उनका अनुसार चिनियाँ ९० जना सहित २ सय ५० जनाले मान्द्रेढुंगाबाट प्याराग्लाइडिङ गरेका थिए ।


पहिलोपल्ट नेपाल आएकी यु हुङगुनले पोखराको आकाशमा उड्न पाउँदा निकै आनन्द लागेको सुनाए पहिलोपल्ट नेपाल आएको सुनाउँदै उनले यहाँको प्राकृतिक सुन्दरता र आतिथ्यता निकै लोभलाग्दो भएको प्रतिक्रिया दिइन् । उहाँले अन्य साथीलाई नेपाल घुम्न सुझाव दिने बताइन् । नेपाली नयाँ वर्षको पूर्वसन्ध्यामा १८१ जना चिनियाँ पर्यटकहरु हिमालय एयरलाइन्सको विमान चार्टर गरेर नेपाल भ्रमणमा आएका थिए ।


नाका पूर्व अध्यक्ष कृष्ण भण्डारीले अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएसँगै माघ १ देखि मान्द्रेढुंगाबाट प्याराग्लाइडिङको व्यावसायिक उडान भएपनि पर्यटकको आगमन बढन नसकेको अवस्थामा चिनियाँ टोलीको उडानले उत्साह थपेको बताए ।


साहसिक गतिविधिमा रुचि राख्ने पर्यटकको रोजाइमा पर्दै आएको प्याराग्लाइडिङ नेपाल नागरिक उडड्यन प्राधिकरणले सराङकोट, तोरिपानी र तामागी क्षेत्रमा प्याराग्लाइडिङ उडानमा रोक लगाएको थियो ।

मान्द्रेढुंगा सराङकोटबाट करिब पाँच किलोमिटर पश्चिममा पर्छ । प्राधिकरणले सराङकोट लगायत स्थानबाट प्याराग्लाइडिङमा रोक लगाएपछि विकल्पमा मान्द्रेढुंगाबाट उडान सुरु गरिएको हो ।


यसअघि सराङकोटको १ हजार चार सय ५० मिटर उचाइबाट करिब सात हजार फिटको क्यापमा प्याराग्लाइडिङ उडान भइरहेकोमा मान्द्रेढुंगाबाट भने १ हजार ७ सय ४० मिटर उचाइबाट छ हजार फिट क्यापमा उडान हुन्छ ।


पोखरामा करिब ६० वटा प्याराग्लाइडिङ कम्पनी छन् । ५० वटा अहिले सञ्चालनमा छन् । त्यसैगरी ३ सय ७६ जनाले प्यारापाइलटले उडान अनुमति लिएका छन् । व्यावसायिक रुपमा दुई सय ५० जनाले उडान गरिरहेका छन् । पोखराको प्याराग्लाइडिङमा १ अर्ब रुपैयाँ बराबरको लगानी रहेको नाले जनाएको छ ।

जमुना वर्षा शर्मा

डेढ दसकदेखि पोखरामा क्रियाशील पत्रकार शर्मा राष्ट्रिय समाचार समितिमा आवद्ध छिन् 

तपाईको प्रतिक्रिया