वन्यजन्तु जोगाउन विद्यार्थीको आह्वान

समाधान संवाददाता २०८० वैशाख ६ गते १२:३३

पोखरा ।
पोखराको नदीपुरस्थित प्रतिभा माध्यमिक विद्यालयले २८ औं राष्ट्रिय वन्यजन्तु सप्ताह अन्तर्गत मंगलबार प्रभातफेरी र वक्तृत्वकला आयोजना गरेको छ ।

Advertisement

‘वन्यजन्तु संरक्षणमा समन्वय, सहकार्य र सहअस्तित्व’ यो वर्षको नारा तय गरिएको छ । वैशाख १ देखि ७ गतेसम्मको अवधिलाई वन्यजन्तु सप्ताहको रुपमा मनाउने गरिएको छ । विद्यालय परिसरबाट निस्केको प्रभातफेरी सिद्धार्थचोक, चिप्लेढुंगा, महेन्द्रपुल हुँदै विद्यालयमा पुगेर टुंगिएको थियो ।

कक्षा ११ का जीवविज्ञान समूहका विद्यार्थीको संयोजनमा भएको कार्यक्रममा ‘वन्यजन्तु संरक्षणका लागि मानव वर्गको साझेदारी’ शीर्षकमा वक्तृत्वकला आयोजना गरियो । वक्तृत्वकलामा प्रतीक ढकाल प्रथम, कविन्द्र आचार्य द्वितीय, सृष्टि सुनार र सिम्रन पण्डित तृतीय भएका थिए ।

प्राचार्य किरण सापकोटाले उत्कृष्टता हासिल गरेका विद्यार्थीलाई मेडल र प्रमाणपत्र प्रदान गरे । विद्यालयका जीवविज्ञान शिक्षक हेमन्त ढकालले वन्यजन्तु संरक्षणमा भइरहेका प्रयास र चुनौतिबारे प्रस्तुति राखे । ढकालले पछिल्लो समय सबै खाले वन्यजन्तुमाथि चुनौती थपिँदै गएको सुनाए ।

मानवीय, प्राकृतिक लगायतका कारणले वन्यजन्तुमाथि जोखिम थपिएको उनको भनाइ छ । ‘सबै वन्यजन्तुको आ–आफ्नो महत्व छ । एउटामात्र लोप हुँदा पनि प्रकृतिमा असर पर्छ । वन्यजन्तु संरक्षण नगर्ने हो भने भविष्यमा समस्या हुन्छ,’ ढकालले भने, ‘धेरै वन्यजन्तु पछिल्लो समयसंकटापन्न सूचीमा छन । ती वन्यजन्तुलाई जोगाउनु सबैको दायित्व हो ।’

Advertisement

विद्यालयका प्राचार्य सापकोटाले समुदायमा वन्यजन्तु संरक्षणबारे चेतना फैलाउन आवश्यक रहेको बताए । पछिल्लो पुस्ता वन्यजन्तुको महत्वबारे कम जानकार रहेकाले पनि विद्यार्थीलाई यस्ता कार्यक्रममा सहभागी गराएको उनले बताए । ‘वन्यजन्तुको महत्व प्रकृतिलाई कतिसम्म आवश्यक छ भन्ने जानकारी दिनका लागि पनि जरुरी छ ।

धेरै युवालाई वन्यजन्तुको महत्व र प्रकृति संरक्षणबारे ज्ञान छैन,’ उनले भने, ‘वन्यजन्तु नोक्सान हुँदा त्यसको असर प्रकृतिमा कस्तो पर्छ भन्ने बुुझ्न जरुरी छ ।’

तपाईको प्रतिक्रिया