‘लागुऔषध प्रयोगकर्तालाई हेर्ने दृष्टि बदलौं’

समाधान संवाददाता २०८० वैशाख ६ गते १३:४५

पोखरा ।
रिकभरिङ नेपालले लागुऔषधलाई विश्वव्यापी रुपमा स्वास्थ्य समस्याको रुपमा लिइएको दाबी गर्दै दण्डात्मक भन्दा पनि उपचारात्मक रणनीति अपनाउन नेपाल सरकारसमक्ष माग गरेको छ । संस्थाका गण्डकी प्रदेशका अध्यक्ष विकास बरुवाल क्षत्रीले लागुऔषधको समस्यालाई विश्व स्वास्थ्य संगठनले रोगको रुपमा लिएको परिप्रेक्ष्यमा लागुऔषध प्रयोगकर्तालाई परामर्श र उपचार गरेर सुधार गर्न माग गरे ।

Advertisement

संस्थाले सोमबार आयोजना गरेको कार्यक्रममा उनले नेपालको सन्दर्भका सबै सबाललाई गृह मन्त्रालय अन्तर्गत राखेर अपराधको दृष्टिले मात्र हेर्नु गलत भएको टिप्पणी गरे । ‘गृह मन्त्रालय अन्तर्गत अपराधका दृष्टिले भन्दा स्वास्थ्य उपचारको पहुँच बढाएर लागुपदार्थको समस्या समाधान गर्न सकिन्छ,’ उनले भने, ‘लागुपदार्थ पुनस्र्थापना तथा उपचार कार्यक्रम स्वास्थ्य मन्त्रालय तथा प्रदेश स्तरका सामाजिक विकास मन्त्रालय अन्तर्गत राख्नु पर्छ ।’

अध्यक्ष क्षत्रीले लागुऔषधसम्बन्धी समस्यालाई स्थानीय तह तथा प्रदेश सरकारको निकायले हेर्ने व्यवस्था गर्न माग गरे । लागुऔषध प्रयोगकर्ताको सेवामा व्यवस्थापन तथा आवश्यक तालिमको प्रबन्ध गर्न माग राख्दै उनले लागुऔषध प्रयोगकर्ताको हेपेटाइटिस परीक्षण तथा उपचारका लागि राष्ट्रिय कार्यक्रम ल्याउन माग गरे । उनले महिला प्रयोगकर्ताका लागि विशेष नीति तथा कार्यक्रम ल्याउन आग्रह गरे ।

उनले सीप तालिमका दिएर रोजगारीको अवसर प्रदान गरी लागुऔषध प्रयोगकर्तालाई पुनस्थापना गर्न अनुरोध गरे । अध्यक्ष क्षत्रीले वडा तहका सचेतनामुलक कार्यक्रमका लागि बजेट व्यवस्था गर्नुपर्नेमा पोखरा महानगरपालिकाले सम्बन्धित क्षेत्रमा काम गर्ने सघ संस्थासँग समन्वय नगरेको आरोप लगाए ।

उनले गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले लागुऔषध प्रयोगकर्ताका लागि पौष्टिक आहारको क्षेत्रमा कार्यक्रम गरेको जानकारी दिए ।

Advertisement

एचआइभी महामारीबाट सबैभन्दा बढी प्रभावित मानिस आधारभूत स्वास्थ्य र मानव अधिकारको दृष्टिले सबैभन्दा कमजोर, सीमान्तकृत र सबैभन्दा बढी प्रभावित भएकाले संस्थाले लागुऔषध प्रयोगकर्ताको स्वास्थ्य र मानव अधिकार सुनिश्चित गर्नका लागि कार्यक्रम केन्द्रीत गरेको छ ।

अध्यक्ष क्षत्रीले लागुऔषध ऐन २०३३ लाई परिमार्जन गर्न तथा क्षति न्यूनीकरणसम्बन्धी मुद्दाका केन्द्रीत भएर कार्यक्रम गरेको जानकारी दिए ।

तपाईको प्रतिक्रिया